‘अष्ट्रेलियाका इभेन्ट आयोजकले एउटै खालका कार्यक्रम, एउटै कलाकारलाई नदोहोराए हुन्थ्यो’

0
328

अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको अनुभव तथा विचार साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन गर्दै आएको छ। यसै क्रममा मेट्स इन्टरनेशनल मेलबर्नसंगको सहकार्यमा ‘इभेन्ट टक’ शुरु गरिएको छ ।

यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका मदन थापासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया आउनुभएको कति भयो ?
बुटवल, कालिकानगर हो। म अष्ट्रेलिया आएको त १०/११ वर्ष भइसक्यो।

हाल अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ?
पढाई सकेर काम गर्दै छु अहिले।

काम बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
रुचिहरु त धेरै नै छ,तर ठाउँ र परिस्थिति हेरेर हुन्छ। यहाँ, पैसा र समय भए इच्छाहरु धेरै पुरा गर्न पनि सकिन्छ त्यसैले पनि यो नै छ भन्न सकिदैन।

नेपालीहरुले आयोजना गरेको इभेन्टमा कत्तिको जानुहुन्छ? कस्ता इभेन्टहरुमा जान मन पराउनुहुन्छ?
म २/४ चोटी गएको छु । मगरको चाडमा, होलीमा, तीज कार्यक्रममा गएको छु। कामबाट विदा पनि मिल्दैन र छोडेर हिड्न पनि सकिदैन। आफ्नो करियरको कुरा हुन्छ त्यसैले पनि। पहिला त्यति थाहा पनि हुँदैनथ्यो र समय मिलाउन पनि गाह्रो नै हुने गर्थ्यो भने अहिले सामाजिक सञ्जालबाट धेरै कुरा थाहा हुन थालेको पनि छ तर कोभिडले गर्दा अहिले कुनै कार्यक्रम भएको छैन।

मेट्स इन्टरनेशनलले आफ्नो मनपर्ने गायक गायिकासंग साक्षात्कार गर्ने अवसर दिलाएमा कसको प्रस्तुति हेर्न, सुन्न र उहाँलाई भेट्न चाहनुहुन्छ?
मलाई मन पर्ने त धेरै हुनुहुन्छ, नेपाथ्यको म अल्लि बढी नै हेर्ने सुन्ने गर्छु। मलाई विशेषगरि याद भएको भन्नु पर्दा राजु लामा र मेलिना राई हुनुहुन्छ। सबै गायक / गायिकाले राम्रो गर्नुभएको छ, कलाकारिता हेरेर पनि हुन्छ। धेरै पहिला मैले मदन कृष्ण श्रेष्ठ र हरीवंश आचार्य दाजुहरुसंग भेटेको थिए अझै पनि अवसर मिल्यो भने उहांहरसंग नै भेट्न चाहन्छु।

तपाईंलाई मन पर्ने नेपाली कलाकार को हुनुहुन्छ?
मलाई मन पर्ने राजेश हमाल हो। उहाँ पुरानो मान्छे पढेको अनि धेरै सहनशिल पनि हुनुहुन्छ। उहाको धेरै अन्तर्वाताहरु हेरेको छु मैले। धरै राम्रोसंग कुरा गर्नु हुन्छ।

नेपालीहरुले आयोजना गर्ने इभेन्टहरु कत्तिको राम्रो, रमाइलो र व्यवस्थित हुन्छन्?
त्यो त आफूमा भर पर्छ किनभने आफूलाई मन पर्ने कलाकार आउनु भएको समयमा धेरै इन्जोय पनि गरिन्छ र रमाइलो लाग्छ। व्यवस्थित त हुन्छ धेरै कुरामा कलाकारहरुको सेफ्टी पनि हुन्छ। कुनै कुनै गायक/गायिकाको प्रस्तुति यति राम्रो हुन्छ नि, उहाँहरुले गीत गाउँदा मुटु नै छुन्छ। त्यस्तो समयमा प्रस्तुतिले गर्दा पनि इभेन्ट राम्रो, रमाइलो लाग्छ।

नेपाली समुदायमा कस्ता इभेन्टहरु भइदिए हुन्थ्यो भन्ने लाग्छ?
सबै कुराहरुलाई समेटेर अनि हामीले सबैले हेरेर सुनेर केहि राम्रो ज्ञान हासिल गर्न सकियोस। सधै रमाइलोतिरको मात्र नभई आइक्यु सम्बन्धि त्यस्तो खालको इभेन्टहरु भइदिए हुन्थ्यो भन्ने लाग्छ।

नेपाली इभेन्ट कम्पनी तथा आयोजकहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
सबैको लागि सोचेर राम्रो गर्नु भएको छ। अझै राम्रो गर्नु। सधैँ एउटै खालको कलाकारिता देखाउन भन्दा पनि फरक फरक गर्दिनु भन्न चाहन्छु।