अष्ट्रेलियामा आफ्नो संस्कृति प्रबर्द्धन गर्दै मधेसी समुदाय, भिक्टोरियामा हुँदैछ छठ पर्व विशेष भव्य कार्यक्रम

0
84

मेलबर्न। अष्ट्रेलियामा रहेर पनि मधेसी समुदायले आफ्नो कला र संस्कृतिलाई अंगालिरहेको छ। साथसाथै विदेशमा आफ्नो कला-संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धनमा महत्त्वपूर्ण प्रयासहरु गर्दै आइरहेको छ। भिक्टोरियामा बसोवास गरिरहेका मधेसी समुदायको साझा संस्था मधेसी कम्युनिटी भिक्टोरियाले हरेक वर्ष भव्य रुपमा छठ पर्व मनाउँदै आएको छ।

यस वर्ष पनि मधेसी कम्युनिटी भिक्टोरियाले भव्य कार्यक्रमको आयोजना गरेको छ। भिक्टोरियामा २०१२ देखि छठ विशेष कार्यक्रम आयोजना गर्दै आएको बताउँदै संस्थाका अध्यक्ष डा. सुरेन्द्र रौनियार भन्नुहुन्छ, “गत वर्ष कोभिडका कारण हामीले छठ पर्व भर्चुअल रुपमा मनायौं। यसपाली भने परिस्थिति केही सहज भएकाले जम्मा भएर नै मनाउने तयारी गरेका छौं। तर पूजा गर्ने ठाउँमा भने भ्याक्सिनको दुवै डोज लगाएका मात्र जान पाउनुहुनेछ। त्यसैले हामीले सबैलाई समेट्ने गरी भर्चुअल कार्यक्रम पनि राखेका छौं। पूजा गर्ने ठाउँमा स्वयंसेवक र व्रतालुहरु हुनुहुनेछ भने भर्चुअल कार्यक्रममा यहाँको सरकारका विभिन्न निकायका व्यक्तिहरु र नेपाली संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा रहनुहुनेछ”।

अध्यक्ष डा. रौनियार भन्नुहुन्छ, “हाम्रो कला संस्कृतिको सम्बर्द्धन, प्रबर्द्धन र दोस्रो पुस्तामा हस्तान्तरण हाम्रो मूख्य उद्देश्य हो। त्यसैले हाम्रो कार्यक्रम मात्र नभएर अष्ट्रेलियामा आयोजना हुने सबै छठ कार्यक्रमहरु हामीले हाम्रो फेसबुक पेज मार्फत लाइभ प्रसारण गर्नेछौं। सम्पूर्ण नेपाली समुदायलाई भर्चुअल रुपमै भएतापनि कार्यक्रममा सहभागी भइदिनुहुन आग्रह गर्दै छठ पर्वको शुभकामना दिन चाहन्छु “।

संस्थाले छठको प्रसाद लिन इच्छुकहरुका लागि विभिन्न चार ठाउँबाट प्रसाद वितरण गर्ने पनि जनाएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरुसंगै बालबालिकाका लागि मनोरन्जनात्मक कार्यक्रम पनि रहनेछ।

प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीद्वारा मूख्य प्रायोजित छठ कार्यक्रमलाई भिक्टोरियाको बहुसांस्कृतिक कार्यक्रमको समेत सहयोग रहेको छ। कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने प्रयास गरिएको बताउँदै कार्यक्रम संयोजक गोपाल शाह भन्नुहुन्छ,”कार्यक्रममा कोभिड भ्याक्सिनको बारेमा समेत जानकारी दिइनेछ। यो जानकारी सेसनका लागि हामीलाई नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले सहयोग गरेको छ। कार्यक्रम सफल बन्नेमा हामी विश्वस्त छौं। यसका लागि हामीलाई सहयोग गर्नुहुने सबै प्रायोजक संस्थाहरुप्रति म मधेसी कम्युनिटीको तर्फबाट धन्यवाद दिन चाहन्छु “।

आगामी १० नोभेम्बर बेलुका र ११ नोभेम्बर बिहानमा हुने यो कार्यक्रमलाई गार्डेनभ्यू होम्सले सह प्रायोजन गरेको छ। कार्यक्रम एड्वार्ड्स लेक पार्कमा हुनेछ। अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको समय पारेर कार्यक्रम १० नोभेम्बरमा दिउँसो १:३० देखि राती ८:३० बजेसम्म र ११ नोभेम्बरमा बिहान ५:३० बजेदेखि ८:३० बजेसम्म हुनेछ। कार्यक्रम सम्बन्धी थप जानकारी तलको समय तालिकाबाट थाहा पाउन सक्नुहुनेछ :

छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।