अष्ट्रेलियाको भिक्टोरियामा न्याभद्वारा मल्टिकल्चरल सकर टुर्नामेन्टको आयोजना, १२ टिम सहभागी हुँदै

0
179

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा बृहत सकर टुर्नामेन्ट हुनेभएको छ। भिक्टोरियामा बस्ने नेपालीहरुको साझा संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले ‘दोस्रो न्याभ मल्टिकल्चरल सकर टुर्नामेन्ट’को आयोजना गरेको हो।

नेपाली समुदायको चौतर्फी हित तथा समृद्धिका लागि क्रियाशील न्याभले विभिन्न खेलकुद टुर्नामेन्ट गर्दै आएको छ। न्याभले आयोजना गर्न लागेको मल्टिकल्चरल सकर टुर्नामेन्टको यो दोस्रो सिजन हो। गत वर्ष कोभिडका कारण टुर्नामेन्ट हुन पाएको थिएन। त्यसैले पनि यसपालीको टुर्नामेन्टका लागि सबैमा अझ बढी उत्साह र उत्सुकता देखिएको न्याभका उपाध्यक्ष तथा टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेती बताउनुहुन्छ।

मल्टिकल्चरल टुर्नामेन्टमा नेपाली समुदाय लगायत अन्य समुदायबाट सहभागी टिमले प्रतिस्पर्धा गर्ने गर्छन्। टुर्नामेन्टका बारेमा जानकारी दिंदै संस्थाका उपाध्यक्ष तथा टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेती भन्नुहुन्छ,” नेपाली समुदायमा राम्रा सकर खेलाडीहरु हुनुहुन्छ। त्यसैगरी नेपाली समुदायका फुटबल टिमहरुले पनि आफ्नो स्थान बलियो बनाउनका लागि मेहनत गरिरहेका छन्। नेपाली खेलाडी तथा नेपाली टिमसंगै अन्य समुदायका खेलाडीलाई पनि एउटा राम्रो प्लाटफर्म सिर्जना गर्न सकौं र समुदाय-समुदाय बीचमा आपसी सद्भाव र मेलमिलापको वातावरण निर्माणमा सघाउ पुगोस् भन्ने उद्देश्यले टुर्नामेन्टको आयोजना गरेका हौँ “। उहाँ थप्नुहुन्छ, “हाम्रो उद्देश्य प्राप्तिका लागि हातेमालो गर्नुहुने संघसंस्था, प्रायोजक संस्थाहरु र भिक्टोरिया बहुसांस्कृतिक आयोगप्रति हामी आभारी छौं “।

यो सकर टुर्नामेन्टमा मेलबर्नमा स्थापित क्लब रोयल वेस्टर्न क्लबले पनि सहकार्य गरेको छ। टुर्नामेन्टका बारेमा विस्तृत जानकारी दिंदै रोयल वेस्टर्न क्लबका उपाध्यक्ष रोशन दाहालले भन्नुभयो, ” यसपाली टुर्नामेन्टमा बाह्र टिम सहभागी हुँदैछन्। यति धेरै टिमको सहभागिताका कारण पनि टुर्नामेन्ट अहिले देखि नै हामी सबैका लागि उत्साहजनक बनिरहेको छ। त्यसमा पनि मल्टि डायनामिकले सेमी-फाइनल र फाइनल खेलमा गोल गर्ने खेलाडीलाई प्रति गोल ५० डलर र ह्याट्रिक गर्ने खेलाडीलाई २ सय डलर पुरस्कारको घोषणा गरेको छ। यसले गर्दा पनि थप हौसला र उत्सुकता बढेको छ। यसका लागि मल्टि डायनामिकप्रति हामी सबै आभारी छौं “।

टुर्नामेन्टलाई मल्टि डायनामिकले मूख्य प्रायोजन गरेको छ भने एपीबी पार्ट्नर्स सह-प्रायोजकको रुपमा रहेको छ। टुर्नामेन्टका बारेमा बुधबार हंग्री आइ फ्युजन एण्ड बार रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो। हंग्री आई यस टुर्नामेन्टको हस्पिटालिटी पार्टनर समेत रहेको छ।

पत्रकार सम्मेलनमा न्याभका अध्यक्ष राम गुरुङ र रोयल वेस्टर्न क्लबका अध्यक्ष बोम योञ्जनले संस्थाका तर्फबाट आयोजक समितिले गरिरहेको प्रयासको प्रशंसा गर्नुभएको थियो। टुर्नामेन्टको मूख्य प्रायोजक संस्था मल्टि डायनामिकका विनित राज शर्माले मल्टि कल्चरल सकर टुर्नामेन्ट जस्तो बृहत कार्यक्रम आयोजना गरेकोमा न्याभलाई धन्यवाद दिंदै नेपाली समुदायको समृद्धिका लागि गरिने यस्ता प्रयासहरुमा आफूहरुको सधै साथ रहने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा उपस्थित प्रायोजक संस्थाका प्रतिनिधिहरुले टुर्नामेन्टमा जोडिने अवसर मिलेकोमा खुसी व्यक्त गर्दै टुर्नामेन्टको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। पत्रकार सम्मेलनलाई न्याभका कोषाध्यक्ष डा एकिन्द्र तिमिल्सिनाले संचालन गर्नुभएको थियो।

दोस्रो न्याभ टुर्नामेन्टमा रोयल वेस्टर्न क्लव, यती फुटबल क्लव, एभरेस्ट युनाइटेड क्लव, रेन्जर्स, हिमालयन फुटबल क्लव, एसियन फुटबल क्लव, अल्बियोन थन्डर्स, द हिमालयन टाइगर्स, कुयोङ्ग युनाइटेड, मेल्बर्न लाबासा एफ ए र डिडि एफ सी प्रतिस्पर्धा गर्दैछन्। टुर्नामेन्ट रिचार्ड रिजर्भ कोबर्ग, ३४ चार्ल्स स्ट्रीट कोबर्गमा यहि १३ र १४ नोभेम्बरको दिन हुनेछ।