‘अष्ट्रेलियामा कमाएको पैसाले नेपाल फर्केर केही गर्छु भन्ने सोंच राख्नु’

0
85

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले ललितपुर-चापागाउँ घर हुनु भएका निर्मल न्यौपानेसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो?
मेरो जन्मदिनमा भाईले पठाई दिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
रमाइलो लाग्यो, धेरै नै खुसी भएको थिएँ । मेरो जन्मदिन सम्झेर अष्ट्रेलियाबाट भाईले मेरो लागि उपहार पठाइदिएको रहेछ। थाहा पनि थिएन, मलाई त यसरी पठाउँदैछ भनेर। त्यसैले पनि धेरै रमाइलो लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो? उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ?
१० वर्ष भईसक्यो। अष्ट्रेलियाको सिड्नीमा बस्छ।

तपाइलाई उहाँ अष्ट्रेलिया गएकोमा कस्तो लाग्छ?
नगएको भए राम्रो हुन्थ्यो। अब गईसकेको छ, राम्रो नै लाग्छ। खुसी लाग्छ राम्रो ठाउँमा पुगेको भएर पनि होला, उसको करियरको लागि भए पनि खुसी नै छौं हामी सबै परिवार।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ?
सम्झना आउँछ नि। संगै बस्दा रमाईलो हुन्थ्यो,मिलेर सबै काम गरिन्थ्यो। सुरुसुरुमा त कहिल्यै टाढा नहुने मेरो भाई अर्काको देश जादाँ त मन बुझाउनै गाह्रो हुने रहेछ, पछि चाहिँ फोन र भिडियो कलमा कुरा हुन लागेपछि अनि अल्लि कम भयो। त्यही पनि मान्छेनै साथमा भएको जस्तो त कहाँ हुन्छ र। दाजु भाइ भएर मिलेर काम गर्ने गर्थ्यौं। तर अहिले म जुनसुकै सानो होस् या ठूलो काममा पनि सके नसके पनि एक्लै अगाडी सर्न पर्छ, हुनलाई त परिवारहरु पनि साथमै हुनुहुन्छ तर भाइ भएको जस्तो नहुने रहेछ। धेरै कुरामा याद आउने गर्छ मेरो भाइको मलाई।

नेपाल फर्किएहुन्थ्यो जस्तो लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
ठिकै छ, उतै सेटल भएको राम्रो हुन्छ। नेपालमा बसेर त केहि गर्न सकिन्न,भन्ने सोच पनि धेरैको हुने गर्छ र बाहिर जानुहुन्छ दुखको कुरा पनि हो यो। हामी संगै मिलेर धेरै कुरामा अगाडी बढ्न पनि त सकिन्छ, त्यस्तो भनेर फेरी नेपालमै आउ अष्ट्रेलिया छोडेर भन्न पनि नसकिने रैछ। भाइको भविष्य पनि हेर्नुपर्छ। भाइको सगसंगै हाम्रो भविष्य पनि जोडिएको हुन्छ।उसले उता राम्रो गरेर नाम रोशन गर्यो भने आफ्नो देशको र आफ्नो पनि हामीलाई पनि गर्व महशुस हुन्छ। राम्रो गरिरहेको छ, अझै राम्रो गर्दै गएको देख्न सुन्न पाए हाम्रो लागि त्यो भन्दा खुसीको कुरा अरु केहि हुने थिएन।

तपाई कहिँल्यै अष्ट्रेलिया जानुभएको छ?
अहिले सम्म गएको छैन। भाईले बोलाए चाहिँ जान मिले सम्म घुम्नको लागि जाने हो। उतै बस्न त जान्न किनकि मलाई आफ्नै देश रमाईलो लाग्छ।

अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ?
म गएको त छैन तर समाचार पत्रिकामा सुने पढेअनुसार सबै राम्रो छ। विकशित भएको देश भएर पनि होला अष्ट्रेलियाको वातावरण पनि राम्रो छ साथै त्यहाँ सबै कुराको सुख सुविधा पनि छ। नराम्रो भन्नलाई खासै केहि सुनेको छैन सबैले राम्रो नै सुनाउछन् गएर आएकाले पनि।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाइलाई कस्तो लाग्छ?
आ-आफ्नो हिसाबले गएका हुन्छन्। कसैको चाहिँ उतै सेटल हुन बाध्यता पनि हुन सक्छ तर नेपालमा बस्नु भन्दा त बिदेशमा सेटल भएको नै राम्रो। नेपालमा भन्दा विदेशमा धेरै कुराको सुविधा पनि हुन्छ तर विदेशमा बस्न चाहिँ धेरै कुराको संघर्ष गर्नु पर्छ मेहनेत धेरै गर्न पर्छ त्यो थाहा हुदा हुदै पनि जानु हुन्छ, दुख गर्नु हुन्छ, एक पक्षले राम्रो पनि हो। फेरी अर्को पक्षले नराम्रो पनि हो किनकि दुख आफ्नै देशमा गरे देखि राम्रो हुने थियो, हाम्रो देश पनि विकशित हुने थियो। मलाई त खासै ठिक लाग्दैन विदेश सेटल भएको।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
सबै जनाले राम्रोसंग आफ्नो करियर बनाएर घर फर्किनु। नेपालमै फर्केर अष्ट्रेलियामा कमाएको पैसाले नै केहि गर्छु भन्नि सोच राखेर आफ्नो करियर बनाएर आउनु। धेरै माया र सम्झना छ।