‘अष्ट्रेलियामा बल्ल बल्ल समय मिलाएर टीका लगाउने हो, देउसी-भैलो खेल्ने फुर्सद हुँदैन’

0
130

घर परिवारसंग टाढा हुँदा परिवारको याद आउनु स्वाभाविक हो। अझ विशेष दिन र चाडपर्वमा टाढा रहँदा खल्लो महसुस हुन्छ। हिमालयन कंगारुले यो खल्लोपनलाई केही हदसम्म कम गर्ने उद्देश्यका साथमा ‘तिहार टक’ विशेष स्तम्भ सुरु गरेको छ।

यसै सन्दर्भमा अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका विपिन सेवासंगको विशेष कुराकानी:

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया कहिले आउनुभएको हो ?
मेरो नेपालमा घर पोखरा हो। अष्ट्रेलिया आएको पाँच वर्ष भयो ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
पढाई सकेर काम गर्दै छु।

तिहार नजिकिंदै छ, तिहार भन्नासाथ तपाईंलाई के कुराको याद आउँछ?
तिहार भन्ने बित्तिकै मलाई देउसी भैलो खेलेको याद आउँछ।

अष्ट्रेलियाको नेपाली समुदायमा तिहारको बेलामा तास कत्तिको खेलिन्छ?
मलाई त तास खेल्न पनि आउदैन र खेलेको मन पनि पर्दैन, त्यसैले थाहा भएन।

अष्ट्रेलिया गएपछि देउसी-भैलो खेल्नुभएको छ?
कामबाट बल्ल बल्ल समय मिलाएर टिका लगाउने, दिदी बहिनिसँग मिलेर मिठो-मिठो खानेकुरा बनाएर खाने, घरमा फोन गरेर बोल्ने गर्छौ। देउसी-भैलो खेल्ने फुर्सद नै मिल्दैन यहाँ, त्यसैले खेलेको छैन।

तिहारको कुन परिकार सबैभन्दा बढी मन पर्छ?
मलाई मन पर्ने सेल रोटी, फुराएको ढुम्रा र झिलिङ्गा हो।

अष्ट्रेलियामा तिहार मनाउँदा सेलरोटी बनाउने गर्नुभएको छ?
बनाएको छु एकचोटी (हाँस्दै),दिदीहरुसँग, त्यो पनि फोटो खिच्नको लागि।

अष्ट्रेलियामा रहँदा तिहारको टीका लगाउने / लगाइदिने मौका पाउनुभएको छ कि छैन?
मेरो आफ्नै दिदी नजिकै हुनुहुन्छ, त्यसैले लगाएको पनि छु अनि लगाइदिएको पनि छु।

यसपालीको तिहार कसरी मनाउने योजना बनाउनुभएको छ?
सधैँ जस्तै गरेर, त्यो विशेष केही छैन । टीका लगाउने, मिठो मिठो बनाएर खाने, त्यही हो।

विदेशमा हुँदा मनाउने तिहार कत्तिको रमाइलो हुनेरहेछ?
नेपालमा जस्तो रमाइलो त हुँदैन तर रमाइलो मान्न पर्छ।

पछिल्लो पटक, कुन वर्षको तिहारमा नेपाल हुनुहुन्थ्यो?
पाँच वर्ष अगाडीको तिहार नेपालमा मनाएको थिए।

नेपालमा तिहार मनाउँदाको के कुरा सबैभन्दा बढी मिस गर्नुहुन्छ?
साथीहरु सँग देउसी-भैलो खेलेको धेरै याद आउँछ।

तपाईंको बाल्यकालको तिहारको केही सम्झना छन् कि?
मखमली माला, भाइ फूलको माला लगाउन भनेर बसेको धेरै सम्झना आउँछ।

नेपालमा हुनुहुने तपाईंको दिदी-बहिनी / दाजुभाइलाई केही संदेश दिन चाहनुहुन्छ?
दिपावलीको धेरै धेरै शुभकामना सम्पूर्ण नेपाली दिदी-बहिनी / दाजुभाइलाई। राम्रो सँग तिहार मनाउनु भन्न चाहन्छु।