‘अष्ट्रेलियामा आत्मनिर्भर बनेकी छु तर केही निर्णय लिनुभन्दा अगाडी बुवाको याद आउँछ’

0
241

घर परिवारसंग टाढा हुँदा परिवारको याद आउनु स्वाभाविक हो। अझ विशेष दिन र चाडपर्वमा टाढा रहँदा खल्लो महसुस हुन्छ। हिमालयन कंगारुले यो खल्लोपनलाई केही हदसम्म कम गर्ने उद्देश्यका साथमा ‘बुवाको सम्झना’ विशेष स्तम्भ सुरु गरेको छ। यो स्तम्भ आउंदै गरेको कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा तयार पारिएको हो। यसपाली बुवाको मुख हेर्ने दिन भदौ २२ (सेप्टेम्बर ७) मा परेको छ।

यसै सन्दर्भमा अष्ट्रेलियाको न्यू साउथ वेल्समा बसोवास गरिरहनुभएकि खुस्बु अधिकारी हमालसंगको विशेष कुराकानी :

अष्ट्रेलिया आउनुभएको कति भयो? हाल के गर्दै हुनुहुन्छ ?
४ वर्ष पुग्न लाग्यो अष्ट्रेलिया आएको।अहिले काम गर्दै छु।

नेपालमा हजुरको घर कहाँ हो ? यसरी टाढा बस्दा परिवारको कत्तिको सम्झना आउँछ ?
धरान-१ मा पर्छ। मिठो मसिनो जे जस्तो खाना पकाउदा बुवा आमालाई धेरै सम्झिरहेकी हुन्छु। आफ्नो परिवारबाट यसरी धेरै टाढा छु त्यसैले चाडपर्वहरुमा त बढी नै याद आउने गर्छु।

बुवाको मुख हेर्ने दिन आउँदैछ, बुवालाई कसरी सम्झिन चाहनुहुन्छ ?
बुवालाई गिफ्ट पठाएर फोनमा बोलेर सम्झिन चाहन्छु।

योभन्दा अगाडी बुवाको मुख हेर्ने दिनमा कहिले बुवासंग संगै हुनुहुन्थ्यो ?
नेपालमा हुदाँ सधैँ सँगै थिए तर पहिला बुवाको मुख हेर्ने दिन मनाउने चलन थिएन। हामीले अहिले जस्तो गिफ्ट दिएर र केक काटेर मनाउने कहिल्यै गर्थेनौ बुवालाई मुख हेर्ने दिनको शुभकामना मात्रै दिने गर्थ्यौं। अहिले टाढा भएको हुनाले धेरै महत्व हुने रहेछ।

बुवासंग बिताएको सबैभन्दा अविस्मरणीय क्षण बताइदिनुहोस् न !
मेरो लागि बुवासँग बिताएको सबै पल अविस्मरणीय क्षण छन्।

बुवाको लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ ?
बुवाको लागि यो नै गर्न सकूँ भन्ने त छैन, हामीले बुवाप्रति गरेको सानो सानो कुरामा खुसी हुनुहुन्छ यही ठुलो कुरा लाग्छ।

हुर्किंदै जाँदा, बुवाको खाँचो कत्तिको महसुस हुँदोरहेछ ?
केहि निर्णय लिनु भन्दा अगाडी बुवाको याद आउँछ किनकि उहाँले सधैँ राम्रो बाटो देखाउनु गर्नुहुन्थ्यो।

बुवालाई केही विशेष संदेश दिन चाहनुहुन्छ ?
Happy Father’s Day भन्न चाहन्छु , सधैँ स्वास्थ्यको ख्याल राख्नु र सधैँ खुसी रहनु भन्न चाहन्छु।