विद्यार्थी कल्याणकारी कोषदेखि इन्भेष्टमेन्ट कम्पनीसम्मको अवधारणा बनाएर उठ्दैछु: नन्द गुरुङ

0
440

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी निर्वाचनमा नन्द गुरुङले अध्यक्ष पदका लागि उम्मेद्वारीको घोषणा गर्नुभएको छ। उहाँले संस्थाको वर्तमान कार्यकाल (२०१९-२१) मा प्रवक्ता पदको जिम्मेवारी सम्हालिरहनुभएको छ। विद्यार्थीको रुपमा अष्ट्रेलिया आउनुभएका गुरुङ व्यवसायिक रुपमा स्थापित व्यक्तित्व हुनुहुन्छ भने सामाजिक काममा पनि व्यक्तिगत तवरले तथा संस्थागत रुपमा नेतृत्व गर्दै क्रियाशील रहँदै आउनुभएको छ। नेपालमा लमजुङ्ग घर भएका उहाँ हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गर्नुहुन्छ।

हिमालयन कंगारु टिमले एनआरएनए प्रवक्ता तथा आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएका नन्द गुरुङसंग, वर्तमान कार्यकालका उपलब्धि, नेपाली समुदायमा एनआरएनएप्रतिको भावना, विद्यार्थी तथा युवा मुद्दा, आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उहाँका एजेन्डा तथा योजना लगायत विषयहरुमा कुराकानी गरेको छ।

एनआरएनएमा कहिलेदेखि कसरी आबद्ध हुनुभयो ?
म विद्यार्थी भिसामा सन् १९९५ मा अष्ट्रेलिया आएको हूँ। संयोग कस्तो भयो भने म अष्ट्रेलिया आउनासाथ नेपालीहरुले आयोजना गरेको दशैं विशेष कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। विदेशमा बसेर पनि त्यसरी रमाइलो गर्दै दशैं मनाएको देख्दा मलाई अचम्म लाग्यो। यहाँको नेपाली समुदायप्रति सद्भाव जाग्यो र भावनात्मक रुपले नजिक महसुस गरें। त्यसपछि म सामाजिक काममा सरिक हुन थालेको हूँ। १९९६ मा तमु समाज सिड्नी स्थापना भयो, जसको संस्थापक मध्ये म पनि एक हूँ। त्यसपछि म व्यक्तिगत मात्र नभई संस्थागत रुपमा पनि सामाजिक काममा सक्रिय हुन थालें। २००५ मा आफू बसेको ठाउँ ग्रान्भिले गोर्खा नेप्लिज कम्युनिटी क्लब स्थापना गर्यौं। त्यसमा म संस्थापक सचिव थिएँ र पछि २०१२ मा अध्यक्ष भएर काम गरें। २००८ मा ग्रान्भिले राइनोज फुटबल क्लब स्थापना गर्यौं। यसरी विभिन्न संस्थासंग आबद्ध हुँदै काम गर्दै जाँदा एनआरएनएसंग जोडिन पुगें। एनआरएनए भनेको विदेशमा बस्ने सबै नेपालीको अभिभावक संस्था हो। त्यसैले यसमा जोडिएर काम गर्ने इच्छा जाग्यो। २०१५ मा म कार्यकारी सदस्यको रुपमा एनआरएनए अष्ट्रेलियासंग आबद्ध भएँ। २०१७-१९ को कार्यसमितिमा मैले उपाध्यक्ष तथा न्यू साउथ वेल्सको राज्य संयोजक भएर काम गर्ने मौका पाएँ। त्यसपछि वर्तमान कार्यसमिति अर्थात २०१९-२१ को कार्यसमितिमा म प्रवक्ताको जिम्मेवारी निभाइरहेको छु। यिनै अनुभव र आफ्ना केही नयाँ अवधारणा लिएर अबको कार्यकाल, २०२१-२३ मा अध्यक्ष पदका लागि उम्मेद्वारीको घोषणा गरेको हूँ।

