

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।
यस स्तम्भ अन्तर्गत आज हामीले नुवाकोट, कल्दारा घर हुनुभएकि बिपना बर्देवासँग कुराकानी गरेका छौं।
हजुरलाई कसले उपहार पठाइदिनुभएको हो?
मेरो साथीले पठाइदिनुभएको हो।
यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
धेरै नै रमाइलो लाग्यो, समय समयमा मेरो लागि उपहार पठाइ रहनुहुन्छ।
तपाईको साथी अष्ट्रेलिया जानुभएको कति भयो? उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
४ वर्ष भयो अष्ट्रेलिया जानु भएको। अष्ट्रेलियाको मेलबर्न, भिक्टोरियामा बस्नुहुन्छ।
तपाइलाई साथी अष्ट्रेलिया गएकोमा कस्तो लाग्छ?
खुसी लाग्छ, आफ्नो भविष्य सोचेर जानुभएको हो। फोनमा कुरा गर्दा पनि राम्रो भईरहेको छ भन्नु हुन्छ, यस्तो सुन्न पाउदा पनि खुसी लाग्छ। नेपालमा कति नेपालीहरु वेरोजगार बस्नु परेको छ, हातमा आफ्नो पढाईको प्रमाणप्रत्र लिएर हिड्ने कति धेरै हुनुहुन्छ। नेपालमा कतैबाट पनि केहि गर्ने आश नभए पछी बल्ल हामी नेपाली विदेशिने त हो ,त्यसैले पनि मलाई राम्रो लाग्छ ।
चाडपर्वहरुमा साथीको कत्तिको सम्झना आउँछ?
चाडपर्वहरुमा आफ्नो मान्छे नजिक नहुदाँ त सम्झना आइहाल्छ नि। हरेक चाडपर्वमा रमाइलो गरेर हिडेको सबै साथीहरु संग भैली खेलेको धेरै याद आउँछ ।
नेपाल फर्किए हुन्थ्यो जस्तो लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
एकचोटी आएर भेट्न पाए हुन्थ्यो, अनि उतै सेटल भए हुन्छ जस्तो लाग्छ। नेपाल आएर पनि कुनै राम्रो काम पाउने होइन, पढेर मात्र के गर्नु यतिकै बस्नु पर्छ भने । कमसेकम अष्ट्रेलिया गएर त आफ्नो करियर बनाउनु भएको छ । नेपालमा भएको भए सायद बेरोजगारी बस्नु पर्त्यो होला, त्यसैले पनि अष्ट्रेलियामा नै सेटल भएको राम्रो।
तपाई कहिँल्यै अष्ट्रेलिया जानु भएको छ? अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ?
गएको छैन, अब जाने सोच छ। पढ्नको लागि आफ्नो करियरको लागि जान्छु ।
तपाइलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ?
त्यहाँ घुम्नको लागि राम्रो ठाउँ पनि छ। अष्ट्रेलिया तिर को खानपिनहरु राम्रो हुन्छ, सुख सुविधा सबै राम्रो लाग्छ। फोटोमा देखेको जस्तो त नहोला तर जति मैले बजेकि छु सुनेकी छु सबै राम्रो लाग्छ । नराम्रो भन्नलाई केहि छैन ।
नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाइलाई कस्तो लाग्छ?
विदेशमा सेटल हुने भने सबै कुरामा राम्रो सुविधा हुन्छ आफ्नो भविष्य बन्छ। नेपालमा आफुले पढेको जस्तो काम नै पाइदैन पाए पनि काम गरेको जस्तो पैसा पाइदैन। नेपालमा १ वर्षमा कमाउने पैसा विदेशमा १ महिनामा कमाउन पनि सकिन्छ त्यसैले नेपालमा भन्दा विदेशमा बसेको नै राम्रो हुन्छ भन्ने सोच्छु ।