नेपालमा सुविधा त के सफा वातावरण पनि छैन, अष्ट्रेलिया गए भनेर के गुनासो गर्नु !

0
81

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौं, बसुन्धरा घर हुनुभएकि पार्वती डिसीसँग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो?
मेरो भाई बुहारीले पठाइदिएका हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
खुसी लाग्यो, मलाई उपहार आउँछ भन्ने आसावादी पनि थियो किनकी उनीहरुले पहिला पहिला पनि मेरो लागि गिफ्ट पठाइदिने गरेका थिए।

तपाईको भाई बुहारी अष्ट्रेलिया जानुभएको कति भयो? उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ?
भाई बुहारी अष्ट्रेलिया गएको ५ वर्ष पुरा भयो। पहिला त अष्ट्रेलियाको सिड्नीमा बसेका थिए अहिले चाहिँ त्यहाँबाट सरेको भन्थे कहाँ बसेका छन् थाहा भएन।

तपाईलाई भाई बुहारी अष्ट्रेलिया गएकोमा कस्तो लाग्छ?
ठिकै लाग्छ आफ्नो खुसीले गएका छन् त्यतै रमाईरहेका छन्, यही ठुलो कुरा हो मेरो लागि।

चाडपर्वहरुमा भाई बुहारीको कत्तिको सम्झना आउँछ?
धेरै नै याद आउँछ, पहिला दशैंमा सधैँ आउने गर्थे अहिले २ वर्ष भईसक्यो लकडाउनले गर्दा आउन पाएका छैनन्। अब लकडाउन खुल्यो भने यो दशैंमा चाहिँ आउछन होला। घरमा सबैको ख्याल राख्ने, सबैलाई माया गर्ने मान्छे भएर होला एकदम महत्वपूर्ण लाग्छ त्यसैले उनीहरु चाडपर्वको दिन साथमा नहुदाँ चाडपर्व नै अल्लि खल्लो लागेको जस्तो हुन्छ।

नेपाल फर्किए हुन्थ्यो जस्तो लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
उतै बसे पनि ठिकै छ, जहाँ बस्दा उनीहरुलाई राम्रो लाग्छ त्यतै बसेको राम्रो हुन्छ।

तपाई कहिँल्यै अष्ट्रेलिया जानु भएको छ?
छैन गएको त, जाने सोच चाहिँ छ गए भने घुम्नको लागि मात्रै जाने हो।

तपाईंलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ?
राम्रो भन्नको लागि म गएको छैन त्यसैले नगए सम्म केहि भन्न सक्दिन। नराम्रो चाहिँ अष्ट्रेलियामा बस्ने नेपालीहरु आफ्नो परिवारको साथमा हुन पाउदैनन् एक्लो महसुस हुन्छ। नेपालमा बस्ने भने जसो तसो मिठो मसिनो खाए पनि आफ्नो परिवारसँग खुसी हुन्छन्, चाडपर्वमा पनि सबैजना हुदाँ रमाइलो हुन्छ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाइलाई कस्तो लाग्छ?
सेटल हुने नहुने त्यो आ-आफ्नो सोच हुन्छ। अरुलाई के जस्तो लाग्छ त्यो भन्न सक्दिन मसँग यसको बारेमा खासै ज्ञान पनि छैन। मलाई चाहिँ राम्रै हो जस्तो लाग्छ किनकि नेपालमा केहि गर्न खासै राम्रो काम पाइदैन, सबै कुरामा मिलेको सुविधा पनि छैन, स्वच्छ वातावरण को त कुरा गर्नै मिल्दैन यहाँको बाटोघाटोमा जता सुकै फोहोर मात्रै हुन्छ यसैको कारणले गर्दा धेरै मान्छे बिरामी हुन्छन्।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
राम्रो सँग बस्नु, धेरै प्रगति गर्दै जानु भन्न चाहन्छु।