एनआरएनएको चुस्त सिस्टम र विद्यार्थीका लागि रोजगारी सिर्जना मेरा मूख्य एजेन्डा: देव गुरुङ

0
313

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी जुलाई ३१ मा निर्वाचन हुँदैछ। सो निर्वाचनमा एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका लागि देव बहादुर गुरुङले उम्मेद्वारी घोषणा गर्नुभएको छ। यसअघि एनआरएनए अष्ट्रेलियामा उहाँले सचिव (२०१७-१९) र उपाध्यक्ष (२०१९-२१) पदमा रही जिम्मेवारी निर्वाह गर्नुभएको छ।

हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गर्दै आउनुभएका गुरुङ ब्रिटिस साथै अष्ट्रेलियन आर्मीमा कार्यरत हुनुहुन्थ्यो भने हाल पूर्ण रुपमा सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको छ। पूरानो घर पर्वत र पछि पोखरा हुँदै करियरको सिलसिलामा धेरै देश पुग्नुभएका गुरुङ्गले अष्ट्रेलियामा रहँदा समाजसेवामा क्रियाशील रहेबापत स्थानिय काउन्सिलबाट अवार्ड समेत प्राप्त गर्नुभएको छ। सामाजिक सक्रियता, एनआरएनए अष्ट्रेलियाको चुनावी माहोल, वर्तमानका कार्य तथा भविष्यका योजना, अध्यक्षको रुपमा उठाइएका एजेन्डा, चुनौती तथा अवसर लगायत कुराहरुलाई लिएर देव बहादुर गुरुङजीसंग हिमालयन कंगारु टिमले कुराकानी गरेका छौं।

एनआरएनए अष्ट्रेलियासंग कसरी आबद्ध हुनुभयो ?
म १९ वर्षमा नै ब्रिटिस आर्मीमा भर्ति भएर हङकङ पुगें। सन् १९८५ मा नेपाल छोडेको हूँ। त्यसपछि म यूकेमा हुँदा २००३ मा एनआरएनए जन्मियो, संस्थापन भयो भनौं। स्थापनाको सुरुवाती दिनमा बढी चासो हुने नै भयो। त्यस लगत्तै २००५ मा म अष्ट्रेलिया आएँ। यहाँ म अष्ट्रेलियन आर्मीको रुपमा आएको हूँ। म यता आइसकेपछि यहाँ पनि एनआरएनए संस्थागत रुपमा शुरु भयो। प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एनआरएनएका कार्यहरुमा संलग्न हुन थालियो। समुदायका अन्य सामाजिक क्रियाकलाप, सामाजिक संस्थाहरुमा पनि सधै संलग्न हुँदै आएँ। २००९ देखि २०१३ सम्म गुरुङ समाज अष्ट्रेलियाको अध्यक्ष रुपमा मैले काम गरें। दुई कार्यकालसम्म अध्यक्ष रहेको थिएँ। २०१५ देखि २०१७ सम्म गोर्खा नेपलीज कम्युनिटीको उपाध्यक्ष भएर काम गरें। त्यसपछि चाहिं म एनआरएनएको कार्यसमितिमा आएँ। २०१७-१९ मा म एनआरएनए अष्ट्रेलियाको केन्द्रिय सचिव भएर काम गरें भने हालको कार्यकालमा म उपाध्यक्ष पदमा छु। त्यस्तै, नेपलीज अष्ट्रेलियन एसोसिएसन, गोर्खा नेपलीज कम्युनिटी, गुरुङ समाज सिड्नी, पोखरा समाज अष्ट्रेलिया, एनआरसी क्लब, साहरा क्लब, नेपाली कला संस्कृति सम्बर्द्धन प्रतिष्ठान लगायत संस्थाहरुमा म सल्लाहकारको रुपमा रहेको छ। यसरी हेर्दा, सामाजिक काममा क्रियाशिल रहन मन पराउने भएकै कारण एनआरएनएप्रति आकर्षित भइयो भनौं। संस्थाप्रतिको त्यही आकर्षण र विश्वासले नै अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गर्ने निर्णयमा पुगें।

