अष्ट्रेलियाको भिक्टोरियामा कोभिडले निम्त्याएको दु:खमा मल्हम लगाउँदै न्याभ

0
708

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोवास गरिरहेका नेपालीहरुको साझा संस्था हो, नेपलीज एसोसिएसन अफ भिक्टोरिया, अर्थात् न्याभ। नेपाली समुदायका लागि सहायता मात्र नभई समुदायको चौतर्फी विकासका लागि पनि न्याभ उत्तिकै क्रियाशील छ। र, त्यसमा पनि यो कोभिडको समयमा न्याभले नेपाली समुदाय मात्र नभई सम्पूर्ण समुदायका लागि गरिरहेका कार्यहरु प्रभावकारी र सह्रानीय छन्।

न्याभले हालै मात्र तेस्रो चरण अन्तर्गत राहत प्याकेज वितरण गरेको छ। हाल भिक्टोरियामा वसोवास गरिरहेका विभिन्न समुदायका कोभिड प्रभावित व्यक्तिहरुलाई १८० प्याकेज वितरण गरिएको हो। संस्थाका उपाध्यक्ष प्रेम राज उप्रेतीले राहत वितरण कार्यक्रमको संयोजन गर्नुभएको छ भने कृष्ण चालिसे र ललीसा थापाले उहाँलाई साथ दिनुभएको छ। त्यसैगरी कार्यक्रमको अर्थ व्यवस्थापन संस्थाका कोषाध्यक्ष यकिन्द्र तिमील्सिनाले गर्नुभएको छ।

तेस्रो चरणमा, दुई दिनमा १८० प्याकेज वितरण गरिएको जानकारी गराउँदै उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रेमराज उप्रेती भन्नुहुन्छ, “भिक्टोरियामा अहिले कोभिडको संक्रमण द्रुत गतीमा फैलिएको छ। यस्तो अवस्थामा सबैको स्वास्थ्य सम्बन्धि जोखिमलाई मध्यनजर गर्दै कोभीड सुरक्षा प्रोटोकल अपनाएर संस्थाका कार्यकारी सदस्यहरु नै वितरण कार्यमा खट्यौं। यस अगाडीका राहत वितरण कार्यक्रममा भने हामीलाई स्वयमसेवकहरुले सहयोग गर्नुभएको थियो। अहिले यस्तो अवस्थामा पनि यसरी राहत वितरण कार्यक्रम सम्पन्न गर्न पाउँदा एकदमै खुसी र आत्मसन्तुष्टि मिलेको छ”।

यसअघि न्याभले मिल्दुरा र फिलीप आइलेण्ड क्षेत्रमा ८० राहत प्याकेज वितरण गरेको थियो भने आर्थिक अभाव भएका १८६ व्यक्ति र परिवारहरुलाई दैनिक उपभोग्य सामग्री तथा स्यानीटाईजर, मास्क लगायतका सामग्रीहरु वितरण गरेको थियो। त्यसैगरी दोस्रो चरणमा भिक्टोरीयाका रिजनल क्षेत्र सेफाटन, बालाराटका बिभीन्न काउन्सिलसँगको सहकार्यमा विभिन्न समुदाय र आदिवासीहरुलाई ९३ प्याकेज वितरण गरिएको थियो।

राहत वितरण कार्यक्रम सम्बन्धमा न्याभका अध्यक्ष राम गुरुङ भन्नुहुन्छ, ” यो महामारीको समयमा पनि हाम्रो टिमका साथीहरु यसरी खटिरहनुभएको छ। टिमको लगनशीलताका कारणले नै हाम्रा कार्यक्रमहरु प्रभावकारी भइरहेका छन्। उहाँहरु सबै धन्यवादका पात्र हुनुहुन्छ। र, हाम्रो टिमको यो उद्देश्यलाई साकार पार्न सहयोग गर्नुहुने भिक्टोरियन सरकार सांसद Ros Spence, भिक्टोरियन बहुसांस्कृतिक आयुक्त अध्यक्ष Viv Nguyen, भिक्टोरियन बहुसांस्कृतिक आयुक्त उपाध्यक्ष Bwe Thay, परशुराम शर्मा- लुइटेल जेपी, समुदायका अग्रज नेताहरु, वितरणमा सहयोग गर्नुहुने नरेन्द्र मल्ल ठकुरी, सम्पूर्ण स्वयम्सेवक लगायत सम्पूर्ण व्यक्तित्वहरुलाई विशेष धन्यवाद दिन चाहन्छु “।

न्याभले राहत वितरण संगै कोभिडबाट बच्नका लागि अपनाउनुपर्ने रोकथामका उपाय, कोभिड भ्याक्सिनबारे सचेतना, लकडाउनका कारण व्यक्ति, परिवार र समुदायको मानसिक स्वास्थ्यमा परेको असर र सोको न्यूनीकरणको लागि अपनाउनु पर्ने सावधानी लगायत कार्यक्रमहरु गर्दै आइरहेको छ।