आफू प्रवक्ता रहेको यो वर्तमान कार्यसमितिको कार्यकालको कसरी समिक्षा गर्नुहुन्छ ? उल्लेखनीय कार्यहरु के-के भए होलान् ?
निर्वाचित भइसकेपछि पदीय जिम्मेवारी पाउन केही महिना लाग्यो। जिम्मेवारी पाएको केही समय पछि नै कोरोना महामारी शुरु भयो। हाम्रा लागि चुनौतीहरु थपिए। दिर्घकालिन काममा भन्दा बढी तत्कालको समस्याको समाधान निकाल्नतर्फ लाग्नुपर्ने भयो। कोरोना महामारी शुरु भइसकेपछि अष्ट्रेलियाले बोर्डरमा कडाइ गरिदिएका गरिदिएका कारण घर जान चाहने नेपाली बुवा-आमा यता अड्किनुभयो। फर्कन पाउने अवस्थामा पनि टिकट मूल्य अति महँगो पर्न गयो। हामी सम्बन्धित व्यक्तिहरुसंग छलफल गरेर आमा-बुवाहरुका लागि सस्तो मूल्यमा टिकट उपलब्ध गरायौं र हाम्रो आफ्नै पहलमा ६५० जनालाई नेपाल पठायौं। त्यसले टिकटको मूल्यमा एउटा बेञ्चमार्क बनाइदियो। जसले गर्दा त्यसपछि जानेहरुले पनि पहिलेको भन्दा सस्तो मूल्यमा टिकट पाउन थाल्नुभयो। त्यसपछिको अर्को चुनौती भनेको विद्यार्थीहरुको अवस्था थियो। लकडाउनका कारण विद्यार्थीहरुले भएको काम पनि छोड्नुपर्ने बाध्यता आयो। विद्यार्थीको बिचल्ली नहोस भनेर हामीले राहत वितरण शुरु गर्यौं। तीन महिनासम्म विद्यार्थीका लागि खानाको प्याकेज वितरण गर्यौं। यसमा फुड ब्याङ्क र अन्य नेपाली संघ संस्थाले पनि हातेमालो गर्नुभयो। यसका लागि सबैप्रति आभारी छौं। अब यता स्थिति सामान्य हुन थालेको अवस्थामा फेरी नेपालमा समस्या आइपर्यो। नेपालमा अक्सिजन अभावका कारण कोरोना संक्रमित बिरामीको ज्यान जान थालेपछि हामीले एक सय अक्सिजन कन्सनट्रेटर नेपाल पठायौं। यसका साथै स्वास्थ्य सामग्री पठाउने, अन्य नेपाली संघ संस्थाले चलाएका सहयोग अभियानमा हातेमालो गर्ने गरिरहेका छौं। संसगे पूराना कार्यक्रम, सहयोगलाई त यो महामारीले असर नगरेसम्म निरन्तरता दिइनैरहेका छौं। त्यसैले महामारीको अवस्थालाई हेर्दा यो कार्यकालमा प्रभावकारी कार्यहरु भए भन्ने मलाई लाग्छ।

तर, अहिले एनआरएनएको सदस्यता लिनका लागि अष्ट्रेलियाको नेपाली समुदायले त्यति चासो नदिएको देखियो नि !
त्यो कुरा यस्तो हो, मान्छेको स्वभावै जता प्रत्यक्ष फाइदा देखिन्छ त्यतैतर्फ आकर्षित हुने हुन्छ। एनआरएनए अष्ट्रेलियाले सदस्यहरुलाई प्रत्यक्ष फाइदा पुग्ने सेवा सुविधा दिन सकेको छैन। सिधै ‘बेनिफिट’ दिन सकिने केही छैन। तर समुदायमा दु:ख पर्दा, नेपालमा दु:ख पर्दा त सबैले सम्झिने एनआरएनए नै हो। र, यसमा संस्थाले गर्व पनि गर्नुपर्छ कि, सबैले अभिभावक मानेर त दु:ख पर्दा सम्झिरहेका छन्। तर सदस्य भएपछि के पाइन्छ? भन्ने प्रश्नमा प्रत्यक्ष फाइदा भने छैन।

