“अष्ट्रेलियाबारे केही नबुझी हतारमा आउँदा अलपत्र पर्न पनि सकिन्छ”

0
346

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहनुभएका सफल सापकोटासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालको घर चितवन हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया २०१५ मा आएको हु।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
म स्कुल लेभल पढ्न आएको हुँदा भिसाको लागी सजिलै भयो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
मेरो विचारमा दुवै राम्रो हो जस्तो लाग्छ। आफू के पढ्ने धारणाले आएको छ त्यसमा पनि भर पर्छ। काम गर्नु आवश्यक छैन पढ्ने मात्र हो भने युनिभर्सिटी रोज्नु राम्रो नत्र भए सस्तो पैसामा पनि काम गर्दै पढ्दै गर्ने हो भने कलेज रोज्नु राम्रो जस्तो लाग्छ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालमा एस.एल.सी.लेभलको पढाई सकेर अष्ट्रेलिया आएको हु।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
म नर्सिङ्ग कोर्स गर्नको लागि आएको हु।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
पढाईलाई आफैले ध्यान दिएर समय मिलाएर पढ्न सक्यो भने राम्रो छ। राम्ररी पढेर अगाडी बढ्यो भने अष्ट्रेलियामा अवसरहरु धेरै छ त्यहि कारणले करियर निर्माण गर्न कुनै गाह्रो छैन।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई पढाई बाहेक क्रिकेट खेल्न र यात्रा गर्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले नेपालमा सोचेको अष्ट्रेलिया र यहाँ आएपछिको अष्ट्रेलियामा धेरै फरक पाए र सोचेको भन्दा धेरै राम्रो पनि पाए। नेपालमा रहुन्जेलसम्म के कस्तो हुन्छ भन्ने केहि थाहा हुँदैन। दु:ख त धेरै गर्नु पर्छ तरपनि यहाँको सबै कुराहरु राम्रो छ।

काम पाउन कत्तिको गाह्रो भयो ? सुरुमा कसरी काम पाउनुभएको थियो ?
मलाई खासै गाह्रो भएन। मैले काम पिज्जा शपबाट सुरु गरेको हो।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के छन् ?
अष्ट्रेलियामा आफुले पढे अनुसारको काम पाइन्छ। साथै यहाँको पढाई पनि नेपालमा भन्दा राम्रो छ। बेरोजगार बस्नु पर्दैन सानातिना कामका अवसरहरु आइरहन्छ। अष्ट्रेलियामा बस्दाको नराम्रो कुरा भनेको घर परिवार मिस हुन्छ त्यहि हो।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
मेरो परिवारले यहाँको समुदायलाई राम्रो संग चिनेको भएर मलाई पनि राम्रो लाग्छ। एकाअर्कालाई समस्या परेको खण्डमा सहयोग गर्ने खालका छन्।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ? के कुरा बढी सम्झना आउँछ ?
मेरो नजिक आफ्नै दाइहरु हुनुहुन्छ त्यहि भएर पनि परिवार नै संगै भए जस्तै लाग्छ। हाम्रो नजिक बाबाममी हुनुहुन्न त्यसैले उहाँहरुको नै धेरै सम्झना आउने गर्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
अष्ट्रेलियाको बसाईले आत्मनिर्भर हुन् सिकायो। आफुले मेहनत गर्न सकियो भने जे जस्ता कामहरु पनि पुरा गर्न सकिदो रहेछ र कुनै पनि काममा हरेस नखाई निरन्तर रुपमा लागिपरेमा एक न एक दिन अवश्य पुरा हुन्छ भन्ने कुरा सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउँदा खेरी सकेसम्म ड्राइभिङ जस्ता केहि सिपहरु सिकेर आउँदा पछि सजिलो हुन्छ। अष्ट्रेलिया आउने भयो भन्दैमा हतार नगरी सबै कुराहरु बुझेर आउनु पर्छ। कति विद्यार्थीहरु नेपालबाट केहि नबुझी आउँदा यहाँ आएर दु:ख पाएर अलपत्र हुनु परेको अवस्था पनि छ, त्यसैले आउने बेलैमा धेरै ध्यान दिएर हरेक कुराहरु बुझी आउनु होला भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
सुरुमा अष्ट्रेलियामा आउँदा आफ्नो परिवार छोडेर आउनु पर्छ, यसरी आउँदा एउटालाई मात्रै होइन सबैलाई नै गाह्रो हुने गर्छ। यस्तो बेलामा छोराछोरीलाई धेरै तनाब नदिई समस्या परेमा हामी सपोर्ट गर्छौ भन्दै भरोसा दिलाउनु पर्छ। नयाँ ठाउँमा भर्खरै संघर्ष गर्न गएका हुन्छन त्यसैले उनीहरु माथि धेरै आशा पनि नराख्दिनु होला भन्न चाहन्छु।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
कति विद्यार्थीहरु के पढ्ने भन्ने निश्चित नगरी आउँदा अर्को विषयहरु परिवर्तन गरि पढ्ने गरेका छन्। त्यसैले अष्ट्रेलिया आउँदा धेरै कुराहरु बुझेर आउनु होला।