असुरक्षित बन्दै नारायणी पुल , साउनबाट मात्रै ४ जनाले हाम फाले

0
313

सुरज पौडेल

चितवन । गैंडाकोट र चितवन जिल्लालाइ जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुलमा सुरक्षा निकायको थप सक्रियता आवश्यक देखिएको छ । यो पुलबाट नारायणी नदीमा हामफालेर ज्यान गुमाउने क्रम बढेपछि स्थानीय प्रशासनको लागी टाउको दुखाइको बिषय बन्न थालेको हो । बाहिरी जिल्लाका समेत यहीं पुलमै आएर हामफाल्न थालेपछि यो पुललाइ जोखिमयुक्त पुलका रुपमा चित्रण गर्न थालिएको छ ।

२०३८ सालमा बनेको पुलबाट दैनिक १० हजार भन्दा बढी सवारीसाधनहरु ओहोरदोहोर हुने गर्छन् । २ लेनको सो पुलमा सवारीचाप निकै हुने गर्दछ ।पुलको नारायणगढतर्फ २०७१ सालबाट शसस्त्र प्रहरी बलको आईआरटी (इमिडियट रेस्पोन्स टिम) पोष्ट समेत खडा गरिएको छ भने, वडा प्रहरी कार्यालय नारायणगढ र गैंडाकोटतर्फ पनि ईलाका प्रहरी कार्यालय नजिकै छ । तर, हामफाले पछिको सूचनाका आधारमा सुरक्षा टोली उद्वारमा खटिदै आए पनि जीवितै उद्वार गर्न भने निक्कै कठिनाइ हुने गरेको छ ।

आर्थिक बर्ष २०७७/ ७८ मा मात्रै नारायणी नदिको पुलबाट १४ जनाले हाम फालेको जिल्ला प्रहरी कार्यलय चितवनले जानाकारी दिएको छ । कार्यलयका अनुसार ७ जना पुरुष ६ जना महिला र १ बालक गरी १४ जनाले पुलबाट हाम फालेका हुन् ।नदिमा हामफलेका मध्य ३ जना पुरुष र ४ जना महिला गरी ७ जनाको सकुशल उद्दार गरिएको छ भने अन्य ५ जनाको ज्यान गएको र २ जना बेपत्ता रहेका छन् ।

यस्तै साउन १ गतेबाट भदौ २० गते सम्म तीन पुरुष र १ महिला गरी ४ जनाले हाम फालेका छन् । जस मध्ये १ पुरुष र १ महिलाको जिबितै उद्दार गरिएको छ भने २ जना बेपत्ता भएका छन् । पुलबाट हाम फालेर मात्र नभई असाबधानीका कारण नदिको तटबाट समेत डुबेर धेरैको ज्यान जाने गरेको छ । । अन्यको शब नदिलेनै बगाएर लैजाने गरेको छ । हाम फाल्नेहरुको पहिचान गर्न समेत कठिन हुने गरेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।