अष्ट्रेलियाको तास्मानियामा सम्पन्न टेबल टेनिस प्रतियोगितामा डोल्मा शेर्पा, सुजन र लोक थापा विजयी

0
544

होबार्ट। अष्ट्रेलियाको तास्मानियामा टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। पाली समुदायलाई खेल तथा सामाजिक क्षेत्रमा अगाडी बढाउनका लागि क्रियाशील संस्था नेपलीज तास्मानिया स्पोर्ट्स एसोसिएसन (एनटिएसए) को आयोजनामा एनटिएसए टेबल टेनिस च्याम्पियनसिप २०२१, सिजन २ सम्पन्न भएको हो।

प्रतियोगिता पुरुष ओपन एकल, महिला ओपन एकल र ओपन डबल गरी तीन समूहमा भएको थियो। जसमा पुरुष एकलतर्फ सुजन थापा विजयी बन्नुभयो भने सन्दिप भट्ट उपविजेता बन्न सफल हुनुभयो। महिला एकलतर्फ डोल्मा शेर्पा विजयी बन्नुभयो भने रेखा कोइराला उपविजेता बन्न सफल हुनुभयो।

त्यसैगरी, ओपन डबल तर्फ सुजन थापा र लोक थापा विजयी बन्नुभयो भने हरि गोतामे र अभिषेक माली उपविजेता बन्न सफल हुनुभयो। प्रतियोगितामा विजेताका लागि २ सय डलर र उपविजेताका लागि १ सय डलर नगद पुरस्कारको व्यवस्था गरिएको थियो।

आयोजक संस्था एनटिएसएका अध्यक्ष प्रशेष पौड्यालले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै प्रायोजक संस्था, सहभागी खेलाडी र व्यवस्थापनमा जुटेका टिम सदस्यहरुप्रति आभार व्यक्त गर्नुभएको थियो। उहाँले यसैगरी सबैको साथ मिल्दै गएमा नेपाली समुदायको खेलकुद क्षेत्रका लागि संस्थाले आगामी दिनमा अझ प्रभावकारी कामहरु गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

संस्थाका सचिव सुरज श्रेष्ठ र कोषाध्यक्ष भोला श्रेष्ठ प्रतियोगितालाई व्यवस्थित तथा निष्पक्ष बनाउनका लागि सुरुवातदेखि नै खटिनुभएको थियो। त्यसैगरी उपाध्यक्ष रविन भट्टराईले सबैलाई स्वागत गर्दै समुदायमा हुने खेलकुद गतिविधिलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो। संस्थाका पब्लिक अफिसर विष्णु सापकोटाले प्रतियोगिताको औपचारिक कार्यक्रम संचालन गर्नुभएको थियो।