आर्मीको कठिन जागिरमा रहँदा रहँदै पनि यता सामाजिक काममा कसरी सक्रिय रहनुभयो ?
आर्मीमा मैले धेरै समय प्रशिक्षण विभाग, अपरेसन म्यानेजमेन्ट, वेलफेयर विभागमा रहेर काम गरें। यता समुदायमा संस्थाहरु त थिए, तर सही व्यवस्थापन र मार्गनिर्देशनको खाँचो थियो। मैले मेरो जागिरको अनुभव समुदायका संस्थाहरुमा लगाउन थालें। त्यो अनुभवले निकै प्रभावकारी काम गर्यो। त्यसपछि म निरन्तर सामाजिक काममा सहभागी भएँ। सामाजिक काममा सक्रिय भएकै कारण यहाँको स्थानिय काउन्सिलले मलाई अवार्ड समेत प्रदान गरेको थियो। मेरो अनुभवले एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका लागि पनि सघाउ पुग्नेछ भन्नेमा म विश्वस्त छु।

हजुरको आर्मी पृष्ठभूमीले कसरी अध्यक्ष पदका लागि सघाउ पुग्छ ? प्रष्ट बताइदिनुहोस् न !
अनुशासन, पारदर्शीता, समयको महत्त्व, निरन्तर सिकाई, सबैलाई समान रुपले सम्मान मैले आर्मीमा सिकेका कुराहरु हुन्। कुनै संस्था डुब्छ नि, त्यो यीनै कुराको कमीका कारण हो। र, हामी धेरैजसो नेपालीले यी कुराहरुलाई बेवास्ता गरिरहेका हुन्छौं। एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा पुगेको खण्डमा मैले यी कुरालाई महत्व दिंदै चुस्त सिस्टम बनाउनेछु। जब सिस्टम चुस्त हुन्छ, तब सबै काम समयमा हुन्छन्, सबै काम प्रभावकारी हुन्छन्। यदि सिस्टम चुस्त भएन भने हामीले जतिसुकै ठूला एजेन्डा अगाडी लिएर हिंडे पनि सधै पछाडी रहन्छौं।

सिस्टमको कुरा गर्दा, एनआरएको सिस्टम भद्रगोल छ, अनलाइन सिस्टम समेत झन्झटिलो छ भन्ने आरोप छ नि?
सुधारोन्मुख छ। अर्कोतिर, केही कुरा विधानले पनि बाँधेको हुन्छ भने केहि कुरा मैले माथि उल्लेख गरेका कुराहरु नभएका कारण पनि भद्रगोल हुन्छ। मेरो प्रमुख एजेन्डा भनेको चुस्त सिस्टम हो। यस्तो सिस्टम, जसले झन्झट होइन सहज महसुस गराओस्। यसका लागि संस्थाको काम गर्ने सिस्टमदेखि, वेबसाइट, हटलाइन सबै कुरामा इम्प्रुभ गर्न सकिन्छ।

तपाईंको पृष्ठभूमीले यी कुरामा सघाउ पुग्ला तर विद्यार्थी तथा युवाको समस्या चाहिं बुझ्नुहुन्छ भनेर कसरी विश्वस्त हुने ?
सबैकुरा आफैले भोगेको हुनुपर्छ भन्ने हुँदैन। म यहाँ पीआर भिसा सहित आएको हूँ, तर त्यसो भन्दैमा मैले अस्थायी भिसा हुनेहरुका दु:ख बुझ्दिन भन्ने हुँदैन। देखेको, सुनेको भरमा पनि धेरै बुझ्न सकिन्छ। जोसुकैलाई परेपनि हामी नेपाली हौँ, महसुस गर्न सकिन्छ नि। त्यसमा पनि अहिले कोभिडका कारण आएको परिस्थितिमा मैले विद्यार्थीहरुका दु:ख सुन्ने, उनीहरुलाई घर-घरमै गएर भेट्ने मौका पाएको छु। र, अध्यक्ष भएको खण्डमा युवाहरुका समस्या, माग र सुझावहरुलाई मनन गर्नेछु। मेरो एउटा एजेन्डा यहाँ अष्ट्रेलियामा लगानी भन्ने छ। त्यसमा मैले फार्ममा एनआरएनको सामूहिक लगानीको अवधारणा बनाएको छु। यस मार्फत एनआरएनहरुका लागि व्यवसायिक फाइदा त हुने नै भयो, विद्यार्थीहरुका लागि रोजगारी सिर्जना गर्नु मेरो प्रमुख उद्देश्य हो। यसले गर्दा हामीले हाम्रा नेपाली विद्यार्थीहरुलाई काम दिन सक्छौं। सहयोगमा केही रकम दिनुभन्दा पनि उनीहरुलाई सहयोग नै माग्नु नपर्ने गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्छ भन्ने मेरो मान्यता हो। र, आपतको स्थितिमा आर्थिक सहयोग पनि गर्छौं नै। अहिले मैले उठाएका एजेन्डामा पनि बताएको छु कि, विद्यार्थी कल्याणकारी कोष स्थापना गर्नेछु। अष्ट्रेलिया आउनुभन्दा पहिले विद्यार्थी र अभिभावकलाई अनिवार्य कक्षा दिने व्यवस्थाको लागि पहल गर्नेछु। उक्त कक्षामा यहाँका साना भन्दा साना कुराहरुदेखि लिएर आइपर्न सक्ने चुनौतीको बारेमा जानकारी गराइनेछ।