आगामी कार्यकालका लागि अध्यक्षको उम्मेदवारको हैसियतले यसलाई सम्बोधन गर्ने केही योजना बनाउनुभएको छ त ?
तपाईंले सदस्यताको कुरा उठाउनुभएको थियो। मैले सदस्यतामा ‘भ्यालु-एड’ को अवधारणा बनाएको छु। सदस्यहरुलाई प्रत्यक्ष फाइदा पनि दिन सकियोस् भन्ने सोंच छ। यसका लागि विभिन्न निकायसंग समन्वय गर्ने अवधारणा बनाएको छु।

एनआरएनएले गर्ने सहयोगकै कुरा गर्दा, कसैलाई सहयोग गर्ने, कसैलाई नगर्ने गरी भेदभाव गर्यो भन्ने गुनासा पनि आउँछन् नि !
त्यस्तो हुँदै हुँदैन। सहयोगका लागि हामीसंग धेरै आग्रह आउने गर्छन् । सबैलाई सहयोग गर्न सक्ने अवस्था कहिलेकाहीं हुँदैन, त्यस्तो अवस्थामा हामीले सहयोग आवश्यक परेको व्यक्ति र अन्य संस्थासंग समन्वय गराईदिन्छौं। जस्तो कि, नेपालको विभिन्न ठाउँबाट आउनुभएका नेपालीका यहाँ विभिन्न संस्था छन्, आफ्नो ठाउँको व्यक्तिलाई उहाँहरुले सहयोगको हात अगाडी बढाउन सक्नुहुन्छ। त्यसपछि पनि कसैले सहयोग पाएको छैन भने हामी आफैले सहयोग अभियान चलाउँछौं, सहयोग गर्छौं। हामी सहयोगी निकाय, दाताभन्दा बढी नेपाली समुदायका लागि एउटा पुल, मार्गनिर्देशक, अभिभावक बनेर जिम्मेवारी निर्वाह गरिरहेका छौं ।

यसमा पनि धेरै गुनासाहरु विद्यार्थी तथा युवाबाट आउने गरेका छन्। एनआरएनएले युवा तथा विद्यार्थीलाई समेट्न नसकेको हो ?
अष्ट्रेलिया आइसकेपछि विद्यार्थी र युवावर्गले धेरै समस्या झेल्नुपर्ने हुन्छ। त्यो समस्यालाई झेलिरहेको समयमा एनआरएनएले आफ्नो समस्या देखिदियोस् भन्ने चाहना हुनु स्वाभाविक हो। त्यसैले पनि गुनासा बढी आउने गर्छन्। मैले चाहिं म अध्यक्ष रहने कार्यकालका लागि नेपाली विद्यार्थी कल्याणकारी कोषको अवधारणा बनाएको छु। यसमा नेपाल सरकार, अष्ट्रेलिया सरकार तथा शैक्षिक संस्थाहरुको योगदान रहनेछ र त्यसका लागि मैले लबिङ्ग गर्नेछु। त्यो कोषले समस्यामा परेका नेपाली विद्यार्थीलाई सहयोग गर्नेछ। त्यसैगरी, नेपालबाट विद्यार्थीहरु नक्कली विवाह गरेर आउने, गलत जानकारी लिएर आउने गर्दा पनि समस्या भोगिरहेका छन्। यसका लागि मैले नेपाल सरकारसंग ओरेण्टेसन कक्षाका लागि लबिङ्ग गर्नेछु। उक्त कक्षामा विद्यार्थी मात्र नभई अभिभावक पनि समावेश हुनुपर्नेछ र एक दिनको कक्षा होइन कि, निश्चित पाठ्यक्रम दिएर केही दिनको अवधिसम्म कक्षा हुनेछ। उक्त कक्षा लिएपछि मात्र ‘नो अब्जेक्सन लेटर’ पाउने नियम हुनुपर्नेछ। यसले विद्यार्थीमा हुने मानसिक समस्या, आत्महत्या, हिँसा धेरै हदसम्म कम हुनेछन् भन्ने मलाई लाग्छ।

