अष्ट्रेलियामा गाह्रो समयमा पनि बुवाले दिएको ज्ञानलाई आत्मसात गरेकी छु, कहिल्यै हिम्मत हार्दिन’

0
230

घर परिवारसंग टाढा हुँदा परिवारको याद आउनु स्वाभाविक हो। अझ विशेष दिन र चाडपर्वमा टाढा रहँदा खल्लो महसुस हुन्छ। हिमालयन कंगारुले यो खल्लोपनलाई केही हदसम्म कम गर्ने उद्देश्यका साथमा ‘बुवाको सम्झना’ विशेष स्तम्भ सुरु गरेको छ। यो स्तम्भ आउंदै गरेको कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा तयार पारिएको हो। यसपाली बुवाको मुख हेर्ने दिन भदौ २२ (सेप्टेम्बर ७) मा परेको छ।

यसै सन्दर्भमा अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएकी अनुपमा गिरीसंगको विशेष कुराकानी :

अष्ट्रेलिया आउनुभएको कति भयो? हाल के गर्दै हुनुहुन्छ ?
दुई वर्ष जति हुन लाग्यो। म अहिले पढ्दैछु।

नेपालमा हजुरको घर कहाँ हो ? यसरी टाढा बस्दा परिवारको कत्तिको सम्झना आउँछ ?
पोखरा, बुद्व चोक हो। आफ्नो परिवारको सम्झना त आउँछ नि धेरै नै, के गर्नु टाढा छु। सम्झिने, फोन गरेर बोल्ने त्यहिनै त हो। नजिक साथमा भए जस्तो त हुंदैन, त्यही पनि समय मिलाएर कुरा चाहिँ गरिराख्छु।

बुवाको मुख हेर्ने दिन आउँदैछ, बुवालाई कसरी सम्झिन चाहनुहुन्छ ?
म मेरो बुवालाई धेरै माया गर्छु त्यसैले पनि मेरो बुवालाई सम्झिन बुवाको मुख हेर्ने दिनको मात्र पर्खाइमा बस्दिन। नजिक भएको भए सायद त्यही अनुसारको खुसी दिन्थें जस्तो लाग्छ, टाढा छु एउटा सानो गिफ्ट र धेरै माया मेरो बुवालाई पठाएर सम्झिन चाहन्छु।

योभन्दा अगाडी बुवाको मुख हेर्ने दिनमा कहिले बुवासंग संगै हुनुहुन्थ्यो ?
घरमै भएको भएर बुवाको मुख हेर्ने दिन त्यति मनाउने गरिन्थेन, चलन पनि थिएन त्यति धेरै। अहिले देश बाहिर छु बुवाको साथै स-परिवारको धेरैनै याद आउँछ। सानो सानो चाडपर्वमा पनि साथमा भएर मनाउन मन लाग्छ।

बुवासंग बिताएको सबैभन्दा अविस्मरणीय क्षण बताइदिनुहोस् न !
धेरै कुरामा साथ दिनुहुन्थ्यो। सानो सानो कुरामा पनि हिम्मत हार्न हुदैन भनि हौसला दिनु हुन्थ्यो साथमा हुँदा। यो म जहाँसुकै पुगेपनि कहिल्यै बिर्सन सक्दिन।

बुवाको लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ ?
मेरो बुवाको हरेक दु:खमा साथ दिन सकूँ। उहाँले जति त मैले गर्न सक्दिन चाहेर पनि तर कम पनि नहोस् जस्तो लाग्छ।

हुर्किंदै जाँदा, बुवाको खाँचो कत्तिको महसुस हुँदोरहेछ ?
बुवाको खाँचो त पहिला पनि थियो अहिले पनि छ र पछि पनि हुने गर्छ। काममा गाह्रो हुँदा, कसैले अल्लि नराम्रो भन्दा, एक्लै हुँदा, बुवा साथ हुनुभएको भए भन्ने लाग्छ।

बुवालाई केही विशेष संदेश दिन चाहनुहुन्छ ?
आफ्नो ख्याल राख्नु, सधै खुसी हुनु र हामीलाई सबै राम्रो नै छ हाम्रो चिन्ता धेरै नलिनु। मेरो बुवालाई धेरै माया र सम्झना भन्न चाहन्छु।

Are you Planning to Study or settle in Australia ? If yes, Just Click Here and fill this form.