एनआरएनए अष्ट्रेलियाको आफ्नै कार्यालय समेत नभएको अवस्थामा यी एजेन्डाहरु उठाइनु चुनावी लड्डु मात्र हो भन्ने युवावर्गको आरोप छ, यसमा के भन्न चाहनुहुन्छ ?
यो सत्य हो कि, एनआरएनए अष्ट्रेलियाको आफ्नै कार्यालय मेलबर्नमा संचालनमा आएको छ तर त्यति व्यवस्थित छैन। मैले कार्यालय बनाएर, प्राशासकीय काम सबै चुस्त हुने गतीले अगाडी बढ्ने योजना बनाएको छु। यो मेरो प्रमुख एजेन्डा मध्ये दोस्रो स्थानमा रहेको छ। यसमा मैले अष्ट्रेलियाभर नै नेपाली कम्युनिटी सेन्टर निर्माण गर्ने योजना पनि बनाएको छु।

नेपाली कम्युनिटी सेन्टरका लागि नेपाली समुदायका अन्य संघ संस्थाले पनि पहल गरिरहेका छन् नि !
छुट्टाछुट्टै होइन, एक भएर गर्यौं भने हाम्रा सबै सपना साकार हुन्छन्। मैले आफ्नो एजेन्डामा नेपाली संघ संस्थाहरुसंग ‘कन्सल्टेसन एण्ड कोल्याबरेसन’ समावेस गरेको छु। जति पनि संघ संस्था छन्, उनीहरुले गरेका काममा साथ दिंदै सबैसंग हातेमालो गरेर अगाडी बढ्ने योजना बनाएको छु।

एनआरएनएलाई अभिभावक संस्थाको रुपमा हेरिरहँदा, आर्थिक रुपमा भने पछाडी रहेको देखिन्छ, होइन र ?
यो सत्य हो। संस्था चल्ने भनेको सदस्यता शुल्क र दाताहरुको सहयोगबाट हो, जुन अहिले पर्याप्त छैन। कार्यगत हिसाबले, आर्थिक रुपले, सबैतिरबाट संस्थालाई मजबुत र प्रभावकारी बनाउनका लागि मैले अष्ट्रेलिया सरकार र नेपाल सरकारसंग लबिङ्ग गर्नेछु। यो मेरो एउटा एजेन्डा हो। अर्को एजेन्डा, संस्थालाई ट्याक्स डिडक्टेबल बनाउने रहेको छ। ट्याक्स डिडक्टेबेल बनायौं भने संस्थामा आर्थिक सहयोग धेरै संकलन हुनेछ, जसले गर्दा हामीले धेरै कामहरु गर्न सक्छौं, धेरैलाई सहयोग गर्न सक्छौं।

एनआरएनएमा सामूहिक लगानीको पनि कुरा उठेको लामो समय भयो, तर प्रभावकारी देखिएन भन्ने आलोचना हुन्छ। यसबारेमा तपाईं अध्यक्ष हुने कार्यसमितिबाट कस्तो अपेक्षा गर्न सकिन्छ ?
मैले एउटा स्थानीय स्तरमा लगानी र एउटा नेपालमा लगानी गरेर दुई योजना बनाएको छु। अष्ट्रेलियामा फार्म हाउस खोलिनेछ। त्यसबाट विद्यार्थीहरुका लागि काम सिर्जना गर्न समेत सकिनेछ। त्यसैगरी, नेपालमा पनि कृषि क्षेत्रमा लगानी गरिनेछ। यसरी लगानी गर्दा सातै प्रदेशलाई प्राथमिकतामा राखिनेछ।

यी बाहेक अष्ट्रेलियाको नेपाली समुदायको हितका लागि कस्ता एजेन्डा अगाडी सार्नुभएको छ ?
दोहोरो नागरिकता चर्चामा मात्र सिमित भयो। यो टुंगोमा पुगेको छैन। यो टुंगोमा पुर्याउनका लागि मैले नेपाल सरकारसंग लबिङ्ग गर्नेछु। त्यस्तै, अर्को एजेन्डा भनेको एनआरएनए अष्ट्रेलियाका सदस्यहरुका लागि केही सुविधा उपलब्ध गराउनेछु। अन्य एजेन्डा त माथी नै सबै आइसक्यो जस्तो लाग्छ।

