मेलबर्नमा यसपालीको गौरा पर्व भर्चुअल रुपमै धुमधामका साथ मनाउने तयारी

0
126

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा यसपालीको गौरा पर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ। भिक्टोरिया राज्यमा बस्दै आएका सुदुरपश्चिमेलीहरुको संस्था फारवेस्टर्न नेपलीज सोसाइटी अफ भिक्टोरियाले कार्यक्रमको आयोजना गरेको हो।

कोभिड रोकथामका लागि जारी लकडाउनका कारण यसपालीको गौरा पर्व विशेष कार्यक्रम भर्चुअल रुपमा मनाइनेछ। तर गौरा पर्वको उल्लासलाई कायम राख्नका लागि भर्चुअल रुपमै पनि गौरा पुजन, देउडा नृत्य तथा सांस्कृतिक प्रस्तुति रहनेछन् । कलाकारहरु अराज केशव, नरेन्द्रराज रेग्मी, लक्ष्मण अधिकारी, लालबहादर धामी (आछामी बड्डो), जीत चन्द, दोर्जे लामा, रेखा जोशी, टङ्क तिमल्सिना लगायत कलाकारहरुले कार्यक्रममा प्रस्तुति दिने आयोजाक संस्थाले जनाएको छ। कार्यक्रम संयोजक नरेश रावलका अनुसार, नेपालका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको अवसरमा पठाउनुभएको शुभकामना सन्देश पनि कार्यक्रममा वाचन गरिनेछ।

यस वर्षको गौरा विशेष कार्यक्रम चेतनामूलक पनि हुनेभएको छ। कार्यक्रममा कोभीड १९ खोप सम्बन्धी जानकारीमूलक विशेष सत्र समेत रहनेछ। जसमा नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले सहकार्य गरेको छ। कला-संस्कृतिको प्रबर्द्धन र सामाजिक दायित्वलाई संगसंगै लैजाने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष महादेव धानुकले बताउनुभएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशको तर्फबाट वर्तमान मुख्यमन्त्री त्रिलोचन भट्ट भर्चुअल रुपमा सहभागी हुनुहुनेछ। त्यसैगरी भिक्टोरीयाका लागि अवैतानिक महावाणिज्यदुत चन्द्र योन्जन, एनआरएनए अष्ट्रेलियाका वर्तमान अध्यक्ष नन्द गुरुङ, फेडरेशन अफ नेप्लिज कम्युनिटी एसोसियन अष्ट्रेलिया (फेन्का)का अध्यक्ष डा.कृष्ण हमाल, न्याभका वर्तमान अध्यक्ष राम गुरुङ, एनआरएनए भिक्टोरीया संयोजक हरी खड्का लगायत विभिन्न संस्थाका पदाधीकारीहरुको पनि भर्चुअल सहभागीता रहने आयोजक संस्थाले जानकारी गराएको छ।

फारवेस्टर्न नेपलीज सोसाइटी अफ भिक्टोरियाले आयोजना गरेको यो गौरा पर्व विशेष कार्यक्रम आगामी अगष्ट २८ मा हुनेछ। कार्यक्रम नेपालको समय अनुसार दिउँसो १२:१५ बजे तथा मेलबर्न समय अनुसार अपरान्ह ४:३० बाट शुरु हुने बताइएको छ।

गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन्। गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ।

बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन्। धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ।