“अष्ट्रेलिया आएर कलेज रोज्नु बाध्यता हुन्छ तर पढाइ राम्रो नहुने भन्ने होइन”

0
162

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएको मदन पौडेलसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालको घर बुटवल, बेलबास हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया २०१९ मा आएको हो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
अष्ट्रेलियाको भिसाको लागि मलाई सहजै भएको थियो। सबैले चाहिने कागजातहरु मिलाइदिनु भएर पनि होला।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
अष्ट्रेलियामा पढ्न आउँदा कलेज कि युनिभर्सिटी के रोज्ने भन्ने कुरा त आफैमा भर पर्ने हो। मलाई चाहिँ मैले भोगे अनुसार युनिभर्सिटी नै रोज्नु भन्छु। किनकी युनिभर्सिटीको लागि भिसा पनि छिट्टै लाग्ने गर्छ र त्यहाँको हरेक कुराहरु पढाईदेखि लिएर विद्यार्थीप्रति गर्ने हेरविचार राम्रो हुन्छ। कसैको पारिवारिक अवस्थाले गर्दा पनि कलेज रोज्नु पर्ने बाध्यता हुन्छ,यसको मतलब कलेजमा पढाई राम्रो नहुने भन्न चाहिँ मिल्दैन। आफै पढ्ने त हो कलेज नै पढेर प्रगति गर्नेले गरेकै छ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालमा ब्यजलर इन्जिनियरिङ्ग पुरा गरेर यहाँ आएको हो।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
इन्जिनियरिङ्ग नै पढ्न आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
अहिले काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
अष्ट्रेलियाको पढाई मेहनत गरी राम्ररी पढ्नेहरुको लागि राम्रो छ।अष्ट्रेलिया विकसित देश हो,त्यसकारण भविष्य निर्माण गर्न सजिलो नहुने त कुरै भएन। आफुले आफ्नो भविष्यलाई कुन बाटोबाट लगी निर्माण गर्ने भन्ने कुरा हो। जसरी हुन्छ, मैले मेरो भविष्यलाई साकार बनाउनु छ भन्नेको करियर निर्माण भएकै छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई पढाई बाहेक खेलहरु खेल्न,फिल्म हेर्न र नयाँनयाँ ठाउँहरु घुम्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा मैले सोचेको अष्ट्रेलिया र आएपछिको अष्ट्रेलियामा धेरै फरक पाए। हामीले के सोचिन्छ भने अष्ट्रेलिया गइन्छ, काम पाइन्छ अनि जिन्दगी त यसै बनाइछ भन्ने हुन्छ। तर यहाँ आएर आफुले जे पनि शुन्यदेखि सुरु गर्नु पर्छ। सोचेको जस्तो सजिलो अष्ट्रेलिया छैन, सुरुमा धेरै नै गाह्रो छ।

काम पाउन कत्तिको गाह्रो भयो ? सुरुमा कसरी काम पाउनुभएको थियो ?
काम पाउन खासै गाह्रो भएन। मैले काम होटेलबाट सुरु गरेको हो।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के हुन् ?
आफुले सकारात्मक सोच्यो भने सबै कुराहरु राम्रो छ। काम पनि सानो भएपनि पाइन्छ, पढाईको सिस्टम पनि राम्रो छ। यहाँको नराम्रो कुरा खासै केहि छैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
अष्ट्रेलियाको नेपाली समुदाय ठिकै छ। सबैलाई फुर्सदको बेला भेटघाट कार्यक्रम राख्ने, रमाइलो गर्ने र सहयोगी खालका छन्।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
नेपालीहरुलाई आउँदो दिनहरुमा पनि सहयोग गरिराख्नु होला। कुनै चाडपर्वको अवसर पारी सम्पूर्ण नेपालीहरुलाई भेला गर्ने समय पनि जुटाउनु होला भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ? के कुरा बढी सम्झना आउँछ ?
अष्ट्रेलियामा रहदा आफ्नो परिवारको माया, सम्झना त धरै आउँछ। अब अरु बेला त कामको काम हुन्छ खासै केहि जस्तो लाग्दैन। विशेष गरी चाडपर्वहरुमा चाहिँ एकदमै आउने गर्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
अष्ट्रेलियाको बसाइले पहिलो कुरा त आफ्नो खुट्टामा आफै उभिन सिकायो। हरेक समस्या परिस्थितिसंग लड्न सिकायो। भविष्य के हो र कसरी भविष्य बनाउने जस्ता कुराहरु सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
सुरुमा आउँदा कलेज वा युनिभर्सिटी कुनमा आउदै हुनुहुन्छ त्यसबारे सबै कुरा बुझेर आउनु होला। आफ्नो परिवारको अवस्था हेरी आफु कुनमा पढ्दा ठिक होला भन्नेबारे बुझ्नु जरुरी हुन्छ। काम गर्दै पढ्ने, घरतिर पनि हेर्ने हो भने कलेज पढ्ने र फुर्सदको समयमा काम पनि गर्छु भन्ने कुरा दिमागमा सेट गरेर आउनु पर्छ। सुरुको अवस्थामा सबैलाई नै गाह्रो नै हुन्छ, त्यसैले सोचेर बुझेर नअत्तालिकन आउनु होला भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया गयो भन्दैमा जसरी पनि काम पाउँछ भन्ने हुँदैन। कतिबेला काम पाउन पनि सक्छ भने कुनै समयमा काम पाउन धेरै गाह्रो हुन्छ। यस्तो अवस्थामा घरपरिवारबाट सहयोगको वातावरण मिलाउनु पर्छ। अष्ट्रेलिया बाहिरी रुपमा देखेको जस्तो छैन। उनीहरु माथि धेरै आशा पनि नराख्दिनु होला भन्न चाहन्छु।