“अष्ट्रेलियामा या कुनै पनि देशमा छोराछोरी पठाउँदा अरुको गुलामी गर्न पठाउँदैछु भन्ने नबिर्सनुस”

0
101

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका समर पौडेलसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालमा काठमान्डौ, बनस्थली हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया आएको ३ वर्ष भयो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
ठिकै थियो, खासै गाह्रो पनि भएन।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
मेरो अनुभवमा त युनिभर्सिटी रोज्नु राम्रो, किनभने हामी पढ्ने भनेर अष्ट्रेलिया आउछौ अनि सस्तो कलेज रोज्छौ त्यो राम्रो होइन। हामीलाई हाम्रो अभिभावकले लाखौ खर्च गरेर अष्ट्रेलिया पठाई सके पछि राम्रो युनिभर्सिटीमा पढेर करियर बनाउदा राम्रो हो। युनिभर्सिटीमा पढेपछि राम्रो भनेको जस्तो काम पाउन पनि सकिन्छ, हो सुरुमा गाह्रो हुन्छ तर पछि भविष्य पनि त राम्रो हुन्छ त्यसैले पनि युनिभर्सिटी रोज्नु राम्रो लाग्छ मलाई।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालमा ब्याचलर लेभलको पढाई सकेर आएको हो।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
अष्ट्रेलियामा accounting पढ्नको लागि आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
मैले अहिले पढाई सकेर काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
पढाईलाई मात्र जोड दिने हो भने त धेरै राम्रो छ, अष्ट्रेलियाको पढाईले करियर बनाउन पनि उतिकै सहज छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
गेम खेल्नमा अनि साथी भाइ संग घुम्नमा रुचि छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले खासै त्यस्तो केहि फरक भने पाईन, किनकी मैले पहिल्यै साथीहरु संग राम्रो संग बुझेको थिए अष्ट्रेलियाको बारेमा। काम पाउन के गर्नु पर्छ, त्यहाँको हावापानी वातावरण, सरकारको नियमकानुन सबै बारेमा बुझेको थिए त्यही भएर पनि होला केहि फरक भेटिन।

काम पाउन कत्तिको गाह्रो भयो ? सुरुमा कसरी काम पाउनुभएको थियो ?
गाह्रो त हुन्छ नै धेरै जसो विद्यार्थीहरुलाई कहाँ जाने के गर्ने भन्ने बारे थाहा हुँदैन। मलाई सबै कुरा साथीहरुले भनेको आधारमा गर्दा त २/३ महिना काम पाउन गाह्रो भयो। सुरुमा मैले ग्राहक सेवा बाट काम गरेको थिए।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के छन् ?
यहाँ जे कुरा पनि नियम अनुसार हुन्छ, खुसी पनि लाग्छ कसैलाई काखा कसैलाई पाखा हुँदैन। मैले यसबाट यो शिक्षा पाएकि हामीले कुनै पनि काम गर्नको लागि एउटा न एउटा नियममा रहेर गरेउ भने सफल पनि भईने रहेछ। नराम्रो भन्नलाई अरु त त्यस्तो केहि छैन यति हो कि आफ्नो घरपरिवार संग टाढा भएर बस्नु पर्ने भनेको समयमा न त बोलाउन मिल्ने परिवारलाई न त आफु नेपालमै जान मिल्ने।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
पहिला त म घुलमिल थिइन् तर यो कोभिडले गर्दा हाम्रो नेपाली कतिको सहयोगी हुनुहुन्छ भनेर जान्ने मौका राम्रो संग पाएको थिए। धेरै सहयोगी भावनाको हुनुहुन्छ, विभिन्न संघसस्था खोलेर पैसा उठाएर धेरै नेपालीहरुलाई सहयोग गर्नु भएको छ। अष्ट्रेलियामा भएर पनि नेपाली सस्कृतिलाई भुल्नु भएको छैन जो जहाँ हुनुहुन्छ त्यसमै खुसी भएर मनाउनु भएको छ त्यो सबै देख्दा धेरै राम्रो लाग्छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
नेपालमा जस्तो राजनीति नल्यैदिनु हामी विधार्थीको जीवनमा, धेरै सपना बोकेर पढ्नको लागि आएका हुन्छौ हामी सकेसम्म सहयोग गरिदिनु भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आउछ, काम बाट रूममा आएर आफै पकाएर खान पर्दा आमाले बनाएर दिएको याद आउछ। बिरामी हुदाँ मेरो परिवार साथमा भइदिएको भए भन्ने हुन्छ। प्रत्येक चाडपर्वमा एक्लो महशुस हुन्छ नेपाल जान पनि पाइदैन भन्ने बित्तिकै त्यसैले पनि मैले मेरो परिवारलाई धेरै कुरामा सम्झिन्छु।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
आफ्नो लागि आफैं गर्नु पर्ने रहेछ, जस्तो सुकै कठिन आइपरे पनि हार नमानी त्यसको सिमाना गर्नु पर्ने रहेछ अनि सफल भइन्छ। “बुझ्नु सुन्नु धेरैबाट तर मान्नु आफ्नै मनको” भन्ने एउटा उखानलाई मनन गरे मैले यस्तै यस्तै अष्ट्रेलियाले मलाई धेरै कुरा सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
धेरै बुझेर आउनु होला, अहिले त सामाजिक सञ्जाल बाट धेरै कुरा सिक्ने अवसर पनि मिल्छ। अष्टेलिया आएर सुरुमा पढ्छु नै भनेर आउनु राम्रो हो। पैसा पनि कमाउछु अनि पढाईलाई पनि निरन्तरता दिन्छु भन्ने तिर लग्नु भयो भने पढाई राम्रो हुन सक्दैन भनिन्छ नि “दुई वटा डुंगामा खुट्टा राख्न खोज्यो भने दुई वटै बाट लडिन्छ” त्यसैले सपना आस धेरै नराख्नु तर सपना ठुलै पुरा गर्ने गरि आउनु भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
पहिलो कुरा त म अभिभावकलाई के भन्न चाहन्छु भने आफ्नो छोरा छोरी अरुको गुलामी हुन पठाउदै हुनुहुन्छ भन्ने कुरा कहिल्यै नभुल्नु। अरुको देखेको भरमा अनि छोरा छोरीलाई पठाए पछि छिटै धेरै पैसा कमाउछन् भन्ने सपना बोकाएर नपठाउनु उनिहरुको दिमागमा असर पर्नसक्छ भन्न चाहन्छु।