‘अष्ट्रेलियामा काम गरेर फुर्सद मिलेपछि बल्ल दसैं मनाउने हो, त्यसैले खल्लो हुन्छ’

0
68

घर परिवारसंग टाढा हुँदा परिवारको याद आउनु स्वाभाविक हो। अझ विशेष दिन र चाडपर्वमा टाढा रहँदा खल्लो महसुस हुन्छ। हिमालयन कंगारुले यो खल्लोपनलाई केही हदसम्म कम गर्ने उद्देश्यका साथमा ‘दशैं टक’ विशेष स्तम्भ सुरु गरेको छ।

यसै सन्दर्भमा अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका सरोज वैद्या संग गरिएको विशेष कुराकानी:

नेपालमा तपाईंको घर कहाँ हो ?
काठमाडौं, मैतीदेवी हो। अष्ट्रेलिया आएको त धेरै भइसयो। म २००७ मा आएको हूँ।

दशैं नजिकिंदै छ, दशैं भन्नासाथ तपाईंलाई के कुराको याद आउँछ ?
दशैं सबैभन्दा ठूलो चाड मानिन्छ हामीहरुको लागि। त्यही भएर पनि सबै परिवारको साथै सबै साथी भाइसँग घुमेको खेलेको याद आउँछ।

यसपालीको दशैं कसरी मनाउने योजना बनाउनुभएको छ ?
लकडाउन छ अहिले त। बाहिरको कोहि बोलाउन पाइदैन। त्यसैले घरमै परिवार मिलेर टिका लगाउने मिठो मिठो बनाएर खाने योजना छ।

विदेशमा हुँदा मनाउने दशैं कत्तिको रमाइलो हुनेरहेछ ?
नेपालमा जस्तो राम्रो तरिकाले मनाउन त पाईदैन, नेपालमा मनाइने दशैं भनेर कामबाट बिदा पाईदैन। काम गरेर कति बेला फुर्सद मिल्छ अनि घरमा रुममा आएर मनाउने हो। त्यसैले पनि विदेशको दशैं खल्लो नै भन्नु पर्छ ।

पछिल्लो पटक, कुन वर्षको दशैंमा नेपाल हुनुहुन्थ्यो ?
पहिला पहिला त जाने आउने गरिरहन्थे तर अहिले पछिल्लो समयमा म ३ वर्ष अगाडी थिए।

नेपालमा दशैं मनाउँदाको के कुरा सबैभन्दा बढी मिस गर्नुहुन्छ ?
आफन्तीहरुसँग भेटघाट हुन्थ्यो बिहानै उठेर मन्दिर गइन्थ्यो, मान्यजनसँग टिका लगाएर आशिर्वाद लिदै हिडीन्थ्यो। यस्ता कुराहरु धेरै याद आउँछ

दशैंको सबैभन्दा दिक्क लाग्ने कुरा के हो ?
खासै त्यस्तो केहि छैन।

तपाईंको बाल्यकालको दशैंको केही सम्झना छन् कि ?
१ महिना अगाडी बाट स्कुल बिदा हुन्थ्यो पढ्न जान पर्थेन, नयाँ नयाँ लुगा किन्न गएको, पिङ्गको लागि गाउँमा पैसा उठाको, दशैंको लागि खसी किनेर ल्याएको धेरै सम्झनाहरु छन्।

नेपालमा हुने आफन्तजनलाई दशैं विशेष केही संदेश दिन चाहनुहुन्छ कि ?
नेपालीहरुको ठूलो चाडपर्व भएकोले दशैँ मनाउन त पर्छ नै तर अहिले कोभिडको समय छ त्यसैले सुरक्षा अपनाएर रमाइलो सँग मनाउनु होला। “ह्याप्पी दशैं” भन्न चाहन्छु।