यतिले मात्र उनीहरुका माग सम्बोधन होलान् त ?
ती समस्या सम्बोधनका कुरा भए, विद्यार्थी तथा युवा अगाडी बढ्नका लागि म हरदम उहाँहरुको साथमा छु। म खेलकुदप्रेमी भएका कारणले यदि म अध्यक्ष भएँ भने, एनआरएनएमा स्पोर्ट्स फन्ड बनाउने योजना बनाएको छु। नेपाली विद्यार्थी तथा युवाहरु अहिले खेलकुदमा निकै सक्रिय हुनुहुन्छ। उहाँहरुलाई हामीले प्रोत्साहन गर्न सक्यौं भने यहाँ नेपाली समुदाय खेलकुदमा धेरै अगाडी बढ्नेछ। युवाहरुको नजिक रहेर काम गर्न रुचाउने व्यक्ति हो म। त्यसैले उहाँहरुको सुझाव सधैव लिएर अगाडी बढ्नेछु र उहाँहरुका लागि म अभिभावक तथा मार्गनिर्देशक पनि बन्नेछु।

खेलकुदको कुरा गरिरहँदा, यहाँ हुने अधिकांश कार्यक्रमहरु सिमित नेपाली व्यवसायीले धानिरहेका छन् र कार्यक्रमहरु सोंचे अनुरुप प्रभावकारी हुन सकिरहेका छैनन् नि !
यो हामीले प्रत्यक्ष अनुभूत गरेको कुरा हो। त्यसैले एनआरएनएको अध्यक्ष भएको खण्डमा मैले कार्यक्रमहरुका लागि काउन्सिल तथा राज्य सरकारबाट आर्थिक सहयोग लिनका लागि लबिङ्ग गर्नेछु। त्यस्तै नेपालको प्रबर्द्धन गर्ने कार्यक्रमहरुमा नेपाल सरकारको सहयोगका लागि लबिङ्ग गर्नेछु। यी कार्य गर्न मैले छुट्टै टास्कफोर्स बनाउनेछु।

अन्य निकायबाट आर्थिक सहयोग लिएर मात्र चल्न सक्ने अवस्था हो त एनआरएनए अष्ट्रेलियाको ?
अघि उल्लेख गरेको मैले कार्यक्रमका लागि भयो। र, तपाईंले भनेजस्तै एनआरएनए अष्ट्रेलिया आर्थिक रुपमा त्यति सबल छैन, जति हामीले बाहिरबाट अपेक्षा गर्छौं। जति सदस्य बन्नुहुन्छ, उहाँहरुबाट आउने सदस्यता शुल्क संस्थाको मूख्य आयस्रोत हो। अर्को भनेको दाताहरुले दिने सहयोग हो। पहिले एनआरएनए अष्ट्रेलिया इन्कर्पोरेट संस्था थियो। अहिले कम्पनी बनाएका छौं। मेरो उद्देश्य ट्याक्स डिडक्टेबल संस्था बनाउने हो। त्यसोभएमा दाताहरुले हामीलाई गरेको सहयोग देखाएर ट्याक्स रिटर्न पाउँछन्, जसले गर्दा सहयोग अहिलेको भन्दा धेरै बढ्छ। र, संस्थालाई आर्थिक रुपमा बलियो बनाउंदै तलब दिएर सचिव नियुक्त गरी नियमित कार्यालय स्थापना गर्नु मेरो उद्देश्य रहनेछ।

यी बाहेक अन्य केही एजेन्डा बनाउनुभएको छ कि ?
मैले अभिभावकहरुका लागि पनि सोंचेको छु। नेपालबाट आउनुभएका अभिभावकहरु यहाँ आफ्ना सन्तानको व्यस्त जीवनशैली बीच एक्लो जस्तै बन्नुहुन्। त्यसैले उहाँहरुका लागि मनोरन्जनात्मक कार्यक्रमहरु ल्याउनेछु। त्यस्तै, अन्तराष्ट्रिय उडान गर्दा प्लेनमा हिन्दि र अंग्रेजी गीत, फिल्म मात्र हुन्छ। त्यसमा नेपाली पनि लगाउनका लागि पहल गर्न कदम चाल्नेछु। प्रविधिसंग अपडेट हुनुको विकल्प छैन। त्यसैले एनआरएनए एप बनाउने सोंचका साथ अगाडी बढ्नेछु। अर्को भनेको, सिड्नीमा नेपलीज कम्युनिटी सेन्टर बनाउने शुरुवात गरिएको थियो तर विभिन्न कारणवस त्यो बीचमै रोकियो। म सिड्नीमा नेपलीज कम्युनिटी सेन्टरका निर्माणमा पनि लाग्नेछु।

