‘अष्ट्रेलियामा कमाउने ५० हजार र नेपालमै बसेर कमाएको १५ हजारमा नेपालकैले जित्छ’

0
2056

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरु संग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौं, बत्तीस पुतली घर हुनुभएका मेघ राज सापकोटासंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो?
मेरा छोरा बुहारीले पठाईदिएका हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
एकदमै खुसी लाग्यो। हाम्रो छोराहरु बुहारीहरु, छोरी ज्वाई, नाति नातिना सबै उतै छन् हामीलाई जहिले पठाइदिने गर्छन्। अहिले चाहिँ कान्छो छोरा बुहारीले पठाईदिएका हुन्।

तपाईंको छोरा अष्ट्रेलिया जानुभएको कति भयो?
२०७० सालमा गएको हो सानो छोरा । ठूलो छोरा चाहिँ २०६४ सालमा गएको हो।

तपाइलाई छोरा बुहारीहरु, छोरी ज्वाईहरु अष्ट्रेलिया गएकोमा कस्तो लाग्छ?
आफ्नो बच्चाहरु आफूबाट टाढा हुँदा खुसी त पक्कै लाग्दैन होला ! तर उनीहरुको खुसीमा नै हाम्रो खुसी छ, उनीहरु उतै रमाईरहेका छन्। हामीलाई पनि सम्झेका छन्, ठिकै लाग्छ।

चाडपर्वहरुमा छोरा बुहारीहरु, छोरी ज्वाईहरुको कत्तिको सम्झना आउँछ ?
याद त आउँछ नि ! चाडपर्वमा मात्र नभई अरु बेला पनि उनिहरु टाढा छन् भन्ने थाहा छ। भनेको समयमा भेट्न जान पनि पाइदैन। अहिले त सञ्चारको मध्यमबाट कुरा भइरहन्छ। यता पनि हाम्रो आफ्नै दाजु भाइका छोरा छोरीहरु पनि छन्। उनीहरुलाई पनि आफ्नै जस्तो लाग्छ। त्यही भएर पनि होला अल्लि हल्का हुन्छ, संगै भए जस्तो लाग्छ।

नेपाल फर्किए हुन्थ्यो जस्तो लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
नेपालमै आउनुपर्छ भन्छु म त। उनीहरुले आफ्नो करियर बनाएर साथै आफ्नो छोरा छोरीको भविष्यका लागि पनि केहि सोचेर फर्किएको राम्रो। हामी बाबु आमा घरमै छौं, नेपालमै। उनिहरु पनि आएर यतै केहि गरिदिए हाम्रो काखमा हुने थिए। अहिलेको समय पनि यस्तो छ कोभिडले गर्दा को कति बेला के हुन्छ भन्ने नै थाहा हुँदैन, संगै हुन पाए हामीलाई पनि ढुक्क हुने थियो।

तपाई कहिँल्यै अष्ट्रेलिया जानुभएको छ?

हामी बाबुआमा नै गएर घुमेर आइसकेका छौं। ३ चोटी गएर बसेर आएका हौं। सुरुमा २ चोटी ६/६ महिना बसेर आएपछि फेरी गएर १ वर्ष बसेर आइयो।

तपाईंलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ?
धेरै कुरा राम्रो छ।अष्ट्रेलियाको हावापानी, सरसफाई, नियम कानुन, त्यहांको अनुशासन र त्यस ठाउंमा बस्ने हर कोहि जहाँसुकैबाट आउन त्यो मतलब भएन, त्यहाँ बस पछि पुरै सुरक्षा सरकाले गर्छ। हामीले जति सुनेका छौं नि, त्यो भन्दा धेरै राम्रो छ अष्ट्रेलिया। कल्पना भन्दापनि बाहिर छ। नराम्रो त्यहाँको केहि लागेन खासै मलाई अष्ट्रेलिया पुगेपछि।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ?
सकेसम्म नबस्नु भन्न चाहन्छु। अष्ट्रेलियामा जे जस्तो काम पनि गर्न तयार हुन्छौं नि! त्यसरीनै नेपालमा पनि गर्ने हो भने यही पनि राम्रो तलब पाउन सकिन्छ। अष्ट्रेलिया गएर कमाएको महिनाको नेपाली ५० हजार र नेपालमै बसेर कमाएको १५ हजार मा ,१५ हजारले नै जित्छ। किनकि आफ्नो परिवारको साथमा बसेर उनीहरुसंग मिठो नमिठो घरमै उब्जिएको खाना खाएर काम गर्न जान पाइन्छ। बेलुका घर थाकेर आउँदा आमाले पकाएर राखेको खान पाउँदा छुट्टै आनन्द आउँछ। काममा थाकेको कुरा आफ्नो परिवारसंग बस्दा गफ गर्दा बिर्सिन पनि सकिन्छ। बाहिर अरुको देशमा कसैलाई कसैको मतलब हुदैँन। घुम्न, देख्न पर्छ बाहिर पनि जानु, तर उतै सेटल नहुनु। आउनु नेपालमै केहि सिप लिएर भन्न चाहन्छु।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
राम्रोसंग बस्नु ,सबै जनाले आफ्नो ख्याल गर्नु। हाम्रो धेरै चिन्ता नलिनु , हामी ठिकै छौं। धेरै सम्झिएका पनि छौं तिमीहरु सबैलाई।