अष्ट्रेलियाको भिक्टोरियामा दिदीबहिनी समाज वेस्टद्वारा देउसी खेलेर संकलित रकम एएनएमसीलाई सहयोग

0
41

अष्ट्रेलियाको भिक्टोरियामा दिदीबहिनी समाज वेस्टद्वारा देउसी खेलेर संकलित रकम एएनएमसीलाई सहयोग

मेलबर्न। अष्ट्रेलियामा रहेका नेपालीहरु नेपाली कला संस्कृतिको संरक्षण संगै सामाजिक एकता र सहयोगका निम्ति पनि सधै अग्रसर छन्। यसको पछिल्लो उदाहरण बनेको छ, दिदीबहिनी समाज भिक्टोरीयाको वेस्ट युनिट।

दिदीबहिनी समाज भिक्टोरीयाको वेस्ट युनिटले अष्ट्रेलियन नेपाली बहु साँस्कृतिक केन्द्र (एएनएमसी) लाई आर्थिक सहयोग गरेको छ। संस्थाले देउसी भैलोबाट उठेको रकम एएनएमसीलाई सहयोग गरेको हो। तिहारको अवसरमा मेलबर्नको वेरेवीमा अवस्थित रिभरवाक पार्कमा आयोजना गरिएको देउसी भैलोबाट ११ सय २४ डलर संकलन भएको थियो।

उक्त रकम संस्थाकी संयोजक रोशनी श्रेष्ठ र अभिभावक जमुना सापकोटाले संयुक्त रुपमा एएनएमसीका अध्यक्ष राजेश आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै एएनएमसीका अध्यक्ष राजेश आचार्यले नेपाली संस्कृतिको प्रबर्द्धनसंगै समुदायको समृद्धिलाई पनि ध्यानमा राखेर कार्यक्रम गरेकोमा दिदीबहिनी समाज भिक्टोरीयाप्रति आभार व्यक्त गर्नुभएको थियो। उहाँले एएनएमसीका पछिल्ला कार्य तथा प्रगतिको बारेमा पनि जानकारी गराउनुभएको थियो भने एएनएमसी सम्पूर्ण नेपाली समुदायका लागि गौरवको विषय भएकोले सबैलाई सहयोगका लागि अपिल समेत गर्नुभएको थियो।

त्यसैगरी दिदीबहिनी समाज भिक्टोरीया वेस्ट युनिटकी संयोजक रोशनी श्रेष्ठले व्यस्त जीवनशैलीका बावजुद पनि संस्थाका सदस्यहरुले कार्यक्रममा देखाएको सक्रियताको प्रशंसा गर्दै नेपाली संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धनसंगै समुदायको हितका निम्ति संस्था सधै अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

संस्थाका अनुसार, देउसीभैलो खेलेर एन्ट्रीबाट ३०० डलर, रिभरवाक पार्कबाट ११६१ डलर, दिदीबहिनी समाज भिक्टोरीया अभिभावक समूहबाट ३१७ डलर गरी जम्मा १ हजार ८ सय ६६ डलर सङ्कलन गरिएको थियो। त्यसैगरी, एक जनाबाट १०१ डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ । संस्थाले सोबाट बाँकी रकम ७०५ डलर नेपालको विद्यालयलाई सहयोग गर्ने जनाएको छ।