‘अष्ट्रेलिया आएपछि सुरुमा तीन महिनासम्म काम पाइन, तर करियर नबनाउने भन्ने कुरै हुँदैन’

0
526

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको ब्रिसबेनमा बसोवास गरिरहनुभएका भुपेन्द्र बि. के. संगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया कहिले आउनुभएको हो?
बेनी बजारमा हो। म अष्ट्रेलिया आएको ८ वर्ष भयो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो?
ठिकै थियो खासै गाह्रो पनि भएन र सजिलो पनि थिएन।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो?
मलाई त युनिभर्सिटी नै राम्रो लाग्छ धेरै कुराहरुमा पछि सम्मको लागि पनि तर कलेज पनि नराम्रो त होइन, फ्रीहरुमा सस्तो छ कलेज फेरी।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
पढ्दै काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो?
१२ पास गरेपछि आएको हूँ। अहिले ब्याचलर लेभल सकेर मास्टर गर्दैछु ।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ? करियर निर्माणका लागि कत्तिको सहज छ?
धेरै राम्रो छ। अष्ट्रेलिया आइसके पछि नगर्ने करियर नबनाउने भन्ने कुरै हुदैन धेरैको। सहज त कहिँ गए पनि छैन, सुरुमा गाह्रो नै छ पछि करियरको लागि भने राम्रो छ। “दुख पछि सुख आउछ” भने जस्तो गाह्रो गरे पछि सजिलो सरल जीवन त हुन्छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ?
नयां नयां ठाउँ घुम्न र गेम खेल्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
धेरै नै फरक पाएँ। हामीले नेपालमा बसेर सोचे जस्तो सजिलो छैन, हुन्छ नि जाने बित्तिकै काम खोजेर गरीहाल्छु धेरै पैसा कमाउँछु भनेर जुन सपना देखिन्छ नि, त्यो सपना पुरा गर्न त्यति सजिलो छैन भन्ने अष्ट्रेलिया आएपछि थाहा भयो।

काम पाउन कत्तिको गाह्रो भयो? सुरुमा कसरी काम पाउनुभएको थियो?
धेरै गाह्रो भयो। सुरुमा तीन महिनासम्म मैले काम पनि पाइन त्यसपछि काम पाएको थिए त्यो पनि १ हप्तामा पनि पुरै समय पुरै दिन गर्न नपाइने थियो।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के-के हुन्?
आत्मनिर्भरता हुन सिकायो, जस्तो काम पनि गर्न सक्छु भन्ने छ अहिले। धेरै कुरामा अगाडी बढ्न सकिने रहिछ हिम्मत नहारी काम गर्नु पर्ने रहेछ भन्ने कुराहरु ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन्?
भनेको जस्तो काम नपाउँदा धेरै कुरामा गाह्रो छ। पिआर को लागि पनि पहिला जस्तो सरल तरिकाले गर्न सकिदैन। यस्तै केहिँ केहिँ कुराले भने निरासा बनाउँछ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई?
ठिकै लाग्छ। नेपाली सस्कृति जोगाईराख्नु भएको छ। नेपालीहरु अष्ट्रेलिया गए पछि पनि आफ्नो नेपाली पनलाई नभुल्नु र आउने पिडिहरु लाई याद गराई रहेर भुल्न नदिनुनै ठुलो कुरा हो जस्तो लाग्छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
अष्ट्रेलिया आउने नयांलाई हेल्प गर्दिनु राज्नितिनी न घुसाउनु। आपत विपत पर्दा हेरिदिनुस् भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ?
धेरै नै याद आउँछ। कामबाट थाकेर आएको बेलामा घरमा ममीले पकाएर राखेको ,खाना खान दिएको जस्ता धेरै कुरामा सम्झना आउँछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
आत्मनिर्भर हुन सिकायो। नेपालमा हुदां बाबाआमाले सबै गरिदिनु हुन्थ्यो, अहिले जति गाह्रो भए पनि आफै अगाडी सरेर गर्छु। आफु सफालताको उचाहिमा पुग्नको लागि सुरुवात आफैबाट गर्न पर्ने रहेछ भन्ने सिकायो।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
ठुलो आस बोकेर आउनु, म जस्तो काम आइ परे पनि गर्न सक्छु भन्ने भएर आत्मबल लिएर आउनु, नेपालमा बसेर सोचेको जस्तो सजिलो पनि छैन अष्ट्रेलिया भन्न चाहन्छु।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
+२ सकेर पठाउनु होला। छोरा छोरी कत्तिको योग्य छन् बाहिर गएर काम गर्न सक्छन कि नाई त्यो राम्रोसंग बुझ्नु। अनि अष्ट्रेलियाको लागि पनि राम्रो संग बुझेर पठाउने गर्नुहोला।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ?
कोभिडको समय छ आफ्नो राम्रो ख्याल राख्नु होला भन्न चाहन्छु।