“अष्ट्रेलियामा अरुको भर नपर्नु, यहाँ आउँदा नै जस्तो परिस्थितमा पनि आफै गर्नसक्छु भन्ने भएर आउनु”

0
34

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको एडिलेडमा बसोवास गरिरहनुभएका रुशी श्रेष्ठसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाइको घर कहाँ हो ?
नेपालमा मेरो घर इमाडोल हो ।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अस्ट्रेलिया आएको ५ वर्ष भयो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
म डीपीडेन्ट आएको हो, मलाई खासै गाह्रो भएन, सजिलै भयो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
सुरुमा कलेज रोज्नु राम्रो, माथिल्लो लेभलमा पुगेपछि भने युनिभर्सिटी रोज्नु राम्रो हो।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
म नर्सिङ्ग पढाई गर्दा गर्दै आएकी हु।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
नर्सिङ्ग पढाईलाई नै निरन्तरता दिदै छु।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
अहिले काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
नेपालमा भन्दा त धेरै फरक हुन्छ, राम्रो पनि उत्तिकै छ। यहाँको नियम कडा पनि छ त्यसलाई पालना गर्दै आफ्नो करियरको लागि अगाडी बढ्न सकिन्छ। हरेक कुरा सिकाउने वा सिकेर मात्र अगाडी बढ्न दिन्छ यहाँको सरकारले, सिप सिकेर मात्र अगाडी बढ्नु भन्ने कुराको ज्ञान पनि दिन्छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई पढाई बाहेक टि . भी .हेर्न र साथीभाइ संग भेटघाट भई घुम्न रमाइलो गर्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा हुदाँ सजिलो होला भन्ने लाग्थ्यो तर यहाँ आएपछि थाहा भयो त्यति सजिलो पनि छैन। सुरुमा कुनै पनि कामको अनुभव नहुदाँ, यहाँको वातावरणमा भिज्न नसक्दा, मान्छे नचिन्दा गाह्रो हुने रहेछ।

काम पाउन कत्तिको गाह्रो भयो ? सुरुमा कसरी काम पाउनुभएको थियो ?
मलाई काम पाउन २/४ महिना गाह्रो भएको थियो। सुरुमा मैले अनलाइन बाट पाएको थिए।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के -के हुन् ?
यहाँको सबै नियम कानुनहरु राम्रो छ अनि सबैले मान्नै पर्छ। नेपालमा जस्तो गरे पनि हुने नगरे पनि केहि फरक नपर्ने भन्ने हुन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?
धेरै दु:ख गर्न पर्छ, परिवारबाट टाढा भएर बस्न पर्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
मलाई अष्ट्रेलियाको समुदाय राम्रो लाग्छ। नेपाली चाडपर्वमा भेटघाट हुने रमाइलो गर्ने गर्नु हुन्छ। सबै सहयोगी भावनाको हुनुहुन्छ, त्यसैले पनि मलाई मन पर्छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
विशेष गरि यहाँ पढ्न आउने विद्यार्थीको लागि धेरै सहयोग गर्नु भएको छ। विमानस्थलमा लिन जाने, काम लगाई दिने गर्नु भएको छ,राम्रो गरिरहनु भएको छ अझै यस्तै राम्रो कामहरु गर्दै जानु भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?के कुरा बढी सम्झना आउँछ ?
सुरुमा त १ वर्ष जति मलाई गाह्रो नै भयो परिवार संग टाढा बस्नु पर्दा।त्यस पछि काम पढाई तिर व्यस्त भएपछि भने याद आउन अल्लि कम पनि भयो। दशैं तिहार मा अल्लि बढी नै याद आउँछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
अष्ट्रेलियाको बसाईले मलाई आत्मनिर्भर हुन् सिकायो। अरुको भर नपर्नु केहि कुरामा पनि आफै गर्न पर्छ गर्छु सक्छु भनेर अघाडी बढ्नु भन्ने सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
नेपालमा जस्तो सजिलो छैन, आउँदा हुन्छ नेपालबाटै काम सिकेर आउँदा धेरै राम्रो हुन्छ। धेरै बुझेर आउनु सकेसम्म अरुको भर नपर्नु आफ़ुलेनै गर्न सक्छु जस्तो सुकै अप्ठारो परे पनि, भन्ने भएर आउनु भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
भविष्य बन्छ, आफ्नो छोरा छोरीलाई पठाउनु। धेरै आशा नराख्नु उनीहरुको दिमाखले कति गर्न र सहन सक्छ भन्ने कुरा अभिभावकलाई भन्दा राम्रो संग अरु कसैलाई थाहा हुदैन जस्तो लाग्छ, भन्न चाहन्छु।