“अष्ट्रेलिया आउँदा मोजमस्ती गर्ने हो भन्ने सोंच नराख्नुहोला, आत्तिनु हुँदैन केहि समय दु:ख गर्नुपर्छ”

0
146

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको ब्रिस्बेनमा बसोवास गरिरहनुभएका चिन बहादुर नेपालीसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो?
मेरो घर पोखरा हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो?
२० वर्ष भयो म अष्ट्रेलिया आएको।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
म अहिले मेनु फ़्यक्चरिङ्ग कम्पनिमा काम गर्छु।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
हामी नेपालबाट अष्ट्रेलिया आउदा त नेपाल अहिले जति छ त्यति धेरै विकशित पनि थिएन । हामीले सुरुमा आउदा त्यति आस पनि गरेका थिएनउ किनकि नेपालमा त्यस्तो देख्ने र सुन्ने गर्न पनि पाइएको थिएन। फरक त अब विकशित देशमा आएर देख्दा के हो यस्तो जस्तो त लाग्छ नै होइन र !

काम पाउन कत्तिको गाह्रो भयो?सुरुमा कसरी काम पाउनुभएको थियो ?
मलाई काम पाउन भन्दा पनि मैले सुरुमा जानी बित्तिकै काम खोजिन। मेरो क्ष्रिमतीले मलाई धेरै सपोट गरेकी थिन, उनीले मलाई पहिला ड्राईभर लाइसेन्स बनाउनु भनेर मैले अस्ट्रेलियामा आवश्यक पर्ने चिजहरुमा जोड दिए। अनि मैले ६ महिना पछि मात्र काम गरेको थिए त्यो पनि नयाँ घरहरुमा बगैंचा गराउने काम बाट सुरु गरको थिए।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के हुन्?
सबै राम्रो लाग्छ, नेपालीहरु अष्ट्रेलिया आएर आफ्नो करियर बनाईरहेका छन्। यहाँको नियम कानुन धेरैले मान्ने भएर पनि होला विकशित पनि छ। नराम्रो भन्नलाई अहिलेको समयमा आएर नेपालमा जस्तो राजनीति घुसाएका पनि छन् पहिला त्यस्तो थियन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई?
मलाई समाज सेवा गर्न मन पर्छ। म आफ्नो छुट्टै सस्था खोलेको छैन तर आफ्नो तरिकाले धेरै नेपालीलाई सहयोग पनि गरेको छु एउटा नेपाली भएको नाताले। पहिला नेपाली समाज कमै थियो र राम्रो पनि थियो तर अहिले धेरै छन् सस्थाहरु अनि प्रतिस्पर्धा जस्तो भएको छ। सबै खराब पनि छैन कसै-कसैले धेरै राम्रो काम गर्नु भएको पनि छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
नेपाली समुदाय धेरै भएको छ, उनीहरु सबैलाई एक बद्ध गराएर लिएर गएमा धेरै विकाश गर्न सकिन्थ्यो। धेरैलाई सहयोग गर्न पनि सकिन्थ्यो धेरै ठाउँबाट भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ?
पहिला म आउने बित्तिकै अहिलेको जस्तो फोनको सुविधा पनि थिएन। चिठी पनि एक हप्तामा पुग्थ्यो अनि परिवारको याद धेरै आउने गर्थ्यो। अहिले धेरै सुविधा पनि छ अनि म बेला बेलामा नेपाल गईराख्छु, मेरो व्यवसाय नेपालमा भएको कारणले गर्दा खासै न्यास्रो लाग्दैन।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
काम गरेर खानु पर्छ भन्ने सिकायो। देशले मलाई के दियो भन्दा पनि मैले देशलाई के दिए भन्ने तर्फ लग्नु पर्छ भन्ने सिकायो। आफ्नो देशलाई आफ्नो मातृभूमिलाई माया गर्नु पर्छ भन्ने सिकायो।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
सबै तयारी गरेर आउनु सुख दुख दुई वटै हुन्छ। एउतै रूममा मिलेर धेरै जना बस्नु पर्छ मिलेर बस्ने बानीको विकाश गरेर आउनु। जस्तो काम पनि गर्न सक्छु भन्ने भएर आउनु। मोज मस्ती गर्ने हो भन्ने सोच नराख्नु होला, केहि समय दुख गर्न पर्छ आत्तिनु हुँदैन। ड्राईभर लाइसेन्स बनाउनु पर्छ यहाँ पढ्न आफ्नो करियर बनाउन आउने हो भन्ने ध्यानमा राख्नु भन्न चाहन्छु।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
अष्ट्रेलिया पठाउन चाहन्छु हुन्छ भने आफ्नो छोरा छोरीलाई पहिला राम्रो संग बुझेर पठाउनु होला। नेपालबाट अष्ट्रेलिया पठाउदा पढ्न पठाएको हो भन्ने भुझ्नु। अरुको छोरा छोरीले सुरुमा गएर काम गरेर पैसा पठाए भन्दैमा आफ्नो छोरा छोरीलाई पनि त्यस्ता कुरा सुनाएर टेन्सन नदिनु होला। भाग्यको कुरा हो कसको कस्तो हुन्छ त्यो भन्न सकिदैन भन्न चाहन्छु।