विश्वव्यापी अनलाइन गायन तथा नृत्य प्रतियोगिता, १४ जुलाई सम्ममा भिडियो पठाइसक्नुपर्ने

0
771

काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ले अनलाइन गायन तथा नृत्य प्रतियोगिताको दोश्रो शृंखला आयोजना गर्ने भएको छ। इनासका दिवंगत युरोप संयोजक एवं ग्लोबल नृत्य संयोजक सन्त कुमार थापा मगरप्रति समर्पित गर्दै संस्थाले प्रतियोगिता आयोजना गर्न लागेको हो।

आयोजक संस्थाका अनुसार, प्रतियोगितामा १४ वर्ष माथिका व्यक्तिले भाग लिन सक्नेछन्। विश्वव्यापी प्रतियोगिता भएकोले संसारको जुनसुकै ठाउँमा रहेका नेपाली तथा नेपाली भाषीले पनि प्रतियोगितामा भाग लिन सक्नेछन्। प्रतियोगितामा भाग लिनका लागि आफ्नो भिडियो आगामी १४ जुलाई, २०२१ सम्ममा पठाइसक्नुपर्नेछ।

उत्कृष्ट प्रतियोगीहरुका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुने नृत्य तथा गायन दूवै विधाका प्रतियोगीहरुलाई एक कार्यकाल रहने गरि इनासको अवैतनिक मानार्थ सांस्कृतिक दूत नियुक्त गरिनेछ। साथै इनास ग्लोबल सिङ्गिङ्ग स्टार २०२१ तथा इनास ग्लोबल डान्सिङ्ग स्टार २०२१ को उपाधि सहित जनही एक लाख रुपैयाँ नगद पुरास्कार प्रदान गरिनेछ।

प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने दुवै विधाका प्रतियोगीहरुलाई इनास ग्लोबल सिङ्गिङ्ग स्टार र डान्सिङ्ग स्टार २०२१ -फष्ट रनर अप उपाधि सहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। र, तृतीय स्थान हासिल गर्ने प्रातियोगीलाई इनास ग्लोबल सिङ्गिङ्ग वा डान्सिङ्ग स्टार २०२१ सेकेण्ड रनर अप उपाधि सहित पच्चीस हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै, प्रतियोगितामा पहिलोदेखि पाँचौं स्थानसम्म आउने प्रतियोगीहरुलाई ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ भने फाइनलमा प्रवेश गर्ने सबै कलाकारहरुलाई प्रमाण-पत्र सहित मायाको चिनो प्रदान गरिनेछ।

त्यसैगरी, विजेता कलाकारहरुलाई चलचित्र, म्युजिक भिडियो आदिमा गायन तथा अभिनयको अवसर प्रदान गरिने तथा इनास चलचित्र अवार्ड लगायतका कार्यक्रमहरुमा प्रस्तुतिको अवसर प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।

