एनआरएनएलाई राजनीतिक नजरबाट हेरिनु साँघुरो मानसिकताको उपज हो: टोनु घोथाने

0
611

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन जुलाई ३१, शनिबार सम्पन्न भएको छ। एनआरएनए अष्ट्रेलियाका हाल सम्मका कार्य, निर्वाचन, नतिजा, अबका अपेक्षा लगायत विषयमा हामीले एनआरएनए अष्ट्रेलियाका पूर्व (२०१७-१९) अध्यक्ष टोनु घोथानेजीसंग कुराकानी गरेका छौं। मेलबर्नमा बसोवास गर्दै आउनुभएका घोथाने कानुनी पेशामा आबद्ध हुनुहुन्छ।

एनआरएनए अष्ट्रेलियाको यसपालीको चुनाव र नतिजालाई कसरी हेर्नुभएको छ ?
२००५ को स्थापनाकाल देखि यता एनआरएनए अष्ट्रेलिया हरेक वर्ष, हरेक कार्यकालमा बलियो बन्दै आइरहेको छ। चुनावमा कसले जित्यो भन्ने भन्दा पनि सरोकारवाला सबै मिलेर काम गर्ने कुरा महत्त्वपूर्ण हुन्छ। समुदायलाई योगदान दिएका व्यक्तिहरु अगाडी आउनुभएको छ, खुसी लागेको छ। अर्को कुरा, कोभिडका कारण यसपालीको चुनाव अनलाइन मार्फत भएको छ। यो महामारीको समयमा पनि चुनावलाई सही समयमा र व्यवस्थित तरिकाले सम्पन्न गरेकोमा वर्तमान कार्यसमिति तथा निर्वाचन टिमलाई म धन्यवाद दिन चाहन्छु।

एनआरएनएमा सक्षमताका आधारमा भन्दा राजनीतिक गुट-उपगुटका आधारमा नेतृत्व चयन गरिन्छ भन्ने आरोप छ नि !
यो एकदमै साँघुरो मानसिकता मान्छु म। अहिलेको चुनावमा उठेका व्यक्तिहरुलाई नै हेरेर भन्नुस्, के उनीहरु राजनीतिको आडमा चुनावमा उठेका हुन् ? के उनीहरुले नेपाली समुदायका लागि केही गरेकै छैनन् ? यदि उनीहरु योग्य नै छैनन् भने किन त्यति धेरै व्यक्तिको भोट पाउँछन् ? एनआरएनएको चुनावमा उठ्ने सबैजसो व्यक्ति सामुदायिक काममा सधै अग्रपंक्तिमा रहने व्यक्ति हुन्। चुनावमा स्वाभाविक रुपले समूहगत साथ रहन्छ, तर एनआरएनए संस्थामा आउने व्यक्ति विशुद्ध सामाजिक हितलाई सम्झेर काम गर्छ। बाहिर बसेर औंला उठाउनु जति सहज छ, यहाँको व्यस्त जीवनशैलीमा सामाजिक कामका लागि समय छुट्टाउनु त्यो भन्दा कठीन छ। तर पनि नेतृत्वमा पुग्नेहरु समाजप्रतिको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गरेर त्यहाँ पुगेका हुन्छन्।

असन्तुष्टिको कुरा गर्दा, एनआरएनएप्रति युवाहरु अझ बढी असन्तुष्ट देखिन्छन्, किन होला ?
युवाहरुका प्राथमिकता र एजेन्डा फरक हुन्छन्। त्यही अनुसार, उनीहरुका समस्या पनि फरक हुन्छन्। विद्यार्थी जीवनमा संघर्ष धेरै हुन्छ, त्यसैले उनीहरुमा अरुबाट आशा धेरै हुन्छ। जसले गर्दा असन्तुष्टि निम्तिन्छ। अहिले त विद्यार्थीहरुका लागि एडभाईजरी काउन्सील पनि छ। त्यस्तै, अप्ठ्यारो स्थितिमा संस्थाले विद्यार्थीहरुलाई सहयोग पनि गरेकै छ। अर्कोतिर, यसपाली एनआरएनएको सदस्यता लिने विद्यार्थीको संख्या उल्लेख्य छ। पढाइ सकेर पीआरको बाटोमा रहेका युवाहरु एनआरएनएसंग जोडिएका छन्। र, एनआरएनएलाई युवाहरुको खाँचो पनि छ। युवा जोस र रचनात्मक सोंच संस्थालाई सधै आवश्यक हुन्छ।

