एनआरएनए अष्ट्रेलिया, युवाको आशा र निर्वाचन अभियानको मेरो अनुभव: प्रकाश काजी थापा

0
333
  • प्रकाश काजी थापा, मेलबर्न, अष्ट्रेलिया

तँ को होस् भनेर कसैले सोध्दा म आफूलाई एउटा सपना बोकेको युवा व्यवसायी या उद्धमी भन्न मन पराउँछु। समाजसेवीको परिभाषा मलाई बृहद लाग्छ। म सामाजिक काममा सधै अग्रसर हुने मान्छे, तर आफूलाई समाजसेवी भनेर कसैको अगाडी परिचित गराउन अप्ठ्यारो लाग्छ। सामाजिक कामका लागि रात-दिन नभनेर सधै तत्पर रहने व्यक्तिहरुको संगत गरेको छु।

आफ्नो दैनिक जीवनशैली लथालिङ्ग बन्दा पनि सम्हालिंदै अरुलाई साहरा दिन हिंड्ने व्यक्तिहरुलाई चिनेको छु। मैले आफ्नो भविष्यका लागि योजना बनाउंदै गर्दा सम्पूर्ण समुदाय र देशको भविष्यलाई लिएर चिन्तन गर्ने व्यक्तिका आवाज महसुस गरेको छु। सायद त्यसैले पनि मलाई समाजेवीको परिभाषा बृहद लागेको हो।

भर्खर गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन सम्पन्न भएको छ। संस्थाका काम, प्रक्रिया, गतिविधिलाई लिएर केही निराशा नभएका होइनन्, तर त्यसभित्र अहिलेसम्म भएका प्रयासहरुलाई, देखिएका आशा, सम्भावनाहरुलाई कसरी बेवास्ता गर्न सकूँ ? त्यसैले मैले नेपथ्यमा बसेर आलोचना गर्ने विकल्पलाई छोडेर मैदानमा उत्रिएकाहरुलाई साथ दिने विकल्प रोजें।

यसबीचमा म स्वयम् आलोचनाहरुको निशाना पनि बनें। तर मैले आफूले सोंचेर र बुझेर रोजेको निर्णयका कारण विचलित हुनुपर्ने कुनै कारण थिएन। हामी युवामा यो उत्साह केशव कंडेल दाइको सफल कार्यकालले पनि थपिदिएको हो। दाइलाई धन्यवाद र सफल कार्यकालका लागि बधाई पनि।

यसपाली मेरो साथ नन्द गुरुङ दाइका लागि थियो। धेरैलाई लामो चिनजान, अन्य प्रभाव लाग्यो होला, तर नन्द दाइ र मेरो सम्बन्ध धेरै लामो समय देखिको होइन। म आफू फुटबलको खेलाडी। समुदायका खेल गतिविधिमा सरिक हुँदै गर्दा नन्द दाइसंग परिचित भएँ। दाइ पनि खेलप्रति औधि रुची राख्ने र युवाहरुको सोंच बुझ्न मन पराउने व्यक्ति। पहिलो भेटमै दाइको त्यो व्यक्तित्व र व्यवहारले म प्रभावित भएको थिएँ।

त्यसपछि दाइका गतिविधिहरु पछ्याउंदै जाँदा, मैले उहाँमा समुदायका लागि सधै तत्पर व्यक्ति र युवाहरुका लागि आवश्यक अभिभावकको रुप पाएँ। संघर्ष र सफलताको आधारमा व्यवहार परिवर्तन हुने हाम्रो समाजमा पनि विनम्रता, शालीनता उहाँका विशेष गुण हुन्। मैले अघि भनें नि, समाजसेवीको बृहद परिभाषा, त्यसभित्र मैले नन्द दाइलाई भेट्छु।

चुनावी अभियान र त्यसपछि मतदान सकिएर नतिजा आउँदा मलाई यस्तो लाग्यो, मेरो आशाले जित्दैछ, एनआरएनए संस्थाले सम्भावनाहरु भेट्दैछ र समग्र नेपाली समुदायले नेतृत्व पाउँदैछ। नन्द दाइ, हामी युवाहरुलाई तपाईंको सोंच, व्यवहार र तपाईंका एजेन्डाहरुले तपाईंतर्फ तानेका हुन्।

अहिलेको एनआरएनएको कार्यशैली भनेको नेपाली समुदायको भविष्य हो। यसअर्थमा हामीले नेपाली समुदायको आउँदो पुस्ताको भविष्य तपाईंको हातमा सुम्पेका छौं। एकता, सद्भावलाई जोड दिंदै हाम्रा आशाहरुलाई जीवित राखिदिनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं।

आलोचना खेप्दै गर्दा पनि चुनावी अभियानमा सहयोग गर्नुहुनेको साथले म आफ्नो निर्णयमा दृढ बनेर लाग्न सम्भव रह्यो। त्यसलाई सम्भव बनाउन सहयोग गर्नुहुने आदरणीय दाइहरु सोम प्रसाद गुरुङ, दुर्गा आचार्य, देवेन्द्र बस्नेत, बिनित शर्मा, इथान शाक्य, विवेक थापा, सुरेन्द्र सापकोटा र साथीहरु विनोद लामा, ज्ञानेन्द्र उप्रेती लगायत सम्पूर्णप्रति आभारी छु। हामी सबैको मेहनत र आशा अब नन्द गुरुङ दाइ लगायत निर्वाचित नयाँ कार्यसमितिलाई सुम्पेका छौं। यसलाई जोगाइराख्नुहुनेछ भन्ने विश्वास सहित हार्दिक बधाई तथा शुभकामना।