अष्ट्रेलियामा तिहार : तिहार भन्ने बित्तिकै मेरो भाइको याद आउँछ

0
194

घर परिवारसंग टाढा हुँदा परिवारको याद आउनु स्वाभाविक हो। अझ विशेष दिन र चाडपर्वमा टाढा रहँदा खल्लो महसुस हुन्छ। हिमालयन कंगारुले यो खल्लोपनलाई केही हदसम्म कम गर्ने उद्देश्यका साथमा ‘तिहार टक’ विशेष स्तम्भ सुरु गरेको छ।

यसै सन्दर्भमा अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएकी प्रकृति भुजेलसंगको विशेष कुराकानी:

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया कहिले आउनुभएको हो?
मेरो नेपालमा घर चितवन हो। म २०१८ मा अष्ट्रेलिया आएकी हूँ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
अहिले म पढाईलाई निरन्तरता दिदै छु।

तिहार नजिकिंदै छ, तिहार भन्नासाथ तपाईंलाई के कुराको याद आउँछ?
तिहार भन्ने बित्तिकै मेरो भाइको याद आउँछ।

अष्ट्रेलियाको नेपाली समुदायमा तिहारको बेलामा तास कत्तिको खेलिन्छ?
म खासै खेल्दिन त्यसैले पनि अरु खेलेको थाहा छैन।

अष्ट्रेलिया गएपछि देउसी-भैलो खेल्नुभएको छ?
खेलेको छैन, नेपालमा जस्तो देउसी-भैलो खेल्ने वातावरण अष्ट्रेलियामा नभएको भएर पनि होला सायद, खेलिदैन।

तिहारको कुन परिकार सबैभन्दा बढी मन पर्छ?
तिहारमा धेरै मिठो मिठो परिकारहरु हुन्छ, तर मलाई सेल रोटी धेरै नै मन पर्छ।

अष्ट्रेलियामा तिहार मनाउँदा सेलरोटी बनाउने गर्नुभएको छ?
सधैंको तिहारमा आफै पकाएकी छु र सबै मिलेर खाने गर्छौ।

अष्ट्रेलियामा रहँदा तिहारको टिका लगाउने / लगाइदिने मौका पाउनुभएको छ कि छैन?
पछिल्लो वर्षको तिहारमा लगाएकी थिए अनि लगाईदिएकी पनि थिए।

यसपालीको तिहार कसरी मनाउने योजना बनाउनुभएको छ?
अहिले तिहार मनाउने योजना छैन किनकि टिका लगाउन कोहि हुनुहुन्न दाइहरु पनि बाहिर जानु भएको छ।

विदेशमा हुँदा मनाउने तिहार कत्तिको रमाइलो हुनेरहेछ?
आफ्नै गाउँ ठाउं नेपालकै रमाइलो तिहार विदेशमा भन्दा त।

पछिल्लो पटक, कुन वर्षको तिहारमा नेपाल हुनुहुन्थ्यो?
२०१८ मा तिहार मनाएर अष्ट्रेलिया आएकी हूँ म।

नेपालमा तिहार मनाउँदाको के कुरा सबैभन्दा बढी मिस गर्नुहुन्छ?
मलाई मेरो भाइ अनि देउसी-भैलो खेलेको झिलिमिलिको रमाइलो धेरै मिस हुन्छ।

तपाईंको बाल्यकालको तिहारको केही सम्झना छन् कि?
मेरो भाइले टीका लगाउन भन्दा अगाडी नै “भाइ मसला” खाइदिने गरेको एकदम धेरै सम्झना छ।

नेपालमा हुनुहुने तपाईंको दिदी-बहिनी / दाजुभाइलाई केही संदेश दिन चाहनुहुन्छ?
तिहारको शुभकामना। सबैले तिहार राम्रो संग मनाउनु मिले सम्म अर्को तिहारमा हजुरहरुको साथमा हुनेछु भन्न चाहन्छु।