अष्ट्रेलिया आएदेखि नेपाल गएर दशैं मनाउन पाएकी छैन, घरको मीठो खाना र आशीर्वाद याद आउँछ

0
96

घर परिवारसंग टाढा हुँदा परिवारको याद आउनु स्वाभाविक हो। अझ विशेष दिन र चाडपर्वमा टाढा रहँदा खल्लो महसुस हुन्छ। हिमालयन कंगारुले यो खल्लोपनलाई केही हदसम्म कम गर्ने उद्देश्यका साथमा ‘दशैं टक’ विशेष स्तम्भ सुरु गरेको छ।
यसै सन्दर्भमा अष्ट्रेलियाको सिड्नी स्थित क्याम्पबेलटाउनमा बसोवास गरिरहनुभएका सम्झना बरालसंगको विशेष कुराकानी :

नेपालमा तपाईंको घर कहाँ हो ? अष्ट्रेलिया कहिले जानुभएको हो ?
काठमाडौं, कोटेश्वर हो। म अष्ट्रेलिया आएको त धेरै भयो। २००८ मा आएकी हूँ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
नर्स हूँ। पढाई सकेर काम गर्दै छु ।

दशैं नजिकिंदै छ, दशैं भन्नासाथ तपाईंलाई के कुराको याद आउँछ ?
दशैं भन्नासाथ नेपाल नै याद आउँछ। मलाई मेरो घर परिवारको र साथी भाइसँग रमाएको धेरै याद आउँछ।

यसपालीको दशैं कसरी मनाउने योजना बनाउनुभएको छ ?
अहिले त लकडाउन छ, दशैं सम्म खुल्यो भने मिठो मिठो खाने कुरा बनाएर खाने, टिका लगाउने, रमाइलो गर्ने सोच छ।

विदेशमा हुँदा मनाउने दशैं कत्तिको रमाइलो हुनेरहेछ ?
नेपालमा बसेर मनाएको जस्तो रमाइलो त हुँदैन। त्यही पनि मनाउछौ सबै नेपाली साथीहरु मिलेर खुसी नै छौं।

पछिल्लो पटक, कुन वर्षको दशैंमा नेपाल हुनुहुन्थ्यो ?
अष्ट्रेलिया आएदेखि नेपालमा दशैं मनाएकी छैन, म अष्ट्रेलिया आउनुभन्दा अगाडी नेपालमा दशैं मनाएकि थिएँ।

नेपालमा दशैं मनाउँदाको के कुरा सबैभन्दा बढी मिस गर्नुहुन्छ ?
मलाई हजुरबाबा हजुरआमा बाबा ममीहरुले दिनु भएको मिठो मिठो खाना र आशिर्वादको धेरै याद आउछ।

दशैंको सबैभन्दा दिक्क लाग्ने कुरा के हो ?
सबै राम्रो छ दिक्क लाग्ने केहि छैन त्यस्तो।

तपाईंको बाल्यकालको दशैंको केही सम्झना छन् कि ?
बाल्यकालको दशैं भन्ने बित्तिकै साथीहरु सँग मिलेर आफूभन्दा ठुला सँग टिका लगाउदै हिडेको, पैसा कसको कति भयो भनेर गनेको, तास खेलेको (हाँस्दै ) र मामा घर टिका लगाउन गएको धेरै सम्झना आउँछ।

नेपालमा हुने आफन्तजनलाई दशैं विशेष केही संदेश दिन चाहनुहुन्छ कि ?
सबैलाई दशैंको विशेष शुभकामना छ। रमाइलो गर्नु सधैँ खुसी रहनु भन्न चाहन्छु।