अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु आउन नपाउने हुन् त? के हो यो पाइलट प्रोजेक्ट ?

0
340

मेलबर्न। कोरोना महामारी फैलिएपछि अष्ट्रेलियाको अन्तर्राष्ट्रिय बोर्डर २०२० मार्च देखि बन्द छ। यसको मारमा सबैभन्दा बढी विद्यार्थीहरु परिरहेका छन्। अन्य देशका लागि योजना बनाएका ती देशबाट छुट्टीको समयमा नेपाल आएका विद्यार्थीहरु धमाधम फर्किंदै गर्दा अष्ट्रेलिया पढ्ने योजना बनाएका र अष्ट्रेलियाबाट छुट्टीमा आएका विद्यार्थीहरु भने अन्योलमा छन्।

यसैबीच अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यले अन्तर्राष्ट्रिय विद्यार्थीहरु भित्र्याउने योजना अघि सारेको छ। न्यू साउथ राज्यका डेप्युटी प्रिमियर जोन बारालारोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाइलट प्रोजेक्ट अन्तर्गत विद्यार्थीहरु भित्र्याइने बताएका छन्। पहिलो चरणमा ६५० जनाको क्षमता भएको र सम्पूर्ण मापदण्ड पुरा भएको पुनर्स्थापित भवनमा विद्यार्थीहरुलाई राखिने बताइएको छ।

न्यू साउथ वेल्सले यो वर्षको अन्त्यमा विद्यार्थीहरु ल्याउने बताएको छ। तर त्यसमा चीन र नेपालका विद्यार्थीहरु नपर्ने उल्लेख गरिएको छ। जसले गर्दा नेपाली विद्यार्थीमा झन् निराशा छाएको छ। यसै सन्दर्भलाई लिएर हामी डाँफे कन्सल्टेन्सी मेलबर्नका डाइरेक्टर तथा रजिस्टर्ड माइग्रेसन एजेण्ट सन्तोष कर्णजीसंग विशेष कुराकानी गरेका छौं।

न्यू साउथ वेल्सले घोषणा गरेको पाइलट प्रोजेक्ट बारे विस्तृत जानकारी गराइदिनुहोस् न !
कोभिड-१९ ले निम्त्याएको अवस्थाका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया आउनबाट बन्चित भएका छन्। अर्कोतिर महामारी नियन्त्रणमा पनि आएको छैन। यसैलाई मध्यनजर गर्दै कोरोना संक्रमणको स्थितिलाई नियन्त्रण गर्न सकिने हिसाबले विद्यार्थीलाई पाइलट प्रोजेक्ट अन्तर्गत ल्याउन लागेको बुझिएको छ। यो चार्टर फ्लाइट हुनेछ। यहाँ आइसकेपछि विद्यार्थी क्वारेण्टिनमा बस्नुपर्नेछ र सम्पूर्ण खर्च विद्यार्थीले व्यहोर्नुपर्नेछ। ६५० जनाको क्षमता भएको पुनर्स्थापित भवन तयार रहेको बताइएको छ, तर पहिलो चरणमा ५ सय जना मात्र विद्यार्थी ल्याउने तयारी रहेको बुझिएको छ।

कुन-कुन देशका विद्यार्थीहरु यो पाइलट प्रोजेक्ट अन्तर्गत अष्ट्रेलिया आउन सक्नेछन् ?
न्यू साउथ वेल्सले हालका लागि पहिलो चरणमा सिंगापुर, थाइल्याण्ड, अमेरिका, मलेसिया, हङकङ र जापान लगायत देशबाट विद्यार्थी ल्याउने र चीन अनि नेपालका विद्यार्थी यसमा नपर्ने बताएको छ। तर यो पहिलो चरण कत्तिको व्यवस्थित गर्न सक्छ र योजना अनुसार कत्तिको सफल हुन सक्छ, त्यो अनुसार अरु चरणमा अरु देशका विद्यार्थीहरु ल्याउन सक्छ।

नेपालका विद्यार्थीहरु यो चरणमा नपर्नुको कारण के होला ?
एउटा त अष्ट्रेलियामा मान्यता प्राप्त खोपहरु फाइजर, जोनसन एण्ड जोनसन, मोडेना र एष्ट्राजेनेकाको दुवै डोज लगाएका विद्यार्थी हेरिएको छ। अर्को कुरा, नेपालमा अझै पनि संक्रमण नियन्त्रणमा आइसकेको छैन, नयाँ-नयाँ भेरियनट देखा परेका छन्। अहिले जति पनि देशलाई समावेश गर्ने भनेको छ, ती देशमा संक्रमणको जोखिम न्यून छ।

अन्य चरणमा नेपालका विद्यार्थीहरु पर्न सक्ने सम्भावना कत्तिको रहेको छ ?
पहिलो चरणमा जुन देशलाई समावेश गर्ने भनिएको छ, ती देशबाट आउने विद्यार्थीहरुको संख्या अत्यन्त कम छ। अष्ट्रेलिया आउने अधिकांश विद्यार्थीहरु भारतीय, नेपाली र चिनीयाँ हुन्। अष्ट्रेलियाको अर्थतन्त्रका लागि यी विद्यार्थीहरु बलियो खम्बा हुन्। त्यसैले पनि सम्भावना रहन्छ। तर यहाँको सरकारले यहाँका आफ्ना नागरिकलाई संक्रमणको जोखिममा राख्न पनि चाहँदैन। जे होस्, यो पहिलो चरणको प्रोजेक्टको नतिजा राम्रो भयो भने चाहिं आशा गर्ने ठाउँ छ।

यस सन्दर्भमा अष्ट्रेलियाका अन्य राज्यबाट कस्तो अपेक्षा गर्न सकिन्छ ?
अहिले सबैको आँखा न्यू साउथ वेल्समाथि छ। न्यू साउथ वेल्सको यो पहिलो चरण सफल भयो भने निश्चय पनि अन्य राज्यले पनि कदम चाल्नेछन्। त्यसैले नेपाली विद्यार्थीहरुलाई अहिले निराश हुनुभन्दा पनि यसलाई आशाको रुपमा लिन भन्छु म। बोर्डर २०२० मार्चदेखि बन्द छ। यसबीचमा यसरी विद्यार्थीहरुकै लागि भनेर पाइलट प्रोजेक्ट आउँदै छ भने, पक्कै पनि यो सकारात्मक संकेत हो।

अष्ट्रेलियामा मान्यता पाएका कोभिड-१९ भ्याक्सिनबारे विस्तृत थाहा पाउनका लागि क्लिक गर्नुहोस् >> https://www.tga.gov.au/covid-19-vaccines-undergoing-evaluation