जयसिंह धामी बेपत्ताबारे छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

0
515

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर जयसिंह धामी बेपत्ता भएपछि गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार सह-सचिव जनार्दन गौतम नेतृत्वको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर प्रतिवेदन बुझाएका हुन् ।

दार्चुलाको ब्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी हालसम्म बेपत्ता छन् । बेपत्ता भएपछि उनको खोजी गरिए पनि उनी भेटिएका थिएनन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार महाकाली नदी तर्न लाग्दा एसएसबीले तुइन काटिदिएपछि उनी महाकाली भेलसँगै बगेका थिए ।तर, भारतीय पक्षले भने दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नरहेको स्पष्टीकरण दिएको छ ।

त्यसपछि घटनाबारे सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो । साउन १७ मा गठन गरिएको समितिलाई सुरुमा १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने समय दिइएको थियो । सह–सचिव गौतम नेतृत्वको समितिले स्थलगत अनुसन्धान गरेर मंगलबार प्रतिवेदन बुझाएको छ ।