“आफ्नै देशमा आएर अरुलाई पनि रोजगारी दिएको राम्रो”

0
179

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले बुटवल-१९ रानीबारी घर हुनुभएको मिना कुमारी घर्तिसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मेरो छोराले पठाईदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यति टाढाबाट पनि हामीलाई सम्झेर पठाएको छ खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
२ वर्ष भन्दा धेरै भयो छोरो गएको।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ ?
अष्ट्रेलियाको सिड्नीमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
राम्रो लाग्छ, पढ्न गएको हो। आफ्नो करियर बनाउन गएको छ खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो छोराको सम्झना त आइहाल्छ नि। दशैं,तिहारमा अनि उसले मन पराउने खाना घरमा पाक्दा छोरालाई सम्झिन मन लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त नेपाल फर्किएको राम्रो लाग्छ। आफु जन्मेको ठाउँमा बसेर आफ्नो नाम कमाए हामीलाई पनि गर्व लाग्ने थियो। एउटा छोरा आफ्नो करियर बनाएर बाबु आमाको काखमा नै आएर बसेको राम्रो हो। नेपालमा आएर आफ्नै व्यावसाय खोलेर नेपालीहरुलाई काम दिएहुन्थ्यो भन्ने लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ?
गएको छैन र अहिले जाने सोच पनि छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म गएको छैन त्यसैले मलाई केहि थाहा छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यसमा भन्नुपर्दा सकेसम्म त आफ्नो जन्मभुमि छोडेर कोहि नेपाली विदेशिनु नपरोस्। धेरै सन्तान भएको जस्तै; ३ जना छोराहरु छन् भने १ जना विदेश सेटल हुँदा बुवा आमालाई पनि त्यति न्यास्रो लाग्दैन कहिले कहिँ घुम्न भेट्न जान पनि पाइने घर समाल्ने पनि हुन्छन् नि त। करियर त सबैले बनाउन पर्यो कसैले बाहिर अनि कसैले नेपालमै बनाउदा राम्रो हुन्छ। सबै युवा जति विदेश गएर सेटलहुने हामी बुढा बुढी केहि गर्न नसक्ने नेपालमा बसेर कसरी देश विकाश गर्न सकिन्छ र ! त्यसैले पनि मलाई अन्य देशमा गएर सेटलहुनु खासै राम्रो लाग्दैन।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
अष्ट्रेलियामा रहनुभएका सबैलाई मेरो मिठो सम्झना एवमं माया छ। आफ्नो लक्ष्य के छ त्यो पुरा गर्नुस् सकेसम्म नेपालमै फर्किने कोशिस गर्नुहोला भन्न चाहन्छु।