‘जापानमै पढेर करियर पनि जापानमै बनाउँछु भन्नेका लागि यहाँ राम्रो अवसर छ’

0
369

विदेशमा रहेका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘टक सेसन ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल जापानको चिबामा बसोवास गरिरहनुभएका समिर खड्गीसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो? जापान कहिले आउनुभएको हो?
काठमाडौं, डिल्लीबजार हो। म जापान आएको चाहिं ५ वर्ष भन्दा धेरै भयो।

जापानको भिसाका लागि कत्तिको सहज भएको थियो?
गाह्रो नै भएको थियो। दूतावासमा पनि गाह्रो नै थियो।

तपाईंको अनुभवमा जापानमा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो?
सुरुमा जापानिज भाषा सिक्नु पर्छ। त्यसपछि मात्र कलेज कि युनिभर्सिटी रोज्नु पर्छ। रोज्दा चाहिँ युनिभर्सिटी रोज्नु राम्रो हुन्छ वर्किङ्ग भिसाको लागि।

जापानमा हाल के गर्दै हुनुहुन्छ?
पढ्दै अनि काम गर्दै छु। धेरै काम गर्न त मिल्दैन यहाँ निश्चित तोकिएको समयसम्म मात्र गर्न पर्छ।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो?
१२ पास गरेपछि आएको हूँ।

तपाईंको अनुभवमा जापानको पढाइ कस्तो छ? करियर निर्माणका लागि कत्तिको सहज छ?
जापानको पढाई जापानभन्दा बाहिर काम लाग्दैन। जापानमै पढेर करियर जापानमै बनाउँछु भन्नेको लागि राम्रो पनि छ, यहीं बसेर आफ्नो व्यवसाय संञ्चालन गर्नेको लागि धेरै राम्रो छ जापान। भिसाको लागि कडा पनि छ अहिले सोचेको जस्तो सजिलो त छैन तर गर्दै जाने हो भने त्यति गाह्रो पनि छैन।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ?
गित सुन्न, घुम्न, साथी भाईहरु संग रमाइलो गर्न मन पर्छ।

नेपालमा आफूले सोंचेको जापान र जापान पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
ठूलो विकसित शहर राम्रो होला सजिलै धेरै सकेको काम गर्न पाइएला र गर्छु पनि, जापानका मान्छे रुपमा त धेरै राम्रा छन् सबै कुरा राम्रो पनि होला, नेपालमा जस्तै रमाइलो गरौला साथी भाई मिलेर जस्ता धेरै सपना देखिएको थियो नेपालमा बसेर तर यहाँ जापान आएपछि थाहा भयो धेरै नै फरक रहेछ। राम्रो र विकसित त रहेछ तर त्यति नै धेरै नियम कानुनहरु पनि छ।

काम पाउन कत्तिको गाह्रो भयो? सुरुमा कसरी काम पाउनुभएको थियो?
गाह्रो भएको थियो सुरुमा ४ महिना सम्ममैले काम पाएको थिइन त्यसपछि काम पाएर गरेको थिए। मलाई कलेज ले नै काम लगाईदिएको थियो एउटा ताकि कलेज फी तिर्न सकोस् भन्ने हिसाबले।

जापानमा बस्दाका सकारात्मक कुराहरु के-के हुन्?
एक्लो जीवन जिउन सिकियो र परिवारको धेरैनै महत्त्व हुने रहेछ भन्ने बुझियो। जापानिज सरकाले कोभिडको बेलामा काम नगरेकालाई पनि १ लाख पैसा दिएर सहयोग गरेको थियो। धेरै नै राम्रो कुरा पनि हो यो। दु:ख गाह्रो परेको समयमा सहयोग हुने रहेछ भन्ने पनि भयो त्यति बेलाको कुराले।

जापानमा बस्दाका नकारात्मक कुराहरु के-के हुन्?
नराम्रो भन्नलाई त्यही हो परिवारबाट धेरै टाढा भएर बस्नुपर्छ। आफ्नो ख्याल राख्ने समय नहुने, धेरै व्यस्त भइरहने, एक्लै बस्नुपर्ने हुन्छ।

जापानको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई?
राम्रो हुनुहुन्छ सबै सहयोगीपन भएको हुनुहुन्छ, ठीक लाग्छ।

जापानमा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ?
एकदमै धेरै आउँछ। कहिल्यै पनि घर नछोडेको मान्छेलाई धेरै गाह्रो हुन्छ।मैले रातिको काम गर्छु दिन भरि सुत्न मन लाग्छ समयको पनि ख्याल राख्नु पर्छ धेरै नै फेरी। खाना बनाउदा ममीको याद आउछ गाह्रो हुदा बिरामी हुदा घर परिवार संगै भइदिएको भए भन्ने लाग्छ।

जापानको बसाईले तपाईंलाई के कुरा सिकायो?
समयको महत्व सिकायो। र, आत्मनिर्भर बन्न सिकायो।

जापान आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
जापान आउने मन छ भने आउनुस्। राम्रो छ। आत्मनिर्भर भइन्छ। तर आउँदा धेरै एक्साइटेड नहुनुहोला। यहाँ गाह्रो पनि छ। सबैकुरा आफूले सोंचेजस्तो हुँदैन।भाषा राम्रोसंग सिकेर आउनु, एकै चोटी ठूलो कुरा हेर्नु भन्दा पनि सानो कुराबाट सिक्दै अगाडी बढ्ने सोच राखेर आउनु। नर्मल कुरा हरु जस्तै; खाना बनाउन, सम्मान दिएर बोल्न सिकेर आउनुहोला ।

जापान आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
धेरै बुझेर, राम्रो विचारका साथ धेरै कुरा सिकाएर पठाउनु। जापान गयो भन्दैमा छिटै धेरै रकमको आशा नराख्नु भन्न चाहन्छु।