अष्ट्रेलियाबाट ‘फार वेस्टर्न नेपलीज सोसाइटी अफ भिक्टोरिया’ले पठायो स्वास्थ्य सामग्री

0
846

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका सुदूरपश्चिमेलीहरुको संस्था ‘फार वेस्टर्न नेपलीज सोसाइटी अफ भिक्टोरिया’ ले नेपालका लागि स्वास्थ्य सामग्री पठाएको छ। संस्थाले कोरोना महामारी नियन्त्रणका लागि सहयोग गर्ने उद्देश्यले सुदूरपश्चिमका लागि स्वास्थ्य सामग्री पठाएको हो।

संस्थाका अध्यक्ष महादेव धानुकका अनुसार, कन्चनपुर, बैतडी, दार्चुला र डोटी गरी चार जिल्ला प्रशासन कार्यालयलाई करिब साढे दुई लाख बराबरको स्वास्थ्य सामग्री पठाइएको छ। साथै कैलालीमा केन्द्रीय कार्यालय रहेको ‘विकासमा सिर्जनशीलता नेपाल’ (सिआईडी नेपाल) मार्फत उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको छ।

यो सहयोगलाई फेरी पनि निरन्तरता दिने प्रयास रहने र बाँकी जिल्लालाई पनि समेट्ने उल्लेख गर्दै अध्यक्ष धानुक भन्नुहुन्छ, “आफ्नो मातृभूमीलाई परेको दु:ख देख्दा आफू जहाँसुकै भएपनि मन पोल्छ। थोरै भएपनि सहयोग होस् भन्ने उद्देश्यले हामीले सहयोग अभियान चलाएका थियौं। यसमा सहयोग गर्ने संस्थाका सम्पूर्ण सदस्य तथा दाताहरुप्रति म कृतज्ञ छु। त्यसैगरी यो सम्पूर्ण कुराको व्यवस्थापनका लागि हामीले प्रेम राज उप्रेती, कृष्ण महरा र विकास कुँवर गरी तीन जनाको समिति बनाएको थियो। उहाँहरुले जुनसुकै किसिमले आफ्नो जिम्मेवारी निभाउनुभयो, त्यसका लागि विशेष धन्यवाद दिन चाहन्छु। र, नेपालबाट समन्वय गर्नुहुने सिआईडी नेपालका अध्यक्ष डिल्लीराज भट्टप्रति म लगायत हाम्रो संस्था आभारी छ “।

चार वटै जिल्ला प्रशासन कार्यालयलाई २७ हजार थान सर्जिकल मास्क, ५ सय एमएलको सेनेटाइजर ३ सय थान, हेयर क्याप एक हजार, केएन ९५ मास्क ४२० थान र पल्स अक्सोमिटर ४० थान विरतण गरिएको सिआईडी नेपालका अध्यक्ष डिल्लीराज भट्टले जानकारी गराउनुभएको छ।

उक्त स्वास्थ्य सामग्री कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राजकुमार महतो, बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र डोटीका प्रमुख जिल्ला अधिकारी सुनील खनाललाई हस्तान्तरण गरिएको छ।