अष्ट्रेलियाबाट आयोजित अनलाइन तीज प्रतियोगितामा सेप्टेम्बर ११ सम्म भिडियो पठाउन सकिने

0
525

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा संचालित संस्था गुल्मी समाज भिक्टोरियाले दिदी बहिनी भिक्टोरियाको सहकार्यमा अनलाइन तीज गीत नृत्य प्रतियोगिताको आयोजना गरेको छ। कोभिड-१९ का कारण भौतिक रुपमा जम्मा भएर तीज मनाउन नसक्ने अवस्थामा गुल्मी समाजले गत वर्षदेखि अनलाइन तीज प्रतियोगिता गर्न लागेको हो।

प्रतियोगिताका बारेमा गुल्मी समाजका अध्यक्ष गान्धी प्रसाद भट्टराई भन्नुहुन्छ, “कोभिडले निरासा छाएको अवस्थामा केही खुसी तथा उल्लास ल्याउन सकौं भन्ने हाम्रो एउटा उद्देश्य हो। अर्को कुरा विदेशमा रहेर पनि नेपाली कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो। अष्ट्रेलिया, नेपाल लगायत विश्वभर छरिएर रहनुभएका नेपाली दिदीबहिनीहरुले खुसी व्यक्त गर्दै सहभागिता जनाइरहनुभएको छ। साथमा हामीलाई धेरै नेपाली व्यवसायीहरुले साथ दिंदै कार्यक्रमलाई प्रयोजन गरिदिनुभएको छ। सबैप्रति कृतज्ञ छौं। र, यो प्रतियोगिता भव्य रुपले सफल बनाउनका लागि लागिरहेका छौं”।

प्रतियोगितामा विश्वको जुनसुकै ठाउँबाट पनि सहभागिता जनाउन सकिन्छ। अष्ट्रेलियाबाट सहभागी हुनेहरुका लागि प्रथम पुरस्कार ७५० डलर, द्वितीय पुरस्कार ५०० डलर र तृतीय पुरस्कार २५० डलर रहेको छ। त्यसैगरी अन्य देशबाट सहभागी हुनेहरुका लागि प्रथम पुरस्कार रु २१ हजार, द्वितीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु १० हजार रहेको छ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि तीज गीतमा एकल नृत्य गरेर खिचिएको भिडियो [email protected] मा पठाउनुपर्नेछ। भिडियो सेप्टेम्बर ११ सम्ममा पठाइसक्नुपर्नेछ। गुल्मी समाजले प्रतियोगितामा आएका भिडियो आफ्नो फेसबुक पेज, ईन्स्टाग्राम, युट्युबमा सेयर गर्छ। फेसबुकमा आएको लाइक, सेयर अनि इन्स्टाग्राममा आएको लाइक र युट्युबमा आएको भ्युज पनि मूल्यांकनमा जोडिनेछ। प्रतियोगिताको नतिजा सेप्टेम्बर १२ मा बेलुका ४ देखि ६ बजेको समयमा गुल्मी समाज भिक्टोरियाको फेसबुक पेजबाट प्रकाशन हुनेछ।