अष्ट्रेलियाबाट न्याभको नेतृत्वमा चेपाङ समुदायका लागि सहयोग अभियान

0
200

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा बस्ने नेपालीहरुको साझा संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया ‘न्याभ’ले चेपाङ समुदायका लागि सहयोग अभियान संचालन गरेको छ। न्याभले नेपालको धादिङ जिल्लाको बिकट ठाउँमा बसोवास गर्दै आएका चेपाङ जातीको समुदायका लागि सहयोग अभियान संचालन गरेको हो। यस अभियानमा अष्ट्रेलिया नेपाल पब्लिक लिङ्क (एएनपिएल), कम्युनिटी लिडरसिप नेपाल फाउन्डेसन र एनआरएनए अष्ट्रेलियाले न्याभसंग सहकार्य गरेका छन्।

सहयोग अभियान घोषणामा न्याभले भनेको छ, “चेपाङ जातीको बाँच्ने आधार भनेकै भीरमा चीउरीको बोट हो । चीउरी बर्षमा एक पटकमात्र फल्छ र फेरि टिप्नको लागि अर्को बर्ष कुर्नुपर्दछ । त्यसमा पनि चिउरी टिपेर बजार पुर्याउनुपर्ने चुनौती र चिउरी टिप्दा लडिने जोखिम उत्तिकै हुन्छ। संचार माध्यममा “धादिङको चेपाङ बस्तीमा भोकमरी, सयौं चेपाङ भोकै बस्न बाध्य” बिषयक समाचारप्रति हामी सबैको ध्यानाकार्षण हुनपुग्यो। जसअनुसार, न्याभका भुपू अध्यक्ष श्री रञ्जन बैद्य र एएनपीएलका डाईरेक्टर तथा सामाजिक अभियन्ता श्री निराजन गौलीज्यूबाट प्राप्त सुझावलाई मनन गर्दै सहयोग अभियान संचालन गरिएको हो। सहयोग अभियानबाट संकलित रकमले समुदायलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्य रहेको छ “।

सहयोग संकलनको जिम्मेवारी न्याभले संस्थाका कोषाध्यक्ष डा. यकिन्द्र तिमील्सेनालाई जिम्मा दिएको संस्थाका अध्यक्ष राम गुरुङ बताउनुहुन्छ। सहयोग अभियानका बारेमा उहाँ भन्नुहुन्छ, ” संकलित रकमले चेपाङ समुदायका व्यक्तिलाई हातमुख जोर्न सहयोग गर्नेछ। तपाईं-हामी यती सम्पन्न देशमा बसिरहेका छौं। तर आफ्नो मातृभूमीमा रहेको एउटा लोपोन्मुख जातीले पेट भर्नेगरी खान पाएको छैन। यस्तो अवस्थामा पनि हामीमा दया जाग्दैन, कर्तव्यबोध हुँदैन भने मानवता नै कहाँ रह्यो र ! एक छाक राम्रोसंग खान नपाएका उनीहरुलाई हामीले आफ्नो एक गास मात्र काटेर सहयोग गर्न त सक्छौं नि ! त्यसैले सम्पूर्णलाई यस सहयोग अभियानमा जोडिन म आग्रह गर्दछु”।

अध्यक्ष गुरुङ थप्नुहुन्छ, ” न्याभले उद्दारको लागि त्यो चेपाङ बस्तिलाई नजिकबाट सहयोग गरिरहेका पाबिल न्युजको प्रमुखसंग कुरा गरेर अगाडि बढ्ने निधो गरेको हो । त्यहाँ २ वटा वडाको गाउँहरुमा समस्यामा परेको घरधुरी संख्या ५५० को हाराहारीमा रहेको र एउटामा २५० घरधुरी र अर्कोमा ३०० हाराहारी रहेको जानकारी आएको छ। त्यसमध्ये हामीले कम्तिमा एउटा गाउँमा रहेको ३०० घरधुरीलाई सहयेग गर्न सक्छौं । सहयोग बितरणको कुरामा उहाँहरुले पत्रकार महासंघका प्रतिनिधीहरु, पत्रकारहरु, रेडक्रस, उद्ध्योग बाणिज्यसंगका प्रतिनिधीहरुको रोहबरमा गाउँपालिकाका सम्पूर्ण प्रतिनिधीहरुले राहत दिने र त्यसको सम्पूर्ण हिसाब पत्रिका मार्फत सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभएको छ साथै वडा कार्यलयले बाँडेको रेकर्डको लिखित हामीलाई उपलब्ध गराउनुहुनेछ “।

चेपाङ बस्तीको सहयोगका लागि न्याभले गो फन्ड मी मार्फत सहयोग संकलन गरिरहेको छ। विस्तृत जानकारी तथा सहयोगका लागि क्लिक गर्नुहोस् >> https://www.gofundme.com/f/aph839-food-support-for-chepang?utm_campaign