यस सिजनको प्रतियोगितालाई इनास नेपालको समन्वयमा इनास नर्थ अमेरिकाले होस्ट गर्दैछ। त्यसैगरी, इनास एसिया, युरोप, मध्यपूर्व, ओसेनिया लगायतका क्षेत्रीय समितिहरुले प्रतियोगितामा सहकार्य गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरुले पालना गर्नुपर्ने नियमहरु :
१. प्रतियोगिता एकल हुनेछ।
२. प्रतियोगीले गाउने वा नृत्य गर्ने गीत नेपाली हुनुपर्नेछ।
३. प्रतियोगीमा १४ वर्ष उमेर पूरा भएका विश्वभर बसोवास गरेका इच्छुक नेपाली वा नेपाली भाषी कलाकारहरुले भाग लिन सक्नेछन ।
४. प्रतियोगिता डिजिटल अडिसन, क्वाटरफ़ाइनल, सेमीफाइनल, र फाइनल गरि चार चरणमा सम्पन्न हुनेछ। आयोजक समितिले आवश्यक ठानेमा प्रतियोगीहरूबीच युगल प्रस्तुति चरण समेत थप गर्नसक्नेछ। फाइनल चरणमा नियमित प्रस्तुति अन्तर्गत लोक प्रस्तुति र निर्णायक चरण अन्तर्गत निर्णायकहरुको रोजाईको गीतमा प्रस्तुति गरि दुई प्रस्तुतिहरु रहनेछन्।
६. प्रतियोगिताको लागि इच्छुक कलाकारहरुको प्रारम्भिक छनोट (अडिसन) डिजिटल्ली हुनेछ।
७. अडिशन पश्चात विश्वभरिबाट गायन विधामा कूल २५ जना र नृत्य विधामा कूल २५ जना प्रतियोगी कलाकारहरु ग्लोबल चरण अन्तर्गत क्वाटरफ़ाइनल चरणमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलका लागि छनोट भएका प्रतियोगीहरुको नामावली सहित प्रस्तुतिको भिडियो पब्लिक भोटिङ्गको लागि इनासको फेसबुक पेजमा राखिनेछ।
८. क्वाटरफ़ाइनल चरणबाट गायन तर्फ १० र नृत्य तर्फ १० गरि कूल २० जना प्रतियोगीहरु सेमिफाइनल चरणमा प्रवेश गर्नेछन भने सेमिफ़ाइनलमा उकृष्ट ठहरिएका नृत्य तर्फ ५ र नृत्य तर्फ ५ गरि कूल १० जना प्रतियोगीहरु फाइनल चरणमा प्रवेश गर्नेछन।
९. प्रतियोगितामा भाग लिने कलाकारहरुले आफ्नो इच्छा सहित आफूले गाउने वा नाच्ने गीतको ओरिजिनल गायक, गीतकार वा संकलक, संगीत निर्देशक, चलचित्रको हो भने चलचित्रको नाम र उत्पादक कम्पनीको नाम सहित आफ्नो नाम, थर, ठेगाना र आफू रहेको देशको नाम खुलाई गायनको लागि [email protected] र नृत्यको लागि [email protected] मा भिडियो पठाउनुपर्नेछ। यसका साथै वेबसाइट www.inas.global मा रहेको फारम भरि भिडियो संलग्न गरेर पठाउन सकिनेछ।
१०. प्रतियोगीले प्रस्तुत गर्ने गायन तथा नृत्यको प्रस्तुति कम्तिमा २ मिनट र बढिमा ३ मिनटको हुनुपर्नेछ।
११. प्रतियोगिताको लागि पठाइने भिडियो एक सटमा खिचिएको र कुनै पनि प्रकारले सम्पादन नगरिएको हुनुपर्नेछ।
१२. प्रतियोगिताको लागि पठाइने भिडियो टिकटकको जस्तो ठाडो नभई युट्युबमा राखिने जस्तो तेर्सो (landscape) हुनुपर्नेछ। साथै, अन्य कुनै अनलाईन गायन वा नृत्य प्रतियोगितामा सहभागिताका लागि पठाइएको र पहिलेनै युट्युबमा अपलोड गरि सार्वजनिक गरिसकेको भिडियोलाई स्वीकार गरिनेछैन।
१३. गायन विधाका प्रतियोगीले म्युजिक ट्रयाकमा वा सांगीतिक उपकरणहरु बजाएर गीत गाउन सक्नेछन। तथापि गीत गाउँदा माइकको प्रयोग भने गर्न पाइनेछैन।
१४. निर्णयको लागि सम्वन्धित विधामा दक्षता हासिल गरेका व्यक्तित्वहरु रहनुभएको निर्णायक समिति रहनेछ। पब्लिक भोटिंग अन्तर्गत फेसबुकमा प्राप्त हुने लाइक संख्या र निर्णायक मण्डलबाट प्राप्त हुने कूल अङ्क जोडेर नतिजा मूल्यांकन हुनेछ।
१५. पब्लिक भोटिङ्गको समयावधि भिडियो अपलोड गरिएपछि ७ दिनको हुनेछ। पब्लिक भोटिङ्ग अन्तर्गत तोकिएको अवधिमा प्राप्त हुने लाइक्सहरुलाई गणना गर्दा एक लाइक बराबर एक अंक प्रदान गरिनेछ।
१६. निर्णायक समूहबाट प्राप्त हुने अङ्कलाई कूल अङ्कको ९०% प्रतिशत र पब्लिक भोटिंगबाट प्राप्त हुने कूल अङ्कलाई १०% प्रतिशत अङ्कभार प्रदान गरिनेछ । यसप्रकार निर्णायक समूह र पब्लिक भोटिंग दुवैबाट प्राप्त अङ्क प्रतिशतलाई जोड्दा हुनआउने कूल अङ्क मध्ये सबैभन्दा बढि अङ्क प्राप्त गर्ने प्रतियोगीलाई प्रतियोगिताको अर्को चरणमा प्रवेश गराइनेछ।
१७. क्वाटरफ़ाइनल चरणमा प्रवेश गरेका गायन तथा नृत्य दुवै विधाका कलाकारहरुलाई नृत्य र गायन सम्बन्धी आवश्यक सरसल्लाह एवं अनलाइनबाट प्रशिक्षण दिन प्रथम इनास ग्लोबल गायन तथा नृत्य प्रतियोगिताका बिजेता समूह मध्यबाट मेण्टोरहरुको ब्यबस्था गरिनेछ ।
१८. कार्यक्रम सम्बन्धी सम्पूर्ण अधिकार आयोजकमा सुरक्षित रहनेछ।

प्रतियोगिता सम्बन्धि थप जानकारीका लागि www.inas.global मा हेर्न सकिन्छ साथै इनासका राज्य, राष्ट्रिय क्षेत्रीय वा ग्लोबल समितिका पदाधिकारीहरुसँग सम्पर्क राखेर पनि जानकारी लिन सकिनेछ।