अष्ट्रेलियाबाट आयोजित अनलाइन तीज नृत्य प्रतियोगितामा दिव्या भट्टराई र रेजिना टण्डन विजयी

0
195

मेलबर्न। गुल्मी समाज भिक्टोरियाले दिदी बहिनी समाज भिक्टोरियासंगको सहकार्यमा हरितालिका तीजको अवसरमा अनलाइन तीजगीत एकल नृत्य प्रतियोगिताको आयोजना गरेको थियो। जसमा अष्ट्रेलिया र नेपालबाट गरी ४६ प्रतियोगी सहभागी भएका थिए। प्रतियोगीको भिडियोमा सामाजिक संजालमा आएको प्रतिक्रियाको आधारमा मूल्यांकन गरिएको उक्त प्रतियोगितामा अष्ट्रेलियाबाट दिव्या भट्टराई र नेपालबाट रेजिना टण्डन प्रथम भएका छन्। अष्ट्रेलिया र नेपालका प्रतियोगीबीच छुट्टाछुट्टै प्रतिष्पर्धा गराइएको हो।

ओल्ड दरबार रेष्टुरेन्टले मूख्य प्रायोजन गरेको प्रतियोगितामा प्रिति सापकोटा द्वितीय तथा प्रिया गौतम तृतीय हुन सफल भएका छन् । त्यसैगरी नेपालबाट सहभागी प्रतिष्पर्धी मध्येबाट सोनी गुरुङले द्वितीय स्थान र सृष्टि सापकोटाले तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा अष्ट्रेलियाबाट सहभागी हुनेहरुका लागि प्रथम पुरस्कार ७५० डलर, द्वितीय पुरस्कार ५०० डलर र तृतीय पुरस्कार २५० डलर रहेको थियो भने नेपालबाट सहभागी हुनेहरुका लागि प्रथम पुरस्कार नगद रु २१ हजार, द्वितीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु १० हजार रहेको थियो। संस्थाले सम्पूर्ण सहभागीहरुलाई सान्त्वना पुरस्कार प्रदान गरिएको समेत जनाएको छ।

प्रतियोगिताको नतिजा प्रकाशन गत आइतबार जुम मिटिंग मार्फत सार्वजनिक गरिएको थियो। कार्यक्रममा बोल्दै आयोजक संस्था गुल्मी समाज भिक्टोरियाका अध्यक्ष गान्धी भट्टराईले प्रतियोगिताको नतिजा निष्पक्ष रहेको जानकारी गराउँदै प्रतियोगिताका सहभागी, सम्पूर्ण प्रायोजक संस्थाहरु लगायत सम्पूर्ण सहयोगीहरुप्रति आभार व्यक्त गर्नुभएको थियो। त्यसैगरी संस्थाका सचिव प्रकाश अर्यालले विशुद्ध मनोरन्जन तथा कोरोना महामारीका समयमा उत्साह ल्याउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो।

कार्यक्रममा बोल्दै दिदी बहिनी समाजका अध्यक्ष जमुना पराजुलीले महामारीको समयमा गुल्मी समाजले ल्याएको कार्यक्रमको अवधारणा र प्रयास सह्रानीय रहेको भन्दै सहकार्यको अवसरका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो। त्यसैगरी कार्यक्रममा विजयी प्रतियोगीहरुले आफूहरुका लागि सहज र राम्रो प्लाटफर्म प्रदान गरेकोमा आयोजक संस्थाप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो।

नतिजा प्रकाशन कार्यक्रम गुल्मी समाज भिक्टोरियाका सदस्य माधव खरेलको सहजीकरण र सहसचिव वर्षा भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।