मेलबर्नमा भोली हुने कार्यक्रममा संघीय मन्त्री कोलम्यान लगायत विशिष्ट व्यक्तिहरुको सम्बोधन

0
90

मेलबर्न। मेलबर्न। अष्ट्रेलिया नेपाल पब्लिक लिंक (एएनपीएल) नेपाली समुदायमा स्थापित सामाजिक संस्था हो। एएनपीएल विशेषगरी नेपाली मानसिक स्वास्थ्य सम्बन्धि चेतना जागरण गर्ने संस्थाको रुपमा परिचित छ। आफ्नो सोही कार्यलाई निरन्तरता दिंदै संस्थाले मानसिक स्वास्थ्य दिवसका दिन विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर १० का दिन मनाउने गरिन्छ। यस वर्षको मानिसक स्वास्थ्य दिवसको मुख्य नारा ‘Mental health care for all: let’s make it a reality’ भन्ने रहेको छ। यसै नारालाई पछ्याउंदै एएनपीएलले पनि विशेष कार्यक्रमका साथ मानसिक स्वास्थ्य दिवस मनाउने तयारी गरेको हो।

कार्यक्रममा माननीय संघीय मन्त्री डेभिड कोलम्यानले विशेष सम्बोधन गर्नुहुनेछ। कोलम्यान मानसिक स्वास्थ्य तथा आत्महत्या निरुत्साहन विभागका लागि प्रधानमन्त्रीको सहायक मन्त्रीको रुपमा कार्यरत हुनुहुन्छ। त्यसैगरी, राज्य मन्त्री ल्युक डोनेलन, विल्स भिक्टोरियाका सदस्य तथा माननीय एमपी पिटर खलिल र माननीय पिटर प्रिमरोजले समेत कार्यक्रममा सम्बोधन गर्नुहुनेछ।

आयोजक संस्था एएनपीएलका अध्यक्ष निराजन गौली भन्नुहुन्छ, “यो कार्यक्रम यस अर्थमा पनि विशेष हुनेछ कि, नेपाली समुदायमा मानसिक स्वास्थ्य सम्बन्धि समस्याबाट निको हुनुभएका व्यक्तिहरुले कार्यक्रममा आफ्ना अनुभव सुनाउनु हुनेछ। यसले हामीलाई सजगता अपनाउन, समाधानका उपाय निकाल्न र मानसिक स्वास्थ्य सम्बन्धि खुलेर कुरा गर्ने वातावरण सिर्जना गर्नका लागि ठूलो सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु। त्यसैले कार्यक्रममा सहभागी हुनका लागि म सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु। भर्चुअल रुपमै आयोजना हुने हुनाले कार्यक्रममा सहभागिताका लागि सबैलाई सहज पनि हुनेछ”।

कार्यक्रममा नेपालीहरूको मानसिक स्वास्थ्य अवस्था साथै यसबारे उनीहरूको बुझाइका बारेमा वेस्टर्न सिड्नी युनिभर्सिटी र एएनपीएलको संयुक्त पहलमा गरिएको अनुसन्धानको रिपोर्ट प्रस्तुत गरिने तथा कार्यक्रमको थप प्रभावकारीताका लागि सहभागीहरुसंग अन्तरक्रिया सेसन समेत राखिएको अध्यक्ष गौलीले जानकारी गराउनुभएको छ।

कार्यक्रम १० अक्टोबर अर्थात् आगामी आइतबार साँझ ६ बजे देखी ७:३० बजे सम्म हुनेछ। कार्यक्रममा पोस्टरमा दिइएको मिटिंग आइडिबाट सहभागी हुन सकिनेछ।