अष्ट्रेलियाको भिक्टोरियामा धुमधामका साथ मनाइयो छठ पर्व (फोटो फिचर)

0
338

अष्ट्रेलियाको भिक्टोरियामा धुमधामका साथ छठ पर्व मनाइएको छ। मधेसी समाज भिक्टोरियाको आयोजनामा सामूहिक रुपमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गर्दै छठ पर्व मनाइएको हो।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मधेसी समाज भिक्टोरियाले छठ पर्व विशेष कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रम व्रतालुहरुका लागि घाटमा पूजा र औपचारिक रुपमा जुम मार्फत भर्चुअल कार्यक्रम गरी समापन गरिएको छ। एड्वार्ड्स लेक पार्कलाई घाटको रुपमा मान्दै व्रतालुहरु पूजामा सहभागी भएका थिए।

व्रतालुहरुले १० नोभेम्बर बुधबार साँझ ४:३० देखी ८:३० बजेसम्म अस्ताउँदो सूर्यलाई पूजा गरेर र नोभेम्बर ११, बिहीबार बिहान ५:३० बजे देखि ८:३० बजेसम्म उदाउँदो सूर्यलाई पूजा गरेर हर्षोल्लासका साथ छठ पूजा गरेका थिए। व्रतालुहरुको सहजताका लागि स्वयंसेवकहरु स्वस्फूर्त रुपमा घाट तथा पूजा व्यवस्थापनमा खटेका थिए।

कोभिड-१९ का कारण सामाजिक दूरीको नियमलाई पालना गर्दै औपचारिक कार्यक्रम भर्चुअल रुपमा गरिएको थियो। औपचारिक कार्यक्रममाविल्स क्षेत्रबाट संघिय सांसद पिटर खलिल, प्रेस्टन क्षेत्रबाट सांसद रबिन स्कट, थोमसटाउन क्षेत्रबाट सांसद ब्रोनविन हाफपेनी, भिक्टोरियाका लागि नेपालका तर्फबाट महावाणिज्यदुत चन्द्र योञ्जन विशेष अतिथिको रुपमा रहनुभएको थियो।

त्यसैगरि कार्यक्रमा एएनएमसीका अध्यक्ष राजेश आचार्य, न्याभका अध्यक्ष राम गुरुङ, एसोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टाका) महासचीव कन्चन ठाकुर, एनआरएनए भिक्टोरीया संयोजक हरि खड्का, एएनपीएलका अध्यक्ष निराजन गौली, फेन्काबाट राजु अधिकारी लगायत भिक्टोरीयामा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा सहभागी हुनुभएको थियो। उक्त कार्यक्रममा छठ शुभकामना आदान-प्रदान गरिएको थियो भने अतिथिहरुले अष्ट्रेलियामा रहेर मधेसी समुदायले आफ्नो संस्कृति संरक्षण तथा सम्बर्द्धनका लागि गरेको प्रयासको प्रशंसा गर्नुभएको थियो।

छठ विशेष कार्यक्रमलाई प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको थियो। कार्यक्रमलाई कोभिड सम्बन्धि सचेतनामुलक पनि बनाइएको थियो। भिक्टोरीया सरकारको प्रतिनिधीत्व गर्दै सुवेश पन्त र ज्योती चौधरीले कार्यक्रममा कोभिड-१९ सम्बन्धि सचेतना सेसन संचालन गर्नुभएको थियो।

मधेसी समाज भिक्टोरियाका अध्यक्ष डा सुरेन्द्र रौनियारले एड्वार्ड्स लेक पार्कमा पूजा गर्ने अनुमति दिने सिटि काउन्सिल तथा स्थानीय निकाय, औपचारिक कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, सम्पूर्ण प्रायोजक संस्था, एड्वार्ड्स लेक पार्कमा सहभागी सम्पूर्ण व्रतालु तथा श्रद्धालुहरु, कार्यक्रमलाई व्यवस्थित बनाउन सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, आयोजकको तर्फबाट खटिएका सम्पूर्ण सदस्य लगायत कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ।

अध्यक्ष डा रौनियारले कार्यक्रमको सफलताले थप हौसला मिलेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने उल्लेख गर्नुभयो। उहाँले समग्र नेपाली समुदायको हित र समृद्धिका लागि मधेसी समाज सधै तत्पर रहेको र सबैसंग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।