
मेलबर्न। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको निर्वाचनबाट मेलबर्नवासी बबिन मिश्र एनसीसी युवा संयोजक पदमा विजयी हुनुभएको छ।
एनसीसी युवा संयोजक पदमा बबिन मिश्र र न्यू साउथ वेल्सवासी महेश प्रसाई (म्याक्स)ले उम्मेद्वारी दिनुभएको थियो। जसमा मिश्रले ७ हजार ८ सय ६६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने प्रसाईले ४ हजार ४ सय ७५ मत प्राप्त गर्नुभएको थियो ।
नेपालमा चितवन घर हुनुभएका मिश्र पेशागत रुपमा रजिस्टर्ड नर्स तथा व्यवसायीको रुपमा चिनिनुहुन्छ। बबिन मिश्रले २०१९-२१मा भिक्टोरिया राज्यका लागि युवा संयोजकको रुपमा एनआरएनए अष्ट्रेलियामा काम गरिसक्नुभएको छ। मिश्रका अनुसार, उहाँले आफ्ना एजेन्डामा नेपाली युवाहरुका लागि बहुआयामिक र दिर्घकालिन योजनाहरु समावेश गर्नुभएको छ। आफ्नो विचार र एजेन्डामाथि विश्वास गरेर साथ दिने सम्पूर्ण मतदातालाई धन्यवाद दिंदै मिश्रले समुदायप्रति आफू सधै प्रतिबद्ध रहने बताउनुभयो।