“अष्ट्रेलिया आउँदा पीआर सम्बन्धि नियम कानुन पहिल्यै बुझेर आउँदा सजिलो हुनेरहेछ”

0
75

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहनुभएका प्रज्ञा पोख्रेलसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर पोखरा हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया गएको २०१७ मा हो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
अष्ट्रेलियाको भिसाको लागि खासै गाह्रो भएन,किनकी एकपछि अर्को प्रोसेस गर्दा सहजै रुपमा भयो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
मेरो अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा युनिभेर्सिटी रोज्नु राम्रो लाग्यो,किनकी युनिभर्सिटीको पैसा धेरै नै भएपनि पढाई राम्रो हुन्छ। कलेजमा समय निश्चित हुन्छ भने युनिभर्सिटीमा समय निश्चित भन्ने हुदैन र अनलाइन पनि क्लास लिन सजिलो हुन्छ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
+२ को पढाई सकेर अष्ट्रेलिया गएको हो।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
नर्सिङ्ग विषय पढ्नको लागि गएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
हाल म पढाईलाई निरन्तरता दिदै छु ।

अहिले पढ्दै हुनुहुन्छ ? कुन युनिभर्सिटीमा, कुन लेभलमा पढ्दै हुनुहुन्छ ?
भिक्टोरिया युनिभेर्सिटीमा,मास्टर लेभलमा पढ्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
मेरो अनुभवमा अष्ट्रेलियाको पढाई पढ्नेहरुको लागि राम्रो छ। धेरै जसो मान्छेहरु अष्ट्रेलियामा पिआरको लागि नै आउने गर्छन, त्यसकारण यसरी पिआर को लागि आँउदा कन्सल्टेन्सीसंग त्यहाँको नियम कानुनको बारेमा राम्ररी बुझेर आँउदा करियर निर्माणको लागि सहजै हुने गर्दछ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मेरो रुचि भनेको पढाई बाहेक खेलकुद पनि छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालबाट आँउदा पढ्दै काम गर्दै परिवारलाई सपोर्ट गर्छु भन्ने हुन्छ तर यहाँ आएर त्यस कुरालाई सन्तुलनमा राख्न भने नसकिने रहेछ। को मान्छे संग कस्तो बोल्ने कसरी बोल्ने भन्ने कुरामा पनि फरक पर्छ। अनि कामको लागि जाँदै गर्दा ट्रेन छुटेर समयमा नपुग्दा मालिकको गाली खानुपर्छ। नेपालमा हामीले जति सजिलो सोचिन्छ अष्ट्रेलिया आएपछि त्यति सजिलो भने छैन।

काम पाउन कत्तिको गाह्रो भयो ?
अलि अलि अनुभव भएको हुँदा, हाउस किपिङ्गबाट काम सुरु गरेकोले मलाई काम पाउन खासै गाह्रो भएन।

सुरुमा कसरी काम पाउनुभएको थियो ?
जुन ठाउँमा म बस्थे त्यो नजिकै एउटा रेस्टुरेन्ट थियो। त्यहाँ गएर जब भ्याकेन्सी छ भन्ने थाहा भयो। अनि गएर केहि समय काम गरेपछि मेरो काम प्रति गरेको लगनशिलता देखेर मलाई जब दिनुभयो।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के -के हुन् ?
अष्ट्रेलियामा बस्दा आफ्नो करियरको लागि धेरै कुरा सिक्न सकिन्छ। जिन्दगीलाई कसरी ब्यालेन्स राख्ने भन्ने कुरा थाहा हुन्छ र आँफै केहि गर्छु भनेर गएको हुन्छ। आफ्नो लागि आँफै केहि गर्नुपर्छ भन्ने हुन्छ र आत्मनिर्भर बनिन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?
घरबाट टाढा छौ भनेर जथाभावी रुपमा पैसा खर्च गर्ने, साथीभाईको संगत गरेर जहाँ भन्यो त्यहि जाने र पढ्नको लागि भनेर गएको पढाईलाई निरन्तरता नदिने जस्ता कुराहरुले जीवनमा धेरै नराम्रो असर पारेको हुन्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
म नेपाली समुदायमा खासै घुलमिल छैन त्यसैले थाहा भएन।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
केहि छैन

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?के कुरा बढी सम्झना आउँछ ?
धेरै त आउदैन किनकी आफुले परिवारको लागि केहि गर्छु भनेर आएको हुँदापनि होला। कहिले कहिँ चाहिँ आमाबाबाको आँउछ,त्यहि हो।जब म एक्लै हुन्छु बाबाआमाको साथ र दिदीबहिनी संगै हुदाको पलहरु बढी सम्झना आउछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
अष्ट्रेलियाको बसाईले मलाई विशेष गरि आत्मनिर्भर हुन सिकायो किनकी यतिको बेला सम्म बाबाआमाको कमाइमा रहेको र अहिले आफैले कमाएर रमाउनुमा धेरै फरक पर्दो रहेछ। अनि परिवारको काखमा हुँदा जहिले पनि आफुलाई बच्चै जस्तो लाग्थ्यो तर परिवारबाट टाढा भएपछी बल्ल थाहा हुँदो रहेछ आखिर के हो जिन्दगी भनेर। यस्तै यस्तै कुराले आफुलाई परिपक्क पनि बनाउदो रहेछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
म अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीहरुलाई के सुझाव दिन चाहन्छु भने सबैभन्दा पहिले आफुमा निडरको भावना जगाउनु पर्छ। अनि जे कुरापनि गर्छु भन्नु पर्छ चाहे त्यो काम सानो होस् या ठुलो। अझ विशेष गरि नेपालबाट नै केहि कुराहरु सिकेर आउँदा राम्रो हुन्छ, जस्तै:ड्राइभिङ। यसरी कामहरु सिकेर आउदा काम पाउने सम्भावना धेरै हुन्छ।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
उनीहरुलाई हरेक परिस्तिथिमा सपोर्ट गर्ने, कुनै पनि कुरामा दबाब नदिने चाहे त्यो आर्थिक रुपमा होस् या शारीरिक रुपमा भन्न चाहन्छु।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
धेरै सम्झना।