‘अष्ट्रेलियामा बसेपनि आफ्नो संस्कार नभुल्नु, आमा-बुवाप्रति सम्मान र माया देखाइराख्नु’

0
236

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले गैंडाकोट घर हुनुभएका माधव प्रसाद शर्मा भारद्वाजसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो?
अष्ट्रेलियामा चाहिँ मेरो छोराछोरीहरु छन्। उपहार पठाइदिएको चाहिँ कान्छी छोरीले हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो आमाको जन्मदिनको उपहार पठाइदिएकी हुन्,धेरै नै खुसी लाग्यो।

तपाइको छोरी अष्ट्रेलिया जानुभएको कति भयो? उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
मेरी छोरी अष्ट्रेलिया गएको चाहिँ दुई वर्ष भयो। उम् थाहा छ नि ! अष्ट्रेलियाको सिड्नीमा बस्छन्।

छोराछोरी अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ?
मलाई त मेरो छोराछोरी आफ्नै देशमा बसिदिएको राम्रो लाग्थ्यो नि ! तर उनिहरुको भविष्य कहाँ बन्छ, त्यो पनि हेर्न र सोच्न पर्छ। उनिहरुको भविष्य सोचेर पनि खुसी नै लाग्छ।

चाडपर्वहरुमा छोरीको कत्तिको सम्झना आउँछ?
आफ्नो सन्तान आफूबाट टाढा भएपछि कसलाई पो सम्झना नआउला र आईहाल्छ नि। उनिहरु चाडपर्वमा उता भए पनि हामीले सम्झिरहेका हुन्छौ,अहिले त सामाजिक संजालको माध्यमबाट कुरा भईरहेको पनि हुन्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आफ्नो पढाईको लागि गएकी हुन्,जे भए पनि पढाई जस्तो चिज चाहिँ रोक्न हुदैन। उतै केहि गरेर आउनि सोच लिएर गएकी छिन्, आफ्नो भविष्य अष्ट्रेलियामा बन्छ भने मैले रोक गर्नी कुरा पनि आउदैन नि होइन र।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
दुई पटक गएको छु। एकचोटी २०७२ सालमा गएको थिएँ, छोरा भएको ठाउँमा घुम्नको लागि। त्यति बेला भुकम्पआएर चार महिना मात्रै बसेर आएको थिएँ र अर्को चोटी चाहिँ कान्छी छोरीको बिहे गरिदिन गएँ २०७६ सालमा, १४ महिना बसेर आएको थिए । अब जानी सोच चाहिँ छैन किनकि अब त उमेर पनि ७८ वर्ष भयो,फेरी पनि बोलाएका छन् तर उमेर धेरै भईसक्यो बुढो मान्छे जाँदाजाँदै केहि हुन्छ कि भनेर,अब चाहिँ आफ्नो प्राण गए पनि आफ्नै देशमा नै जाओस भन्नि सोच छ।

तपाईंलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ ?
त्यहाँको ठाउँ सुरक्षित छ,प्रत्यक्ष रुपमा सफा सुग्घर छ। फोहोर मैला कहिँ पनि देख्नु पर्दैन,त्यहाँको सरकारले नेपालबाट गएको मान्छेलाई धेरै नै सहयोग गर्छन् । नेपालमा भन्दा त्यहाँ धेरै कुराको सुविधा छ,त्यहाँ प्रदुषणले गर्दा बिरामी भईन्छ कि भनेर डराउनु पनि पर्दैन किनकि त्यहाँको वातावरण एकदमै स्वच्छ छ। नराम्रो त केहि पनि छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ?
आफ्नो देश छोडेर विदेशमा सेटल हुनु उचित त होइन तर नेपालको स्थितिले गर्दा चाहिँ नेपालीहरु विदेश जानु परेको छ। तर पनि मलाई चाहिँ के लाग्छ भने सकेसम्म नेपालमा केहि गरेर खानु नसके आफ्नो घरमा जे हुन्छ त्यसैमा रमाउन सिक्नु, चाहे त्यो घरमा ढेडो गुन्द्रुक मात्रै पाकिरहे पनि त्यसैमा रमाउनपर्छ। सुखको कुरा भनेको “एक ऋण नलाउनु अर्को विदेश नजानु हो” भन्छन् त्यसैले मलाई चाहिँ स्वदेशमा नै बसेको ठिक लाग्छ। यदी करियर बनाएर फर्किन चाहनुहुन्छ भने त्यो ठिकै छ तर उतै सेटल हुने चाहिँ ठिक लाग्दैन।

अष्ट्रेलिया रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
अष्ट्रेलिया बसे पनि आफ्नो संस्कार नभुल्नु,आमा बुवा प्रति सधै माया गर्नु। जहाँ जस्तो ठाउँमा भए पनि आफ्नो घर परिवार नबिर्सिनु । मेरो छोराछोरीलाई धेरै सम्झना छ।