“अष्ट्रेलियामा मास्टर्स पढ्न युनिभर्सिटी रोज्छन्, १२ कक्षा सकेकाहरु भने कलेज रोज्छन्”

0
75

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको न्यू साउथ वेल्समा पर्ने Dee Why मा बसोवास गरिरहनुभएका सिता अधिकारीसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर काठमाडौँ, बौद्ध हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया आएको २०१३ मा हो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
मलाई त्यतिबेला त खासै गाह्रो भएन, सजिलै भयो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
यहाँ आएर के रोज्ने भन्ने त आफ्नो पढाईमा भरपर्छ। नेपालबाट आउने प्राय मान्छेहरु मास्टर लेभलको पढ्न आउनेहरुले युनिभर्सिटी रोज्छ र +२ पढ्न आउनेहरुले कलेज रोज्ने गर्दछ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
व्याचलर लेभलको पढाई सकेर आएको हो।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
accounting पढ्नको आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
अहिले काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
मेरो अनुभवमा नेपालमा भन्दा यहाँ पढाई राम्रो छ। पढाई राम्रो भएअनुसारको राम्ररी पढ्ने हो भने करियर निर्माणको लागि सहजै छ। आफ्नो भविष्यलाई कसरी, कुन तरिकाबाट राम्रो बनाउने भन्ने कुरा आफ्नैमा भर पर्छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
पढाई बाहेक नाच्न र खाना बनाउन मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
आफु नेपाल हुँदा सोचेको अष्ट्रेलिया र आफु त्यहाँ पुगिसकेपछिको अष्ट्रेलियामा धेरै फरक छ। नेपाल मै रहुन्जेलसम्म त अष्ट्रेलियामा गएर सुख पाइन्छ भन्ने हुन्छ तर सुरुमै हुँदैन। होला पछि गएर त्यहाँ घुलमिल भएपछि त केहि सजिलो। राम्ररी पढेर,काम गरिसकेपछि पिआर बनेपछि चाहिँ त्यस्तो दु:ख हुँदैन।

काम पाउन कत्तिको गाह्रो भयो ? सुरुमा कसरी काम पाउनुभएको थियो ?
मलाई काम पाउन गाह्रो भएको थियो। सुरुमा आफैले खोजेर नर्सिङ्ग होमबाट सुरु गरेको हो।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के -के हुन् ?
अष्ट्रेलियामा आफ्नो जीवनलाई राम्रो बनाउन सकिन्छ। यहाँ सरकारको नीति नियमहरु रामो छ र स्वतन्त्रता पाइन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?
अष्ट्रेलियामा बस्दा परिवारलाई धेरै सम्झिन्छ त्यहि हो।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
मलाई अष्ट्रेलियाको समुदाय ठिकै लाग्छ। किनकी यहाँको समुदायमा मान्छेहरु अर्धशिक्षित हुन्छन, त्यसकारण अलि कुरा मिल्दैन।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
घरपरिवारको सम्झना त एकदम आउँछ, तर आफ्नो लागि आएको हुँदा चित्त बुझाउनु पर्छ।

के कुरा बढी सम्झना आउँछ ?
परिवारसंगै दशैं तिहार मनाएको बढी सम्झना आउँछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
अष्ट्रेलियाको बसाईले मलाई आत्मनिर्भर हुन् सिकायो। समयको कतिको महत्तो हुँदो रहेछ भन्ने कुरा पनि सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलियामा गएर काम गर्न सक्छु भन्ने सोच लिएर आउनु पर्छ। नेपालमा घरपरिवारको साथमा बसेर बाबाआमाको कमाइमा रमाएको जस्तो हुँदैन। अरुको कमाइमा रमाउनु र आफैले कमाएर आफ्नो कमाइमा रमाउनुमा धेरै फरक छ। त्यसैले यहाँ आएर गाउँघरमा साथीभाईसंग रमाइलो गरेर जिन्दगी बनाउन त्यसै सजिलो छैन। त्यहि भएर केहि गर्छु भन्ने हिम्मत लिएर आउनु भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
छोराछोरी अष्ट्रेलिया छ भन्दैमा अभिभावकहरुले ठुलो आशा नराख्दिनु होला भन्न चाहन्छु। जस्तो हामीले बाहिरी रुपमा देखेको अष्ट्रेलिया हो वास्तवमा त्यस्तो छैन। हामीले जे सोचेर आएको हुन्छौ यहाँ आएर भोग्दा विपरित पाउछौं।