‘अष्ट्रेलियामा पढ्नका लागि जाने सोंचमा छु, तर पछि आएर नेपालमै पसिना बगाउने हो’

0
156

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा अफ़न्तहरु संग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले नागार्जुन ६, रामकोटमा घर हुनुभएका अरुण लामासंग कुराकानी गरेका छौ।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो?
मेरो दिदीले पठाई दिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
खुसी नलाग्ने त कुरै भएननि मेरो दिदीले मलाई सम्झिएर माया गरेर पठाई दिनुभएको छ। धेरैनै खुसी लागेको छ।

तपाईंको दिदी अष्ट्रेलिया जानुभएको कति भयो? अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ?
चार वर्ष भयो दिदी अष्ट्रेलिया जानु भएको। सिड्नीमा हुनुन्हुन्छ।

दिदी अष्ट्रेलिया गएकोमा कस्तो लाग्छ?
खुसी नै लाग्छ, नर्सिङ्ग पढेर जानु भएको हो। आफ्नो सपना पुरा गर्दै हुनुहुन्छ, करियरको बनाउने सोचमा जानुभएको छ।

चाडपर्वहरुमा दिदीको कत्तिको सम्झना आउछ?
मेरो एउटा मात्र दिदी भएर पनि होला मलाई धेरैजसो चाडपर्व खल्लो महशुस हुने गर्छ। सामाजिक सञ्जालको मध्यमले कुरा त हुन्छ, तर मान्छे नै साथमा भएको जस्तो अल्लि हुदैन नि त। प्रत्येक वर्ष आउने रक्षा बन्धन, भाइटिका जस्ता चाडमा यतिकै खाली बस्नुपर्दाको पिडा उता दिदीलाई त छँदै छ यता मलाई पनि हुने गर्छ। हाम्रो बाबा ममीलाई पनि दिदीको कमिको महशुस हुने गरेको कुरा गर्नुहुन्छ मसंग। त्यसैले पनि होला दिदीको धेरैनै याद आउने गर्छ।

नेपाल फर्किए हुन्थ्यो जस्तो लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
मेरो दिदी मलाई त सधै हाम्रो साथमै भएको राम्रो लाग्छ। त्यस्तो भनेर दिदीको लक्ष्य करियरको बारेमा पनि सोच्नु पर्छ, रोक्नु हुँदैन उहाँले गर्न चाहेको कुराहरुमा। मेरो दिदीको अष्ट्रेलिया नै बस्ने सोँच छ। त्यसैले पनि उतै बसेको राम्रो तर आउने जाने वातावारण मिलाएर मात्र भन्न चाहन्छु।

तपाई कहिँल्यै अष्ट्रेलिया जानुभएको छ या अष्ट्रेलिया जाने सोचमा हुनुहुन्छ ?
गएको त छैन तर जाने सोचमा चाहिँ छु। अहिले नै जानेथिएँ पढ्नको लागि, कोभिडले गर्दा रोकिएर बसेको छु।

अष्ट्रेलियाको के कुरा राम्रो के कुरा नराम्रो लाग्छ?
सबै राम्रो छ। त्यहाँको सरकारले दिने सुविधा, सरसफाई। अनि नियम कानुन सबै ले मान्ने भएर पनि होला राम्रो छ। नराम्रो खासै केहि छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाइलाई कस्तो लाग्छ?
आ-आफ्नो सोँच हो। आफूलाई जहाँ बस्दा राम्रो लाग्छ त्यही बस्ने त हो। त्यस्तो भनेर फेरी आफू जन्मिएको ठाउँलाई र बाबुआमा, घर परिवारलाई नबिर्सनु भन्न चाहन्छु। मेरो विचारमा नेपालमै फर्किएको राम्रो। म पनि जाँदैछु। तर मेरो अष्ट्रेलियामै बस्ने सोच छैन। भन्न त मलाई नि साथीहरुले भन्ने गर्छन् अष्ट्रेलिया गएपछि आउन मन लाग्दैन, धेरै उतै बसेका छन्। तर म मेरो बाबा ममीको लागि भएनि आउँछु। सबैको लागि एउटा उदाहारण बनेर नेपालमै आएर केहि गर्ने सोच छ। घुम्न पढ्न राम्रो ज्ञानको कुराहरु सिक्न विदेश जाने तर पसिना बगाएर मेहनत गरेर काम गर्न त नेपालमै आउनुपर्छ भन्छु म।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
सबैले आफ्नो ख्याल राख्नु। आजसम्म म जे जति गरेको छु मेरो दिदीले नै साथ दिएर हो। त्यसैले पनि धेरै मिस गरेको छु दिदी भन्न चाहन्छु।

Are you living in Australia and looking for genuine advice regarding subjects, PR, college/university ? Click Here