तपाईंले आफ्नै कार्यकाललाई पनि फर्केर हेर्दा, नेपाली समुदायले अपेक्षा गरेअनुसारका कामहरु भइरहेका छन् त ?
मानिस सधै असन्तुष्ट हुन्छ। एउटा कुरा पुग्यो भने त्यो पनि भए हुन्थ्यो, या त्यो तरिकाले भएको भए हुन्थ्यो भन्ने सधै हुन्छ। अझै राम्रो भइदिएको भए हुन्थ्यो भन्ने चाहनु मानवीय स्वभाव नै हो। अर्कोतिर, हामीले चाहेको परिवर्तन एकै पटकमा होस् भन्ने चाहन्छौं। तर संस्थामा प्रक्रिया हुन्छ, नियम हुन्छ। त्यो सबैलाई मिलाएर काम गर्नुपर्ने हुन्छ। त्यसैगरी, काम गर्ने अवधि भनेको दुई वर्ष मात्र हुन्छ र त्यसबीचमा पनि विभिन्न चुनौतीको सामना गर्नुपर्ने हुन्छ। यसरी हेर्दा हामीले समुदायलाई चित्त बुझ्ने गरी काम गरिरहेका छौं भन्ने लाग्छ। नेपाली समुदाय, नेपाल मात्र नभएर विपत्ति आएको समयमा हामीले अष्ट्रेलियालाई नै पनि सहयोग गरेका छौं, डढेलोको समयमा एनआरएनएले सहयोगको हात अगाडी बढाएको थियो। कोभिडको समयमा नेपाली समुदायको सहयोगका निम्ति संस्थाले प्रशंसनीय काम गरेको छ। दर्ता भई विधान अनुरुप काम गर्दै संस्थाले मानसिक स्वास्थ्य, घरेलु हिँसाका घटनामा उल्लेखनीय काम गरेको छ। हरेक वर्ष, हरेक कार्यकालमा राम्रो हुँदै आइरहेको छ।

एनआरएनएले अहिले सम्म सम्बोधन गर्न नसकेका नेपाली समुदायका मुद्दाहरु के-के छन् होला ?
नेपाली समुदाय हरेक वर्ष विस्तार भइरहेको छ। समुदाय जति विस्तार भयो, त्यति नयाँ समस्या र सम्भावना देखिन्छन्। त्यस्तै समय अनुसार परिवर्तन हुने परिस्थितिले पनि फरक पार्छ। अहिलेको स्थितिमा चाहिं मलाई मानसिक स्वास्थ्य र घरेलु हिँसाका घटनामा पर्याप्त काम हुन बाँकी छ जस्तो लाग्छ।

तपाईंको कार्यकाल पछिको कार्यसमिति अर्थात यो २०१९-२१ को कार्यसमितिले गरेका कामहरुको कसरी समिक्षा गर्नुहुन्छ ?
यो कार्यसमितिलाई कोभिड मूख्य चुनौती बनेर आइदियो। यो स्थिति हामी सबैका लागि नयाँ थियो। तर पनि साथीहरुले नेपाली समुदायका विद्यार्थी लगायत कोही पनि व्यक्ति समस्यामा नपरोस् भनेर खट्नुभयो। आफ्नै ज्यान जोखिममा राखेर राहत उपलब्ध गराउन थाल्नुभयो। नेपालमा एक सय वटा अक्सिजन कन्सनट्रेटर पठाउनुभयो। निकै नै उदाहरणीय काम गर्यो यो कार्यसमितिले। अहिले संस्थाको सदस्यता लिनेको संख्या बढ्नु पनि उहाँहरुको काम कै नतिजा हो।

तपाईंको आफ्नो अनुभवको आधारमा भन्दा, अबको नयाँ कार्यसमितिका लागि कस्ता चुनौतीहरु देख्नुहुन्छ ?
चुनौती त जहिले पनि, जहाँ पनि हुन्छ नै, चाहे त्यो प्रत्यक्ष होस् या अप्रत्यक्ष। मेरा लागि एनआरएनए अष्ट्रेलियालाई सबल तरिकाले संस्थागत गर्ने चुनौती थियो भने अहिले कोभिडले निम्त्याएको अवस्था मूख्य चुनौती भएको छ। समुदायमा बढ्दै गएको मानसिक स्वास्थ्य र घरेलु हिँसा सम्बन्धि घटना अर्को चुनौती हो। त्यसैगरी नयाँ पुस्तालाई समेट्नु र विद्यार्थीका माग सम्बोधन पनि यो कार्यसमितिका लागि चुनौतीको रुपमा रहने देखेको छु।

ती चुनौतीको सामना गर्दै र आलोचकहरुलाई समेटेर जानका लागि अध्यक्षले कस्तो पहल गर्नुपर्ला ?
मूख्य काम पारदर्शिता हो। यदि पारदर्शीता भयो भने आफ्नो टिम, समर्थक लगायत सम्पूर्ण नेपाली समुदायको साथ रहन्छ र आफ्ना योजना कार्यन्वयनमा ल्याउन सहज हुन्छ। तर यदि पारदर्शीता भएन भने आफ्ना समर्थकले पनि आफूप्रति विश्वास गुमाउने अवस्था आउँछ र संस्था भद्रगोल हुनपुग्छ।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि ?
निर्वाचित कार्यसमितिलाई बधाई दिन चाहन्छु। एनआरएनएमा समाजसेवाको भावनाले उम्मेद्वारी दिइने हो, त्यसैले पराजित साथीहरुले पनि यसलाई सहज तरिकाले स्वीकार गर्दै हातेमालो गरेर अगाडी बढ्नुपर्छ। र, हामी सबै नेपाली समुदायले नेतृत्वलाई आलोचना मात्र गर्ने भन्दा पनि रचनात्मक सुझाव दिने र बेला-बेलामा खबरदारी गर्ने गर्नुपर्छ। यसले संस्थालाई अझ बलियो बनाउँछ। एनआरएनए अष्ट्रेलिया हामी सबैको साझा संस्था हो, त्यसैले यसलाई बलियो बनाउने जिम्मवारी हामी सबैको हो।