नारीनिकुञ्ज भिक्टोरियाको आयोजनामा शनिबार अटिजम सम्बन्धि जनचेतनामुलक कार्यक्रम

0
283

मेलबर्न। अटिजम सम्बन्धि जनचेतनाका लागि विशेष अन्तरक्रिया कार्यक्रम हुनेभएको छ। भर्चुअल रुपमा हुने उक्त कार्यक्रमलाई एनआरएनए अष्ट्रेलिया भिक्टोरिया अन्तर्गत नारीनिकुञ्जले आयोजना गरेको हो। भर्चुअल कार्यक्रम भएका कारण जहाँसुकै रहेका इच्छुक व्यक्ति कार्यक्रममा सहभागी हुन सक्ने कार्यक्रम संयोजक पारु सापकोटाले बताउनुभएको छ।

कार्यक्रममा नेपाली समुदायमा अटिजमप्रतिको दृष्टिकोण र यसैकारण बालबालिका तथा वयस्क व्यक्तिहरुको मानसिक स्वास्थ्यमा पर्ने असर लगायत विषयमा अन्तरक्रिया गरिनेछ। जसमा मनोचिकित्सक डा उत्कर्ष कार्की, अटिजम विज्ञ सम्झना पराजुली, इन्फ़िनिट एबिलिटिका निर्देशक वासुदेव मरहट्ठा वक्ताको रुपमा रहनुहुनेछ। सहजकर्ताको रुपमा पारु सापकोटा र राशी सिंह ठकुरी रहनुहुनेछ। पारु सापकोटा एनआरएनए भिक्टोरियाकी महिला संयोजक हुनुहुन्छ भने राशी सिंह ठकुरी एनआरएनए भिक्टोरियाकी उपसंयोजक हुनुहुन्छ।

हिमालयन कंगारुसंगको कुराकानीमा एनआरएनए भिक्टोरिया संयोजक हरि खड्काले नारीनिकुञ्जको यो प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि सबै मिलेर यस्ता विषयमा जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताउनुभयो। उहाँले सबैले जान्नुपर्ने र बुझ्नुपर्ने विषय भएकोले कार्यक्रममा भर्चुअल रुपमा सहभागिताका लागि सबैलाई आग्रह समेत गर्नुभयो।

नेपाली समुदायमा अटिजम भएका व्यक्तिहरुप्रति गरिने व्यवहार तथा उनीहरुलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आओस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा एनआरएनए भिक्टोरियाकी महिला संयोजक पारु सापकोटा बताउनुहुन्छ। संयोजक सापकोटाले व्यक्तिगत पहलमै विगत दुई वर्षदेखि विभिन्न माध्यमबाट अटिजम सम्बन्धि जनचेतना जगाउने कार्य गर्दै आउनुभएको छ। यसपटक एनआरएनए भिक्टोरिया, नारीनिकुञ्ज मार्फत संस्थागत रुपमै अटिजम सम्बन्धि कार्यक्रम संचालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै उहाँले सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ।

कार्यक्रम आगामी डिसेम्बर १८, शनिबार साँझ ६ बजेदेखी राती ८ बजेसम्म संचालन हुनेछ। कार्यक्रममा सहभागिताका लागि तल पोस्टरमा उल्लेखित जुम मिटिंग आइडि र पासवर्ड प्रयोग गर्न सकिनेछ।