‘अष्ट्रेलियामा छोराछोरी पठाउँदा घरघडेरी किन्ने सपना देखेर नपठाउनु, उनीहरुमा मानसिक असर पर्छ’

0
260

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका बिष्णु प्रसाद पोख्रेलसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया कहिले आउनुभएको हो?
भरतपुर, लंखु हो। म अष्ट्रेलिया आएको ३ वर्ष भयो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो?
मलाई त्यति गाह्रो भएन किनकि म डिपेनडेण्ट भिसामा आएको हो। त्यसैले गर्दा पनि सहज नै भएको थियो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो?
यहाँ आएर यताको वातावरण देख्दा पढेको हिसाबले युनिभर्सिटी नै रोजेर पढेको धेरै राम्रो लाग्यो।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
म काम मात्र गर्छु अहिले।

तपाईंको अनुभवमा अष्ट्रेलियामा करियर निर्माण गर्नका लागि कत्तिको सहज छ?
मेहेनेती हुनुपर्छ, सक्रिय हुनुपर्छ र आफूमा निर्भर भएर काम गरेमा करियरको लागि सहजै छ भनम।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ?
खानामा बढी रुची छ। अनि गितार बजाउन, गित सुन्न र यात्रा गर्न मन लाग्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
नेपालमा बसेर अष्ट्रेलियाको फोटो हेरेको जस्तो राम्रो त छ यो ठाउँ तर सजिलो छैन। मान्छेहरुले घुमेको रमाइलो गरेको मात्र फोटो हाल्छन् दुख गरेको काम गरेको त राख्दैनन् फोटो। धेरै फरक छ नेपालमा बसेर सोचे भन्दा।

काम पाउन कत्तिको गाह्रो भयो? सुरुमा कसरी काम पाउनुभएको थियो?
मेरो भाग्य नै मान्छु म ,आउने बित्तिकै काम पाएको थिएँ, ३ दिनमा नै।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के-के हुन्?
अष्ट्रेलियामा आफ्नो योग्यता अनुसारको काम गर्न पाइन्छ र काम सानो ठूलो भन्ने हुंदैन।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन्?
पढ्नेहरुका लागि फी धेरै नै तिर्नुपर्छ। कर पनि महँगो छ धेरै नै।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई?
राम्रो छ सबै। नेपाली संस्कृतिजोगाउनुभएको छ। मिलनसार हुनुहुन्छ सबै। कोभिडको समयमा धेरैले सहयोग गर्नुभएको पनि थियो।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
राम्रो नै गरिरहनुभएको छ। सहयोग गर्नुभएको छ धेरै कुरामा। अझै धेरै गर्दै जानु भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ?
आउँछ धेरै नै याद त। खाना बनाएको, गाँउ घरमा पूजापाठ हुँदा र साथी भाई, दिदीबहिनिको बिहे हुँदा फोटो राख्ने गर्छन्। त्यो देख्दा धेरै सम्झना आउने गर्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
आत्मनिर्भर हुन सिकायो। सफलताको लागि अगाडी बढ्नलाई केहि कुरामा पनि हिम्मत हार्न हुदैन जस्ता कुराहरु सिकियो अष्ट्रेलिया आए पछि।

अष्ट्रेलियाआउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
जो मान्छेले घरबाट बाहिर निस्केको हुँदैन, अरुले समुन्द्रको नजिक गएर फोटो खेचेको र घुमेको, रमाइलो गरेको फोटो देखेको भरमा नआउनु। धेरै बुझेर, यदिपहिला आफ्नो कोहि आउनु भाको छ भने उँहाहरुसंग पनि राम्रोसंग बुझेर मात्र आउनु। बरु एक दुई महिना ढिला भएर केहि हुँदैन कामको लागि गाडी भयो भने धेरै सजिलो हुन्छ, त्यसैले गाडीको लाइसेन्स बनाएर लिएर आउनु भन्न चाहन्छु।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
धेरै बुझेर काम सिकाएर मात्र पठाउनु, अरुको देखेको भरमा अनि छोरा छोरीलाई पठाए पछि छिटै धेरै पैसा कमाउछन् घर घडेरी किन्छु भन्ने सपना बोकाएर नपठाउनु उनिहरुको दिमागमा असर पर्नसक्छ भन्न चाहन्छु।