अष्ट्रेलियामा हुर्किंदै गरेको दोस्रो पुस्ताका लागि तपाईं लगायत उम्मेद्वारहरुबाट सम्बोधन गरिएको देखिएन, उनीहरु एनआरएनएको भविष्य हुन् नि, होइन र ? यसरी बेवास्ता गर्न मिल्छ होला र ?
हामीले हाम्रो दोस्रो पुस्तालाई बेवास्ता त गर्नु नै हुँदैन। एउटा कुरा त, हामीले राम्रो काम गर्यौं, एनआरएनए अष्ट्रेलियाले राम्रो काम गर्यो भने उनीहरु स्वत: त्यसबाट प्रभावित हुन्छन् र अपनाई हाल्छन्। अर्को कुरा भनेको, नेपालको भाषा, कला, संस्कृतिको समबर्द्धन तथा प्रबर्द्धन हो। त्यसका लागि विभिन्न कार्यक्रमहरु हुँदै आएका छन्। तिनलाई निरन्तरता दिंदै बढाउंदै लैजानुपर्छ। नेपाली संघ संस्था सबैले यसमा सक्दो पहल गरिरहनुभएको छ र एनआरएनए अष्ट्रेलियाको ऐकेबद्धता पनि छ।

फर्केर हेर्दा, आफू उपाध्यक्ष रहेको वर्तमान कार्यसमितिले कत्तिको प्रभावकारीताका साथ काम गर्न सक्यो भन्ने लाग्छ ?
हाम्रो यो दुई वर्ष कोभिडले निम्त्याएको सेरोफेरोमै बित्यो भन्दा हुन्छ। जसका कारण हामीले दिर्घकालिन काम गर्ने भन्दा पनि सबैको अगाडी अभिभावक बनेर उभिनुपर्ने अवस्था आयो। बोर्डरमा कडाई हुँदा, नेपाली आमाबुवा फर्किन पाउनुभएन। त्यही समय टिकट महँगो भयो। हामीले सस्तो टिकटका लागि पहल गरेर मेरै नेतृत्वमा तीन वटा फ्लाइट सिड्नीबाट पठायौं। त्यसपछि हामीले विद्यार्थी भाइबहिनीलाई हेर्नुपर्ने भयो। हामीले उहाँहरुलाई राहत प्याकेज उपलब्ध गरायौं, भेट्यौं, सन्चो-बिसन्चो सोधिरहने गर्यौं। त्यसले भाइबहिनीहरुलाई केही सहज महसुस भयो होला भन्ने लाग्छ। कोरोना संक्रमण भएका भाइबहिनीलाई पकाएर फ्रेस खाना समेत लगिदियौ, मैले मेरै घरमा बनाएर समेत लगिदिएको थिएँ । फेरी नेपालमा महामारी चल्यो। अक्सिजनको अभाव भएका खबर आए। त्यसपछि हामीले एक सय थान अक्सिजन कन्सनट्रेटर नेपाल पठायौं।

राजनीतिक गुट-उपगुटले एनआरएनएको राम्रा काम पनि ओझेलमा पारिदियो भन्ने आरोप छ नि !
हामी सबै नेपाली यहाँ विदेशमा आ-आफ्नो दु:ख गरिरहेका छौं। त्यसैले हामी परिवार जस्तो हौँ। केहीले नेपालमा घटेको राजनीतिक घटनाक्रमलाई यहाँको समुदायमा घुसाउनुहुन्छ। नेपालमा राजनीतिक पार्टीहरुको लडाईले यहाँ तुरुन्त प्रभाव पर्नुपर्छ भन्ने मलाई लाग्दैन। एनआरएनए कुनै पार्टीगत नभई साझा संस्था हो, त्यसैले मिलेर हिडौं।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि ?
मलाई विश्वास छ, समाजप्रतिको मेरो लामों समयदेखिको निरन्तर नि:स्वार्थ लगानीले केही मनहरु जित्न सफल भएको छु। र मलाई पहिलेदेखि नै साथ दिंदै आउनुभएकोमा हार्दिक कृतज्ञ छु। अझै एक पटक विश्वास गरिदिनुस्। म मेरा एजेन्डाप्रति प्रतिबद्ध छु। मेरो लागि सिंगो नेपाली समुदाय सधै केन्द्रमा हुनेछ। सधै हजुरहरुको साथ र सुझावको अपेक्षामा हुनेछु।