अष्ट्रेलियामा नेपाली युवाहरुद्वारा ससेज बेचेर आविष्कार केन्द्रका लागि सहयोग संकलन

0
212

होबर्ट। अष्ट्रेलियामा नेपाली युवाहरुले ससेज बेचेर आविष्कार केन्द्रका लागि सहयोग संकलन गरेका छन्। नेप्लीज तास्मानिया स्पोर्टस एशोसिएसनले उक्त सहयोग कार्यक्रमको आयोजना गरेको हो।

गत सोमबार अर्थात १४ जुनमा होबर्टको ग्लेनोर्कीमा रहेको बनिङ्समा दिनभर युवाहरुले ससेज बेचेका थिए। जसबापत १३ सय ९७ डलर जम्मा भएको आयोजक संस्थाले जनाएको छ। जसमध्येबाट खर्च कटाएर बाँकी रहेको ९ सय ३७ डलर नेपालमा महावीर पुनद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने संस्थाका कोषाध्यक्ष भोला श्रेष्ठले जानकारी दिनुभयो।

राष्ट्रिय आविष्कार केन्द्रले कोरोना महामारीको समयमा अस्पतालहरुमा विभिन्न उपकरण निर्माण गर्दै महामारी नियन्त्रणका लागि अहम् भूमिका खेलिरहेकोले आफूहरुले पनि मातृभूमीप्रतिको कर्तव्य बोध गर्दै संस्थालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको अध्यक्ष प्रशेष पौड्यालले बताउनुभयो।

त्यसैगरी, संस्थाका पब्लिक अफिसर विष्णु सापकोटाले सहभागी सबैको साथ र सहयोग तथा टिमको सक्रियताले गर्दा संस्थाको उद्देश्य पूरा भएको भन्दै सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो।

नेप्लिज तस्मानिया स्पोर्ट्स एसोसिएसन (NTSA ) विशेषगरी तास्मानियामा नेपाली समुदायको खेल क्षेत्रको समृद्धिको लागि गठन भएको संस्था हो। यो संस्था गठन भएयता खेलकुद मात्र नभई सामाजिक काममा पनि क्रियाशील हुँदै आएको छ।