नेपालले आज पपुवा न्युगिनीसँग एक दिवसिय क्रिकेट खेल्ने

0
158

एजेन्सी । ओमानमा अभ्यास गरिरहेको नेपालको राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीसँग मैत्रिपूर्ण खेल खेल्दैछ ।आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन– २ अन्तर्गत त्रिकोणीय शृखलाको तयारीका लागि ओमान पुगेको नेपाली टोलीले आज पिएनजीसँग एक दिवसिय खेल खेल्न लागेको हो ।

दोस्रो अभ्यास खेल शुक्रवार हुनेछ । ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् ।ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १९ सदस्यीय नेपाली टोलीमा यसपटक अनुभवी खेलाडी तथा पूर्व कप्तान पारस खड्का छैनन् ।

पारसले गत महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका हुन् । नेपाली टोलीमा पहिलो पटक युवा खेलाडी गुल्शन झा समावेश छन् । नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तिव्र गतिका बलर गुल्शन मुख्य प्रशिक्षक डेभ वाटमोरको नजरमा परेका थिए ।

नेपालले पिएनजीविरुद्धका दुई अभ्यास खेलपछि ओमान र अमेरिकासँग त्रिकोणात्मक शृंखला खेल्ने छ । शृंखला सेप्टेम्बर १३ बाट २० सम्म चल्ने छ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिइसकेका डेभ वाटमोरको नेतृत्वमा नेपालको यो अन्तिम शृंखला हुनेछ ।