स्वदेशमै भविष्य खोज्दै युवा

0
132

-कृष्ण दर्नाल

पाल्पा, ३ पुस तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई÷चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।

विदेशी भूमिमा पाउनसम्मको दुःख पाएर फर्किएका उनले अहिले स्वदेशमै तरकारी खेती र भैँसीपालनमा आफ्नो भविष्य देख्न थालेका छन् । ऋण लिएर तरकारी खेती र भैँसीपालन गर्न थालेका नेपाली विदेशमा गर्ने दुःख नेपालमा गर्नसके दोब्बर पैसा कमाउन सकिने अनुभव सुनाउँछन् । “मैले दुःख के हो आँखा अगाडि देखिको छु । तरकारी खेती र भैँसीपालन गर्न थालेपछि मलाई पछाडि फर्केर हेर्नुपरेको छैन”, नेपालीले भन्नुभयो, “यो काममा सन्तुष्ट हुँदा जे काम गरे पनि आफ्नै देशमा गर्नुपर्ने रहेछ भन्ने ज्ञान मलाई विदेशले सिकाएको छ ।”

अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटसहित तरकारी खेती र भैँसीपालन गर्न थालेको उनको भनाइ छ । “अब विदेश जाने मेरो कुनै सोच छैन । जे गरे पनि आफ्नै देशमा गर्ने हो”, नेपालीले भन्नुभयो, “आफ्नै भूमिमा बसेर सानो भए पनि काम गर्न पाएकोमा खुसी छु ।” व्यावसायिकरुपमा तरकारी खेतीबाट लाखौँ आम्दानी गरी घर खर्च तथा सन्तानलाई शिक्षादिक्षा गर्न सहज भएको उनको भनाइ छ ।

विदेशमा रहँदा परिवारको चासो मनभरी हुने र कहिले घर जाने होला भन्न चिन्ता रही काम गर्नुपर्ने बाध्यता थियो । परिवारसँगै बसी काम गर्न पाउँदा खुसी र परिवार तथा समाजको सम्मान पाएकाले काम गर्न थप हौसला मिलेको नेपालीको भनाइ छ । भैँसीको दूध घ्यू तथा तरकारीमा साग, सीमी, बोडी, केराउ तथा आलु बिक्रीबाट वार्षिक रु चार लाख आम्दानी हुने गरेको उनको भनाइ छ । यसले परिवारमा खुसी र सन्तृष्टि रहेको नेपालीको अनुभव छ ।

दुई वर्षअघि विदेशबाट फर्केर व्यावसायिक बाख्रापालन व्यवसाय गर्न थाल्नुभएका तानसेन मदनपोखराका सुन्दर रानाकोे खोरमा अहिले उन्नत जातका ५० भन्दाबढी बाख्रा छन् । बोयर तथा उन्नत जातका बाख्राले एक पटकमा दुई ओटा पाठापाठी उत्पादन दिने गरेको उनरु को भनाइ छ । वार्षिक तीन चार लाख आम्दानी गर्नका लागि विदेशी भूमि टेकीरहनुपर्ने बाध्यता हटेको रानाले बताउनुभयो । पछिल्ला वर्ष किसानले नौ दश महिना बाख्रा विक्री गर्दै आएका छन् । किसानको खोरबाट जिउदो खसीबोकालाई प्रतिकिलो रु ५०० मा विक्री हुन्छ । सामान्यतया विक्री अवधिमा खसी ३० देखि ८० किलोसम्म तौल हुने किसानको भनाइ छ ।

बोयर जातका खसीबोका अन्य स्थानीय जातकाभन्दा बढी तौल भएको हुन्छ । उन्नत जातका बाख्रालाई अन्य जातका खसीबोका भन्दा राम्रो मूल्य पाउने भएपछि यहाँका किसान व्यावसायिकरुपमा बाख्रापालनमा आकर्षित भएका छन् । “पहिला परम्परागत खोरमा बाख्रापालन हुँदै आएको थियो । अहिले व्यवस्थित खोर, पोषणयुक्त आहाराको व्यवस्थाले बाख्रा छिटो उत्पादन दिन थालेको छ”, रानाले भन्नुभयो । मलेसिया र दुवइमा काम गरी फर्केका राना अहिले स्वदेशमै स्वरोजगार बन्न पाएपछि खुसी रहेको बताउनुभयो ।

पाल्पाको तानसेन–१४, कुसेनीकै रमेश परियार कोरोना सङ्क्रमणको जोखिम बढेपछि बेरोजगार हुनुभयो । भारतमा होटलको जागिर गुमेपछि परियार स्वदेश फर्किनुभयो । गत वर्षको लकडाउनपछि परियार सात आठ महिना कामविहीन हुनुभयो । काम विहीन हुँदा आर्थिकसमेतले सताइरहेको थियो । अहिले फार्ममा १० ओटा बँगुर माउ हुर्किरहेका छन् । दश महिनाको अवधिमा बगँुरबाट पाठापाठी उत्पादन गर्ने तयारी रहेको उनले बताउनुभयो । भारत तथा नेपालमा होटल व्यवसायमा भन्दा बँगुरपालन व्यवसाय राम्रो भएको परियारको दावी छ ।(रासस)