अष्ट्रेलियाको होबार्टमा दशैं धमाका म्युजीकल नाइटको भव्य तयारी

0
145

होबार्ट। अष्ट्रेलियाको होबार्टमा दशैँ धमाका म्युजिकल नाइटको भव्य तयारी शुरु भएको छ। नेपाली हिन्दुहरुको सबैभन्दा ठूलो चाड मानिने बडा दशैं नजिकिंदै गर्दा विनर सर्कल तास्मानियाले धमाकेदार म्युजिकल नाइट आयोजना गर्ने भएको हो। कार्यक्रमलाई ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजले मूख्य प्रायोजन गरेको छ।

नेपाली कला संस्कृतिको प्रबर्द्धन तथा विदेशको भूमिमा दशैं रौनकलाई भित्र्याउने संगै नेपाली समुदायमा सद्भाव तथा एकता बढाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको विनर सर्कल तास्मानियाका एड्मिन साजन परियारले बताउनुभएको छ। विनर सर्कलले अष्ट्रेलियामा रहेका नेपाली युवाहरुलाई सांगीतिक क्षेत्रमा अगाडी बढ्नका लागि विभिन्न तवरले साथ दिंदै आएको छ। यसैलाई निरन्तरता दिंदै नयाँ कलाकारहरुलाई प्रोत्साहन गर्ने पनि आफूहरुको उद्देश्य रहेको परियार बताउनुहुन्छ।

दशैँ धमाका म्युजिकल नाइटको मूख्य प्रायोजक संस्था ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजका डाइरेक्टर अरुण चित्रकार भन्नुहुन्छ,” चाडपर्वको समयमा परिवारबाट टाढा हुँदा विद्यार्थीहरु एक्लो महसुस गरिरहेका हुन्छन्। त्यसमाथि अहिले त झन् कोभिडले सबैलाई निराशामा धकेलेको छ। यस्तो अवस्थामा यो कार्यक्रमले विद्यार्थीहरुलाई विशुद्ध मनोरन्जन प्रदान गर्दै र समुदायबाट पारिवारिक माहोलको महसुस गराउँदै उनीहरुको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ भन्नेमा हामी विश्वस्त छौं। र, यही विश्वासका साथ नै ग्लोबल मार्कले कार्यक्रमको आयोजना गरेको हो। “

दशैँ धमाका म्युजिकल नाइट अर्थ ब्याण्ड, बादल प्रसाई, डिजे अरुत्ला लगायत कलाकारको प्रस्तुति रहनेछ। साथै खाना तथा ड्रिंक्स पनि रहने आयोजक संस्थाले जनाएको छ। आगामी ९ अक्टोबरमा हुने उक्त कार्यक्रम बेलुका ५ बजेदेखि शुरु हुनेछ।