नेपालका लागि चाहिं कुनै पनि प्रत्यक्ष एजेन्डा देखिएन नि ?
नेपालका लागि एजेन्डा या योजना नहुने भन्ने हुँदै हुँदैन। भावनात्मक सम्बन्ध मात्र नभएर कर्तव्य पनि हो। नेपालमा कलेक्टिभ इन्भेष्टमेन्ट गर्ने योजना बनाएको छु। नेपालमा लगानीका लागि यसअघि पनि धेरै योजना बनाइए, तर प्रभावकारी भएनन्। त्यसैले मैले एनआरएनए अष्ट्रेलिया इन्भेष्टमेन्ट कम्पनीको अवधारणा बनाएको छु। यसरी कम्पनी नै बनाएर काम गर्दा योजना कार्यान्वयन हुनेछ र त्यसको प्रभावकारीता प्रत्यक्ष रुपमा देखिने पनि छ।

तपाईंले प्रस्तुत गरिरहनुभएका एजेन्डालाई अगाडी बढाउनका लागि केही निश्चित योजना पनि बनाउनुभएको छ कि ?
म निर्वाचित भएँ भने, सरोकारवाला सबैसंग छलफल गरेर यी एजेन्डा कार्यन्वयनका लागि कदम चाल्नेछु। सबैसंग मिलेर काम गर्नुपर्छ भन्ने भावना राख्छु। निर्वाचनमा आफ्नो समूह हुन्छ, विपक्षी समूह हुन्छ। तर जितेपनि, हारेपनि निर्वाचन पछाडी भने समुदायको हितका लागि सबैसंग हातेमालो गरेर हिड्नेछु।

निर्वाचनको कुरा गर्दा, राजनीतिक गुट-उपगुट एनआरएनएको निर्वाचनमा पनि हावी भएको देखिन्छ नि ?
मैले यसलाई सामान्य रुपले लिन्छु। नेपालमा रहंदाको राजनीतिक पार्टीको प्रभाव, राजनीतिक विचारका आधारमा समूह बन्छन्, अनि त्यसैले गुट-उपगुट नाम दिइने हो। यदि राजनीतिक हुँदैन थियो भने, कुनै ठाउँको आधारमा, जातको आधारमा, थरको आधारमा समूह विभाजित हुनेथिए। त्यसैले यो ठूलो मुद्दा हो जस्तो मलाई लाग्दैन। एनआरएनएमा चुनावमा यो रहन्छ नै, चुनाव पछि काम गर्दा चाहिं रहँदैन। चुनावपछि सिंगो समुदायको हित नै केन्द्रमा रहन्छ। हामी सबै मिलिन्छ पनि। सबै नेपाली हौँ, उस्तै दु:ख गरिरहेका छौं। एक-अर्कालाई पर्दा हामीले नै गर्ने हो। यसमा एउटा प्रसङ्ग थप्न चाहन्छु, म सानो हुँदा, बुवाको धेरै आलोचना गर्ने व्यक्ति हुनुहुन्थ्यो एकजना। तर केही वर्ष पछि उहाँ र हाम्रो बुवा मिल्ने साथी बन्नुभयो भने अनि हामीसंग सबैभन्दा नजिकको, मिल्ने परिवार नै उहाँहरुको परिवार बन्यो। सानोमा यही देखेको भएर पनि होला म दुश्मनी, बदला जस्ता कुराहरुमा विश्वास गर्दिन। राजनीतिक रुपमा एउटा विचार र आस्था हुनु फरक कुरा हो।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि?
नेपाली समुदायले मलाई अहिलेसम्म धेरै साथ र माया दिइरहनुभएको छ। हजुरहरुको साथ र मायाले नै मैले अध्यक्ष पदमा उम्मेद्वारी दिने हिम्मत गरेको हूँ। ​मैले पनि सकेसम्म आफ्नो जिम्मेवारी निभाएको छु भन्ने लाग्छ। यदि केहीमा चुकेको रहेछु भनेपनि मलाई त्यो गल्ती सुधार्नका लागि सुझाव दिनुहोला।